नेपालगन्जका विभिन्न कलेजमा प्राविधिक शिक्षा पढ्दै गरेका मुक्त कम्लरी आफ्नै संस्थाको कार्यालयमा। तस्बिर : ठाकुरसिंह
नेपालगन्जका विभिन्न कलेजमा प्राविधिक शिक्षा पढ्दै गरेका मुक्त कम्लरी आफ्नै संस्थाको कार्यालयमा। तस्बिर : ठाकुरसिंह

ठाकुरसिंह थारु, बाँके- उनीहरूका कैयौं पुस्ता कमैया, कम्लरी भएरै बिते। पढाइ लेखाइबिनै जीवन काटे। आफ्ना परिवारका लागि भन्दा अरूकै लागि बाँचे। उनै कमैया र कम्लरीका सन्तान हाल प्राविधिक शिक्षा पढ्नेे अवसर पाउन थालेका छन्। उनीहरू स्वास्थ्यकर्मी बन्न एचए, सीएमए, ल्याब र प्राविधिक बन्न इलोक्ट्रोनिक्स, अटोमोबाइल, रेपि|mजेरेसनजस्ता विषय लिएर पढ्न थालेका हुन्।

तिनैमध्येकी एक हुन् गीता चौधरी। उनी नेपालगन्जमा सीएमए पढिरहेकी छन्। ‘मेरा बाआमा अरूको घरमा जीवनभर कमैया, कम्लरी बस्नुभो। पढ्न पाउनु भएन। म पनि कम्लरी बसें। कम्लरी मुक्तिपछि पढ्ने अवसर पाएँ,’ बर्दिया महम्मदपुरकी गीता चौधरी भन्छिन्, ‘सीएमए पढ्न पाउनु भनेको मेरा लागि अहोभाग्य हो। केार्स पूरा गरेर गाउँमै सेवा गर्ने सपना छ।’

उनीजस्तै सात मुक्त कम्लरी सीएमए पढाइमा भविष्य खोजिरहेका छन्। उनीहरू पढाइ पूरा गरेपछि गाउँमा औषधि पसल खोलेर अत्मनिर्भर हुन चाहन्छन्। अरूको घरमा कम्लरी बस्न पठाउने आमाबुवा पनि पढेपछि छोरी ठूलो मान्छे बन्ने सपना देख्न थालेका छन्। ‘कमैया जीवन बिताएका परिवारका सदस्यले मलाई स्वास्थ्यकर्मी भएको देख्न चाहन्छन्। त्यसैले जसरी भए पनि पढाइ पूरा गर्नु छ,’ ल्याब टेक्निसियन पढ्दै गरेकी रिदिमा कुश्मी भन्छिन्, ‘पाँच वर्षजति कम्लरी बस्दा दुःख पाइयो। अहिले पढ्न पाउँदा निकै खुसी लागेको छ।’

उनीजस्तै बर्दिया बानियाभारकी निर्मला चौधरी, धधवार जब्दीकी ललिता चौधरी, दाङकी सरस्वती र बर्दिया ठाकुरद्वाराकी मित्री चौधरी पनि नेपालगन्ज टेक्निकल कलेजमा ल्याब पढिररहेका छन्। ‘हाम्रा पुर्खाले कहिल्यै पढ्न नपाए पनि हामीले भने ल्याब पढ्न अवसर पाएका छौं। यो अवसरले जीवन नै परिवर्तन गरिदिएको छ,’ ललिता भन्छिन्, ‘पढाइ पूरा भएपछि गाउँमै ल्याब खोल्ने विचारमा छु।’

त्यस्तै, गीता चौधरी सिभिल सबओभरसियरमा भर्ना भएकी छन्। हीरामोती चौधरीसहित ९ मुक्त कम्लरी इलोक्ट्रोनिक्स पढिररहेका छन्। कविता र बिना चौधरी अटोमोबाइल पढिररहेका छन्। प्राविधिक शिक्षाले आत्मनिर्भर हुन सक्ने भन्दै उनीहरूले ती विषय रोजेका हुन्। ‘म कुलर, एसी जडान, मर्मत गर्ने विषय लिएर भेरी प्राविधिक शिक्षालयमा पढिरहेकी छु। अन्य विद्युतीय सामान मर्मत र विद्युत् जडान गर्न सिकिरहेकी छु,’ हीरामोती भन्छिन्, ‘पढाइ पूरा भएपछि आफैंले व्यवसाय गर्ने सोच छ। काम पाउन पनि कुनै समस्या हुँदैन।’

मुक्त कम्लरीहरूको आफ्नै संस्था एफकेडीएफ र नायफले बाँके, बर्दिया, दाङ, कञ्चनपुर र कैलालीका मुक्त कम्लरीलाई व्यावसायिक शिक्षाका लागि आर्थिक सहयोग गर्दै आएको छ। यसले कहिल्यै अवसर नपाएका मुक्त कम्लरीहरूको शिक्षामा ठूलो सहयोग पुगेको मुक्त कम्लरी विकास मञ्च बाँकेकी अध्यक्ष दिलकुमारी चौधरीले बताइन्।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *