sogtbir chaudhary

सन्तोष दहित, दाङ- थारु बुद्धिजीबी तथा राजीनीतिक विश्लेषक सोगतविर चौधरीले नाममात्रको संघीयता काम नभएको बताएका छन्। दाङको तुलसीपुरमा थारु आदिवासी गैरसरकारी संस्थाले अयोजना गरेको संघीयता/प्रादेशिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिचान र अधिकारसहितको संघीयता बनेमात्र संघीयताको काम भएको बताए। उनले भने, ‘देशमा लोकतन्त्र आइसकेको छ, तर अझै पनि नेपालका लाखौं जनताले त्यसको महसुस गर्न पाएका छैनन्। साँच्चिकै उनीहरुलाई लोकतन्त्रको आभास दिने हो भने राजनीतिक अधिकारको निर्णय गर्न पाउने संघीयता निर्माण गर्नुपर्छ।’
संघीयताको आवश्यकता किन भयो भन्ने प्रसंगमा उनले भने, ‘देशमा पछाडि परिएका आदिवासी जनजाति, सीमान्तकृत समुदाय र वर्गहरुको अधिकार सम्पन्न गर्न संघीयताको आवश्यक छ।’ उनले सदियौं वर्षदेखि माटो, पानीसंग खेल्दै आएको जाति नै आदिबासी भएको बताए।
‘देशको शासन चलाउनेहरु आदिबासी होइनन्,’ उनले भने, ‘तर तिनै शासक वर्गहरु आफू आदिबासी हुँ भनेर ब्याख्या गर्छन्। त्यो सब निराधार हो।’
उनले थारु सभासदहरुलाई थारु समुदायको हितमा संविधान लेख्नन सुझाव दिए। उनले पार्टीको पछि नलागेर सिंगो समुदायको पक्षमा वकालगत गर्न सभासद्हरुलाई सुझाए। ‘एक युगमा एक पटक लेखिने संविधान यसपटक पनि थारु समुदायको पक्षमा तपाईँहरुले आवाज उठाउनुपर्छ,’ उनले भने, ‘थारु समुदायको पक्षमा संविधान बनाउन सक्नुभएन भने थारु समुदाय पुनः १०० वर्ष पछाडि धकेलिनेछ।
त्यस्तै सभासद् डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेसले ६/७ प्रदेशका खाका ल्याए पनि त्यस विषयमा पार्टीभित्र छलफल जारी रहेको बताए। उनले कांग्रेसले सबै जाति वर्गका समुदायलाई राम्रो हुने प्रदेश ल्याउने दाबी गरे।
त्यस्तै रुक्मिनी चौधरीले अहिलेको अवस्थामा कुनै पनि जातको नाममा संघीयता नआउने बताइन्। देशमा धेरै जातजाति भएकाले एउटै जातिको नाममा संघीयता ल्याउँदा झनै समस्या हुने उनले बताइन्।
थारु गैससका अध्यक्ष श्रमलाल चौधरीको अध्यक्षतमा भएको कार्यक्रमममा पूर्व सभासद इन्द्रजीत थारु, एमाओवादीका रामजी चौधरी, बेसका कार्यकारी निर्देशक चुर्ण चौधरी, थारु अगुवा सन्तोष थारु, भरत चौधरी, महेन्द्र चौधरी, छोटीलाल चौधरी, थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहितलगायतको उपस्थिति थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *