Dhangadhi Criket Stedium

सरकारले खेल क्षेत्रको समग्र विकासका लागि गत वर्षभन्दा झन्डै रु ६० करोड बढी रकम विनियोजन गरेको छ । व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आवमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने लगायत विषयमा रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष भने मन्त्री डा महतले नै खेल क्षेत्रका लागि रु एक अर्ब ४७ करोड बजेट विनियोजन गर्नुभएको थियो ।

बजेटमा देशका विभिन्न स्थानमा क्रिकेट मैदान निर्माणका लागि रु २१ करोड छुट्याइएको छ तर गत वर्ष नै मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिटलगायत पूर्वाधार निर्माण गर्न रु २० करोड विनियोजन गरिएकामा रु १० करोड मात्र खर्च भएको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १० करोडमध्ये पनि रु तीन करोड जग्गा अधिग्रहणबापत मुआब्जामा खर्च गरिएको र क्रिकेट मैदान निर्माणका क्रममा लागि रु सात करोड मात्र खर्च भएको छ । परिणामस्वरुप सो मैदानमा प्यारापिट निर्माणको कामसमेत सुरु हुन सकेको छैन । आज प्रस्तुत बजेटमा पनि उक्त निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि रु ११ करोड विनियोजन गरिएको छ । गत वर्षको बजेटमा भैरहवामा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु गरिने भनिएकामा लक्ष्यभन्दा बढी काम भएको उहाँको भनाइ थियो ।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षण कायम राख्न काठमाडौँ बाहिरका मुख्य सहरमा क्रिकेट मैदानको निर्माण गरिने, धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यको थालनी गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु २१ करोड विनियोजन गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानको पुनःनिर्माणका लागि रु १३ करोड विनियोजन गरिएको छ । उक्त रङ्गशालाको विकल्पमा ललितपुरस्थित च्यासल फुटबल मैदान निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएको छ । तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा)भित्र देखिएको विवाद आर्थिक अनियमितताका कारण एक वर्षदेखि मुलुकमा फुटबलको गतिविधि प्रायः शून्य छ, जसका कारण फिफा वरियतामा नेपालको अवस्था अहिले दक्षिण एसियाकै सबैभन्दा कमजोर बन्न पुगेको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *