Bhanu Tharu, Prem Khati

कैलाली- थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु र खस समावेशी राष्ट्रिय पार्टीका केन्द्रीय सल्लाहकार प्रेमबहादुर खातीबीच धनगढीमा भेटवार्ता सम्पन्न भएको छ। दुबैले ‘थरुहट र खसान’ प्रदेशको लागि एक भएर लड्ने प्रतिबद्धता जनाएका छन्।

खस समावेश राष्ट्रिय पार्टीका केन्द्रीय सल्लाहकार एवं खसान राष्ट्रिय संघर्ष समितिका संयोजक खातीले छलफलमा भने, ‘तपाईँहरु हामीलाई पहाडि, शोषक भनेर नबुझिदिनुस्, हामी आर्य होइनौं, ब्राम्हन होइनौं, खस हौं, हिन्दू धर्मावलम्बी होइनौं, बुद्धिष्ट हौं, देशका आदिवासी हौं, तपाईँहरुजस्तै उत्पीडनमा परेका जाति हौं, तपाईँहरु र हाम्रो एकता जरुरी छ।’

राष्ट्रियता देशको पहिलो सबाल भएको र प्रदेशका साँध सीमाना त्यसपछिका कुरा भएको बताउँदै उनले थारुहरुलाई थरुहटको मात्रै नभएर देशकै प्रधानमन्त्री बनाउने विचार बोकेको बताए।
उनले भने- ‘बाहिरबाट निर्देशित र काजमा खटेर आएकाहरुले यो देशलाई कंगाल, तहसनहस, लथालिङ्ग बनाएका हुन्, खसहरुले हैनन्।’

थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले राष्ट्रियताको सबालमा थारुहरु बढी संवेदनशील रहेकाले राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह गरे। उनले थारुहरु पहिचानसहितको संघीयतामा एकमत रहेको, अन्याय र अत्याचारबाट मुक्ति पाउन थरुहट प्रदेशमा अडिग रहेको, कैलाली र कञ्चनपुरकै कारण पहाड ठगिएको स्पष्ट पार्दै खसान प्रदेशको लागि खसहरुहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए।

भेटवार्ता कैलालीका थारु बुद्धिजीविहरुको उपस्थितिमा भएको थियो। नेता खाती र थारुले दुबै संगठन दुबैको पहिचानको लागि संयुक्तरुपमा लड्ने प्रतिबद्धता जाहेर गर्दै दुबै संगठनका केन्द्रीय स्तरमा यसबारे पुनः छलफल चलाउने, निचोडमा पुग्ने र एक डेढ हप्ताभित्रै कार्यगत एकता गर्ने सहमति गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *