Dang plane

सात वर्षअघि उडान बन्द भएको दाङको टरिगाउँ विमानस्थल पुनःसञ्चालनमा आएको छ। बिहीबार निजी बिमान कम्पनी गोमा एयरले पहिलो उडान भरेको छ। यो कम्पनीले यसलाई ‘नियमित उडान’समेत भनेको छ। बिहीबारदेखि नियमित उडान भएको जनाउँदै गोमा एयरले अबदेखि हप्तामा दुई दिन उडान भर्ने जनाएको छ। प्रत्येक हप्ताको सोमबार र बिहीबार बिमान काठमाडौं-सुर्खेत हुँदै दाङ अवतरण गर्ने र दाङबाट सिधा काठमाडौं उडान हुने जानकारी गराएको छ।

२०१६ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल पटक-पटक बन्द हुँदै आएको थियो। सुरुमा कच्ची धावन मार्ग रहेको यो विमानस्थलमा कालोपत्रे नभएको भन्दै विमान कम्पनीहरुले उडान भर्न मानेका थिएनन्। यसैगरी इन्धन डिपो नहुनु तथा यात्रु अभावको कारण देखाउँदै यो विमानस्थलमा उडान बन्द हुँदै आएको थियो। बिमान कम्पनीकै माग बमोजिम गत वर्षमात्रै करिब ८ करोड लगानीमा यो बिमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको थियो। तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा यो बिमानस्थलको ३० मिटर चौडाइ र सात सय ५० मिटर लम्बाइमा धावन मार्ग कालोपत्रे गरिएको थियो। तथापि यो कालोपत्रेमा ठूला बिमान भने अवतरण गर्न नमिल्ने बताइएको छ।

धावन मार्ग कालोपत्रे भएपछि सीता एयरले गत वर्ष परीक्षण उडान भरेको थियो। त्यसयता नियमित उडान भने हुन सकेको थिएन। तुलसीपुर उद्योग वाणिज्य संघकै लामो प्रयासपछि गोमा एयरले नियमित उडान भर्न सहमत भएको हो।

यसअघि नेपाल एयर लायन्सकै बिमान उडानका लागि पहल थालिएको थियो। तर नेपाल एयर लायन्सले विमान सञ्चालन गर्ने आश्वासन मात्रै दिएको तर उडान भने नभरेको तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष बिमल रिजालले जानकारी दिए। सरकारी बिमानले उडान नभरेपछि उद्योग वाणिज्यसंघले टिकट जिम्मा लिँदै हवाइ उडानका लागि निजी बिमान कम्पनीसँग सम्झौता गरेको हो।

सुर्खेतमा नियमित उडान भर्दै आएको गोमा एयरले दाङका लागि ९ वटा टिकट छुट्याएको छ। ९ मध्ये सात वटा टिकटको जिम्मा तुलसीपुर उद्योग वाणिज्य संघले नै लिएको छ। उद्योग वाणिज्य संघले यात्रु नभएको खण्डमा पनि सात वटा टिकटको भाडा बिमान कम्पनीलाई बुझाउनैपर्ने सम्झौता भएको छ।

‘हामीहरुले विमान उडानका लागि ठूलो रिश्क लिएका छौं,’ तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रिजालले भने, ‘सातवटा टिकटको पैसा यात्रु नभए पनि हामीहरुले बिमान कम्पनीलाई बुझाउनैपर्ने सम्झौता भएको छ।’ उनले सातवटा टिकट बिक्री गर्न त्यति असहज भने नहुने बताए।

दाङबाट सिधा काठमाडौं जान सात हजार नौं सय ९० रुपैयाँ भाडा निर्धारण गरिएको छ। यो भाडा गोमा एयरले सुर्खेत काठमाडौंका लागि निर्धारण गरेको भाडा हो। सुर्खेतकै उडानलाई दाङमा ल्याइएका कारण दाङका यात्रुहरुले पनि सुर्खेतकै भाडा तिर्नुपर्ने हुन्छ। तर दाङमै इन्धन डिपोको व्यवस्था गर्न सकिए दाङको भाडा धेरै कम हुने अध्यक्ष रिजाल बताउँछन्। ‘इन्धन डिपो दाङमा स्थापना भयो भने भाडा धेरै कम पर्न जानेछ,’ रिजालले भने, ‘हामीले पहल गरिरहेका छौं, तर यो बिमानस्थल सञ्चालनका लागि राज्य कहिल्यै गम्भिर बन्न सकेन।’ विमानस्थल कालोपत्रे पछि पहिलोपटक दाङको टरिगाँउ विमानस्थलमा जहाज ल्यान्ड भएको दृश्य हेर्न सभासद, सिडिओ, उद्योगी, व्यापारीलगायत सर्बसाधरणको उपस्थिति थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *