कारी महतो।
चितवन- देश र जनताका लागि समर्पित भइ आफ्नो जीवनको आहुति दिने उच्चकोटिका स्वर्गीय व्यक्तित्व नेपालमा धेरै छन्। तीमध्ये जसले आफ्नो शरीरको बलिदान दिएका छन् ती सबैलाई राज्यले पहिचान गरेको छैन। केहीलाई सम्मान स्वरुप शहिद शब्दको तक्माले विभूषित गरिएका छन्।

Sahid Kamal-bipin
थारु समुदायमा पनि त्यस्ता कैयन ब्यक्तित्वहरु थिए, जसले निरंकुश शासन व्यवस्थादेखि लिएर लोकतान्त्रिक शासनकालमा आफ्नो जीवनको प्रवाह नगरिकन शहादत्त प्राप्त गर्नुपरेको इतिहास छ। हाम्रा हक र अधिकारका निम्ति शासक र प्रशासकसँगको भौतिक लडाइँमा शहिद भएकाहरुलाई के हामी सबैले सम्झिने गरेका छौं? यदि सम्झिने गरेका छौं भने कस्तो तरिकाले?
थरुहट आन्दोलन २०६५ मा चितवनका दुई होनहार युवाहरुले आफ्नो जीवनको बलि दिएका थिए। स्व. कमल चौधरी र स्व. विपिन खड्काको नामको अगाडि शहिद शब्द थपिनु अलावा ती शहिदहरुको मृतआत्मालाई शान्तवना दिने कुनै काम भएको छैन।
सरकारी निकायहरुमा त कमल र विपिन शहिद हो कि होइन भन्ने सम्झना छँदै छैन। तर सहयोद्धा आन्दोलकर्मीहरुले पनि करिब करिब बिर्सिसकेको अवस्था छ। नेताहरुले त झन शहिदहरुको परिवारलाई थुप्रै आश्वासनसमेत बाँडेका थिए। ती आश्वासन पूरा हुने कुनै संकेत छैन। अझ थरुहट आन्दोलनका कतिपय केन्द्रीय नेतागण त आफ्नो स्वार्थ पूरा गर्नका लागि शहिदलाई समेत बेचेर खाइसकेको भान हुन्छ।
यस्तो अवस्थामा चितवनका केही युवा र समाजसेवीहरुको एक भेलाबाट शहिद कमल चौधरी र शहिद विपिन खड्काको सम्झनामा शहिद कमल विपिन स्मृति प्रतिष्ठान नामक संस्था गठन गरेका छन्। २०७१ असोज २० गतेको भेलाबाट इन्टरनेश्नल कलेज पर्सा बजारमा अध्ययपनरत जीतबहादुर महतो अध्यक्षतामा शहिद कमल विपिन स्मृति प्रतिष्ठान गठन भएको हो।
प्रतिष्ठानको उपाध्यक्षमा ललित कुमार चौधरी, सचिवमा कारी महतो, कोषाध्यक्षमा चन्द्रकुमारी चौधरी, सहसचिवमा वीरेन्द्र महतो, सदस्यहरुमा शिवनारायण चौधरी, सुनकेशी चौधरी, गुनेश्वर महतो, वृत्तकुमारी महतो, सुनिता चौधरी र पतिराम महतो र मनोनित सदस्यमा डा. गौरीराम महतो छन्।
शहिद कमल चौधरीका पिता सियन महतो र शहिद विपिन खड्काका पिता वीरबहादुर खड्का संरक्षकमा पदस्थापन गरिएको छ। त्यस्तै प्रतिष्ठानको आर्थिक समितिका संयोजकमा चन्द्रविक्रम चौधरी र सदस्यहरुमा रामचन्द्र महतो, शिवनारायण चौधरी, विरेन्द्रकुमार चौधरी, विक्रम चौधरी र धनवीर चौधरीलाई छनोट गरिएको छ भने सल्लाहकारमा टिकेन्द्र चौधरी, नारायण प्रसाद महतो र लक्ष्मी चौधरीलाई छनोट गरिएको छ।
प्रतिष्ठानको विधान जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गर्नका लागि विभिन्न कठिनाईका बाबजुद २०७२ जेठ २४ गतेका दिन संस्था दर्ता ऐन बमोजिम दर्ता भइ कार्यक्रमहरु अगाडि बढाइएको छ। २०६५ फागुन २२ गते राति रत्ननगर नगरपालिका वडा नं. १ को सौराहा चोकमा कमल चौधरी र विपिन खड्का गोली लागि अस्पतालमा देहान्त भएको थियो। त्यस बखत कमल चौधरी नेपाल उच्च माविमा अध्ययनरत थिए। प्रतिष्ठान दर्ता भएलगत्तै कार्यसमितिको बैठक बसी शहिदहरुको स्मृतिमा छात्रवृत्ति अक्षय कोष खडा गरी रकम संकलन गर्ने अभियान सञ्चालन भएको छ।
जेठ महिनाको मसान्तसम्ममा १ लाख ४४ हजार ५५५ रुपैयाँ संकलन भइसकेको छ। वीरेन्द्र महतो, डा. गौरीराम महतो र वृत्त कुमारी महतोको पहलबाट १,०४,०००।–, समिता चौधरीबाट रु १०,०००।–, वीरेन्द्र महतो व्यक्तिगत तर्फबाट रु २५,०००।– र बछौलीका विष्णु आचार्यबाट रु ५,५५५।– रकम प्राप्त भएको हो। उक्त रकम हिमालयन बैंक लिमिटेड टाँडी शाखामा रहेको प्रतिष्ठानको खाता नं. ००७०५७०१६८००१८ मा जम्मा गरी आर्थिक संकलन जारी राखिएको छ।
एक करोड रकम संकलन गरी त्यसको ब्याज रकमबाट छात्रवृत्ति वितरण गर्ने यस अभियानमा सबैले सहयोग र साथ दिने आशा गर्दै सहयोगको लागि प्रतिष्ठानद्वारा आह्वान गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *