Saptari Protest

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गरेका छन्।

सांसद मोहनकुमार राईले वर्षाका कारण बाग्मती नदी बढेर काठमाडौँका धेरै स्थानमा क्षति पुर्‍याएको, धोबीखोला क्षेत्रमा रहेका सुकुम्बासी टोलका जनता बाढीका कारण आतङ्कित भएको र घरभित्र हिलो र फोहर जम्न गई प्रदूषण बढेकाले सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

सांसद बलबहादुर महतले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कर्णाली तथा जुम्लाका जनतालाई प्रहरीले घाइते बनाएकाले तिनको उपचारको व्यवस्था गर्न माग गरे।
सांसद आशा कोइरालाले विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा अधिक विद्युत् प्रवाह भएर न्यौपाने परिवारका पाँचजनाको मृत्यु र अन्य केही घाइते भएको जानकारी दिँदै घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे।
सांसद गङ्गाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएकाले घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गरे। उनले सहमतिको आधारमा संविधान बनाउन पनि माग गरे।

सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाउँदै प्रश्न गरे- सप्तरीबासीले के अपराध गरेका थिए र गोली हान्न?

थारु समुदायलाई सभा गर्ने अधिकार पनि कांग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उनले यी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिए।

सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाए।
सांसद अम्मरबहादुर थापाले दैलेख नगरपालिकामा हालै आएको बाढीले २० वटा घरलाई सङ्कटमा पारेको र त्यस घटनामा दुईजनाको मृत्यु भएको जानकारी दिँदै पीडितलाई राहत उपलब्ध गराउन माग गरे। उनले सङ्घीय प्रदेशका क्रममा चार दलका नेताले आफ्नो निर्वाचन क्षेत्र कहाँ सुरक्षित हुन्छ भनेर सीमाङ्कन गरेको आरोप पनि लगाए।

सांसद लालबाबु राउतले सप्तरीमा शान्तिपूर्ण प्रदर्शनका क्रममा सङ्घीय समाजवादी दलका कार्यकर्तालाई गोली हानेर आतङ्क सिर्जना गरेको आरोप लगाउँदै मृतक राजीव राउतलाई सहिद घोषणा गर्न र अन्य घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

सांसद तेजुलाल चौधरीले कञ्चनपुरदेखि झापासम्म सङ्घीयताका विषयमा आन्दोलन बढेको बताउँदै यसै क्रममा अधिकारका लागि आन्दोलनरत चौधरी समुदायलाई सरकारका तर्फबाट दबाउने काम गरेको आरोप लगाए।

सभामुख सुवास नेम्वाङले धेरै सांसदले सप्तरीको भारदहमा जुलुस प्रदर्शनका क्रममा एकजनाको मृत्यु र अन्य केही व्यक्ति घाइते भएको घटनाबारे कुरा उठाएकाले यसबारे सरकारतर्फबाट संसद्को अर्को बैठकमा जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *