Narendra Modi

प्रकाश सिलवाल, काठमाडौं- भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभा भवन सिङ्गारिएको छ । संविधानसभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झन्डा र ध्वजापातकाले सजाइएको छ । केन्द्रमा रहेका ठूला पोल (खम्बा) मा पनि दुई देशका झन्डा फहराएका छन् ।
सम्मेलन केन्द्रमा पानीका फोहरा पनि प्रदर्शित गरिएको छ भने बगैँचा र परिसरलाई सरसफाइ गरेर चिटिक्क बनाइएको छ । संविधानसभा भवन परिसरमा रङ्गरोगन र मर्मतसम्भार कार्य पूरा भएको छ । झन्डा राख्ने, फूलका गमला थप गर्नेलगायतका कामलाई तीव्र पारिएको छ ।
भोलि बिहान काठमाडौँ आइपुग्नुहुने भारतीय प्रधानमन्त्री मोदीले ४:३० बजे संसद्लाई सम्बोधन गर्नुहुनेछ । विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको संसद्लाई यसरी सम्बोधन गर्ने मोदी पहिलो अति विशिष्ट विदेशी व्यक्तित्व हुनुहुन्छ । २०४६ साल अघि जर्मनीका तत्कालीन चान्सलर हेल्म्युट कोल नेपालको संसद्मा सम्बोधन गर्नुभएको थियो ।
मोदीको भ्रमणका क्रममा राज्यले गर्ने सुरक्षा प्रबन्धका साथै संसद् सचिवालयले विशेष सुरक्षा व्यवस्था गरेको मोदीको सम्बोधन तथा सभामुख सुवास नेम्वाङसँगको भेटवार्ताको तयारीका लागि संसद् सचिवालयले गठन गरेको कार्यटोलीका संयोजक एवम् सहसचिव डा भरतराज गौतमका अनुसार सचिवालय सबै प्रकारको तयारी पूरा गरेको छ ।
भारतीय प्रधानमन्त्री भोलि दिउँसो ४ बजे संविधानसभा भवन पुग्नुहुने कार्यक्रम छ । मोदीलाई सभामुख नेम्वाङले मुख्य ढोकामा स्वागत गर्नुहुनेछ, भित्र गएपछि समामुख नेम्वाङसँग १५ मिनेट भेटवार्ता हुनेछ । त्यसपछि दुवै जना संसद् बैठकमा प्रस्थान गर्नुहुनेछ । संसद्को रोष्ट्रम नजिकै मोदीको आसनको व्यवस्था गरिएको सहसचिव गौतमले जानकारी दिनुभयो ।
बैठकमा सदा झैँ राष्ट्रिय गान प्रस्तुतपछि सभामुख नेम्वाङले मोदीको भ्रमणप्रति स्वागत गर्दै उहाँलाई सम्बोधनका लागि आग्रह गर्नुहुनेछ । मोदीको सम्बोधन ३० देखि ४५ मिनेट हुन सक्नेछ । सम्बोधन हिन्दीभाषामा हुने बुझिएपनि लिखित वा मौखिक हुने भन्नेबारेमा संसद् सचिवालयलाई जानकारी आइसकेको छैन ।
भ्रमण र सम्बोधनको तयारीको अवस्थाबारे बुझ्न परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृतसहितको टोलीले आज संविधानसभा भवन, नयाँ बानेश्वरमा अवलोकन गरेको छ ।
सम्बोधन कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारी, संवैधानिक निकायमा पदाधिकारी, नेपाल सरकारका सचिवहरूलाई आमन्त्रण गरिएको छ । सभासद्लाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
संसद्को शुक्रबारको बैठकमा मोदीले सम्बोधन गर्नेबारेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेबाट प्राप्त पत्र सभाध्यक्ष नेम्वाङले वाचन गर्नुभएको थियो । संविधानसभा, व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली २०७० को नियमावली १५५ बमोजिम भारतीय प्रमले सम्बोधन गर्न लाग्नुभएको सभामुख नेम्वाङले जानकारी गराउनुभएको थियो । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *