Gachhadar Express his View

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस–तराईमा तीन प्रदेश हुनुपर्ने प्रस्ताव राखेको बताएका छन्। उनले आफ्नो प्रस्तावमाथि छलफल भइरहेकाले शुक्रबार १२ बजेसम्ममा सहमति हुने दाबी गरे।
गच्छदारले मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले धनुषादेखि पर्सा दोस्रो र पश्चिममा थरुहट प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेको बताए। गच्छदारका अनुसार झापासहित पूर्वी नेपालको १२ वटा पहाडी जिल्ला समेटेर अर्को प्रदेश बनाउनुपर्छ। दलहरुले यसअघि पूर्वी तराईको झापा, मोरङ, सुनसरीलाई एउटै प्रदेशमा समेट्ने खाका तयार गरेका थिए।

‘मेरो प्रस्तावमा कांग्रेस, एमाले र एकीकृत माओवादीले सहमति जनाएका छन्,’ बिहीबार अपराह्न विराटनगर आइपुगेका गच्छदारले पत्रकारसँग भने, ‘मेरै प्रस्तावमै छलफल केन्द्रित छ, शुक्रबार १२ बजेसम्म फाइनल हुन्छ।’ गच्छदारले मुलुकलाई अन्योलमा नराखी प्रदेश सीमांकनसहित संविधान बनाउन प्रमुख राजनीतिक दल राजी भएको बताए।

‘प्रदेशको संख्या ६ पनि हुनसक्छ, ७ पनि,’ गच्छदारले भने, ‘लगभग सबै विषयमा कुरा मिलिसकेको छ, भोलि १२ बजे फाइनल हुन्छ।’

प्रदेश सीमांकनबारे पार्टीका १२ जिल्ला पदाधिकारीसँग छलफल गर्न उनी विराटनगर आएका हुन्। उनी शुक्रबार बिहानै काठमाडौं फर्किनेछन्। संघीय प्रदेशको खाका, धर्म र नागरिकतालगायत ९ वटा विषयमा दलहरूबीच विवाद रहेको जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *