१

एजेन्सी- स्कटल्यान्डमा बिहीबारको जनमतसंग्रहमा बेलायतबाट अलग हुन नचाहने (नो) पक्षको स्पष्ट जित भएको छ । त्यहाँको कुल ३२ जिल्लामध्ये २८ ले स्वतन्त्रताको विपक्ष र चारले मात्र पक्षमा मतदान गर्‍यो । यो ऐतिहासिक परिणामपछि इंग्ल्यान्ड, बेल्स र उत्तरी आयरल्यान्डजस्तै स्कटल्यान्ड संयुक्त अधिराज्यको एक भाग रहने छ ।

पक्षमा १६ लाख १७ हजार ९ सय ८९ (४५ प्रतिशत) र विपक्षमा २० लाख १ हजार ९ सय २६ (५५ प्रतिशत) मत परेको थियो । कुल ८५ प्रतिशत मतदान भएको थियो । अन्तिम मत सर्वेक्षणले देखाएभन्दा ३ प्रतिशत बढी मत विपक्षमा परेको छ । विजयी हुनलाई

१८ लाख ५२ हजार ८ सय २८ मत मात्र चाहिएको थियो ।

स्कटल्यान्ड संयुक्त अधिराज्य अधीनस्थ रहने वा स्वतन्त्र राष्ट्रका रूपमा अलग हुने भनी निर्वाचन गरिएको हो । बेलायतअन्तर्गत रहने जनादेशले जिते पनि उल्लेख्य मत विपक्षमा पर्दा स्कटल्यान्डले पहिलेभन्दा बढी स्वायत्तता पाउनुपर्ने तर्क बलियो भएको छ ।

स्कटल्यान्डले बेलायतसँगको ३ सय वर्ष पुरानो सम्बन्ध कायमै राख्ने चाहना व्यक्त गरेको छ । सन् १७०७ सम्म स्कटल्यान्ड स्वतन्त्र राष्ट्र थियो । पूर्वनिर्धारित योजनाअनुरूप शुक्रबार बिहान खाजाको बेला गणना र परिणाम घोषणा सुरु भएको थियो । स्कटल्यान्ड र बेलायत मात्र नभएर पूरा विश्वले परिणामको व्यग्र प्रतीक्षा गरिरहेको थियो । हिंसा र विद्रोहको मार्गबाट नभएर लोकतान्त्रिक मापदण्डबाट यस्तो मतदान भएको विश्वकै इतिहासमा पहिलो पटक हो ।

सुरुदेखि विपक्षी खेमा अगाडि थियो । एडेनबरा सम्झौताको दुई वर्षपछि २०१४ मा जनमतसंग्रहको माग उठेको थियो । त्यतिबेलैका प्रायःजसो सर्वेक्षणमा ४३ लाख मतदातामध्ये एक तिहाइले मात्र स्वाधीनताको इच्छा देखाएका थिए । चुनावअघिको डेढ वर्षको अवधिमा लगातार सर्वेक्षण भइरहे, विपक्षकै धारणा बलियो रहिरह्यो । त्यहाँ आफूलाई बेलायती र स्कटल्यान्डेली मान्नेको संख्या बरोबर छ । हलुका थिचोमिचो हुनेबित्तिकै यो धारणामा परिवर्तन हुने गर्छ ।

सबभन्दा ठूलो सहर ग्लास्गो र अन्य तीन काउन्सिल वा जिल्लाले स्वतन्त्रताको पक्षमा मतदान गरे । बेलायतबाट छुट्टनिुपर्ने पक्षमा देखिएको डुन्डी पहिलो जिल्ला थियो । त्यहाँ परेको कुल ७८.८ प्रतिशत मतदानमा ‘एस’ तिर ५३ हजार ६ सय २० र विपक्षमा मात्र ३९ हजार ८ सय ८० मत देखियो ।

बेलायतकै तेस्रो ठूलो सहर ग्लास्गोमा भएको कुल ७५ प्रतिशत मतदानमा स्वाधीनताको पक्षमा १ लाख ९४ हजार ७ सय ७९ र विपक्षमा १ लाख ६९ हजार ३ सय ४७ मत मात्र परेको थियो । हार र जितको चक्करमा नलागी उक्त सहर सामान्य जनजीवनतर्फ फर्किसकेको छ ।

त्यसैगरी, वेस्ट डनवारटोनसायरमा पनि पक्षमा ५४ र विपक्षमा ४६ प्रतिशत मत पर्‍यो । नोर्थ लानार्कसायरमा पक्षमा ५१ र विपक्षमा ४९ प्रतिशतले मतदान गरे । मुलुकको राजधानी एडेनवर्गले स्वतन्त्रतालाई सीधै नकार्‍यो । त्यहाँ स्वतन्त्रताको विपक्षमा १ लाख ९४ हजार ६ सय ३८ र पक्षमा १ लाख २३ हजार ९ सय २७ ले मतदान गरे । त्यसैगरी अबरडिन सहरमा पक्षभन्दा विपक्षमा २० हजार मतको फरक देखियो ।

परिणाम जता गए पनि राजनीतिक, आर्थिक र सांस्कृतिक शक्तिकेन्द्र मानिने ग्लास्गो सहरको मतले धेरै महत्त्व राख्छ । बीबीसी संवाददाताका अनुसार निर्वाचनको अन्तिम दिन र क्षणमा धेरैले आफ्नो मत परिवर्तन गरेको बताए । ‘एस’ पक्षधरले सुरुवाती मत परिणाममै पराजय हुने आभास भएपछि झन्डा र ब्यानर बोकेर हिँडेका थिए । बेलायतबाट अलग्गिनु जोखिम हुने उनीहरूले महसुस गरे । दस दिनअघि अखबार सन्डे टाइम्सको सर्वेक्षणले स्वाधीनता चाहने (एस) पक्ष अप्रत्याशित रूपमा बढिरहेको उल्लेख गर्दै जित्ने सम्भावना व्यक्त गरेको थियो ।

उक्त सर्वेक्षणपछि प्रधानमन्त्री क्यामरुन, लेबर पार्टीका नेता एडवर्ड मिलिब्यान्ड र लिबरल डेमोक्र्याट नेता निक क्लेगले संसदको साप्ताहिक प्रधानमन्त्री प्रश्नकाल छाडेर स्कटल्यान्ड पुगेका थिए । स्कटल्यान्डमा लोकपि्रय पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले स्कट संसदको अधिकार बढाउने गरी समयतालिकासमेत सार्वजनिक गरे । यसले विपक्षी अभियान हावी हुन पुग्यो । यही क्रममा स्कट र इंग्लिस अर्थतन्त्रबारे व्यापक बहस छेडियो । तेल र व्यापारको मुद्दा चम्कियो ।

स्वाधीनताका पक्षधर तथा स्कट सरकार प्रमुख (फस्र्ट मिनिस्टर) एलेक्स सालमोन्डले लोकतान्त्रिक जनमतसंग्रहको परिणामलाई सबैले स्वीकार्नुपर्ने भन्दै राष्ट्रिय एकताको अपिल गरेका छन् । सालमोन्डले जनमतसंग्रह र भारी मतदानलाई लोकतान्त्रिक प्रक्रियाको जित भनेका छन् । झन्डै ८५ प्रतिशतले मतदानमा सहभागिता जनाए । जनमतसंग्रहका लागि मार्ग प्रशस्त गर्ने एडेनवर्ग सम्झौताको पालना गर्न उनले आग्रह गरेका छन् । उनले केन्द्रीय दलहरूलाई अझ बढी अधिकार प्रदान गर्न अपिल गरेका छन् । राष्ट्रको मूलधार र राजनीतिक प्रक्रियाबाट अलग रहेकाहरूले जनमतसंग्रहमा खुलेर आफ्नो भावना व्यक्त गरेको उनको भनाइ थियो ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले संयुक्त अधिराज्य बेलायत नटुक्रिने जनमतले आफू खुसी भएको बताउँदै राष्ट्रिय एकताका लागि अपिल गरे । क्यामरुनले यस साताको सुरुमै पारपाचुके पीडादायी हुने भन्दै विपक्षमा मतदाननिम्ति आग्रह गरेका थिए ।

‘स्कटल्यान्डवासीलाई दिइएको अधिकार र जनकल्याण योजनाको कार्यान्वयन गरिने छ,’ उनले भने, ‘राजनीतिमा पाइला राख्दा हामीमध्ये कसैले पनि यो सुन्दर दिनको कल्पना गरेका थिएनौं,’ उनले भने । । जनमतसंग्रह परिणामपछि सेयरको मूल्य बढेको छ । बेलायत विभाजन हुने खतराले दुःखी शाही परिवारले राहत महसुस गरेको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयले विभाजन पक्षधरबाट व्यक्त मत र उनीहरूको असन्तुष्टिमाथि गम्भीरतापूर्वक ध्यान दिने आशा गरिएको छ ।

स्कटल्यान्डवासीको मत आइसकेकाले अब विवाद, पुनः जनमतसंग्रहको सम्भावना नरहेको क्यामरुनले बताए । उनले बेलायतबाट गुन्जिने लाखौं स्वरहरूलाई अवश्य सुनिने दृढता व्यक्त गरे ।

आफ्नो सुरक्षा ब्लकको मुख्य सदस्य बेलायत नटुक्रिने खबरको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का महासचिव एन्डर्स फोग रासमुसेनले स्वागत गरेका छन् । मतदाताहरूमा पनि परिणामबारे मिश्रति प्रतिक्रिया छ । स्कटल्यान्डमा कुनै किसिमको हषर्ाेल्लासको वातावरण चाहिँ देखिएको छैन ।

स्कटल्यान्डको स्वाधीनता चाहनेहरू रोइरहेका देखिए । विपक्ष (नो) मा रहेकाले पनि कुनै खुसियाली मनाएका छैनन् । उक्त परिणामको नतिजा बेलायती बजारमा पनि देखिएको छ । परिणामलगत्तै बेलायती मुद्रा (पाउन्ड स्टर्लिङ) को मूल्य बढेको छ ।

डलरको तुलनामा पाउन्ड स्टर्लिङको मूल्य बढ्नुलाई बेलायती बजारले उक्त परिणामलाई स्वीकारको वा स्वागत गरेको रूपमा हेरिएको छ । स्वतन्त्रता अभियान सुरुमा दिनमा त्यति बलियो देखिएको थिएन । पछिल्लो समयमा अघि बढेको उक्त अभियानले करिब ४५ प्रतिशत मत हात पारेको घटनालाई उपलब्धिका रूपमा लिइएको छ ।

स्कटल्यान्डमा जनमतसंग्रहको प्रचारप्रसार व्यापक भएको थियो । दुवै पक्षमा हजारौंको संख्यामा स्वयंसेवी परिचालित भएका थिए । बेलायतका तीन प्रमुख राजनीतिक दलले ‘हुन्न’ भन्ने मतले जितेमा स्कटल्यान्डलाई अतिरिक्त अधिकार र सुविधा दिने वचन दिएका थिए । स्कटल्यान्ड अलग भएमा बेलायती अर्थतन्त्र जोखिममा पर्ने उनीहरूको दाबी थियो ।

बेलायतले बढी अधिकार दिने

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले स्कटल्यान्डलाई अहिलेभन्दा बढी अधिकार दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘स्कटहरूले स्वतन्त्रताका पक्षमा दिएको मतको कदर हुन्छ, अहिलेको भन्दा बढी अधिकार र स्वायत्तताका लागि तयार छौं,’ उनले भने ।

परिणामबाट ढुक्क

युरोपेली संसदका अध्यक्ष मार्टिन सुल्जले स्कटल्यान्डको परिणामबाट आफू निश्चिन्त भएको बताए । ‘मलाई पो परिणामले एक किसिमले मुक्ति दिएको छ, म निश्चिन्त छु,’ उनले भने, ‘केही समयमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटेर खुसी व्यक्त गर्नेछु ।’

जनमतसंग्रहको परिणाम

मतदाता :४२ लाख ८३ हजार ३ सय ९२

खसेको मत : ८४.५९ प्रतिशत

बिग्रेको मत : ३ हजार ४ सय २९

विपक्षमा :५५.३० प्रतिशत

पक्षमा : ४४.७० प्रतिशत

स्पेनमा असर

एरनाइस डे मन्ट (एएफपी)- स्कटल्यान्डका जनताले स्वतन्त्रताको विपक्षमा गरेको मतदानलाई स्पेनी सरकारले शुक्रबार स्वागत गर्‍यो । क्याटालोनिया प्रान्तका जनता स्वाधीनताका लागि जनमतसंग्रह गराउने अभियानमा जुट्दै आएका छन् ।

स्कटल्यान्ड टुक्रेको खण्डमा उत्तरपूर्वी क्याटालोनिया क्षेत्रको पृथकतावादी आन्दोलनले बल पाउने स्पेनी केन्द्रीय सरकारको ठहर थियो । स्पेनी प्रधानमन्त्री मारियानो राजोयले स्कटल्यान्ड संयुक्त अधिराज्यमै कायम रहेकामा आफूहरू निकै खुसी भएको र यो युरोपको एकीकरणका लागि सकारात्मक भएको बताए । क्याटालोनियामा स्वतन्त्रताका समर्थकहरू अडिग छन् । त्यहाँका नेताहरूले स्कटल्यान्डमा जे नतिजा आए पनि आफूहरूले जनमतसंग्रह अभियानलाई अगाडि बढाउने बताएका छन् ।

क्याटालोनियाको क्षेत्रीय संसद्ले शुक्रबार निर्वाचनसम्बन्धी नयाँ कानुन पारित गर्नेछ । त्यस क्षेत्रका नेता आर्टर मासले नोभेम्बर ९ मा जनमतसंग्रह गर्नका लागि औपचारिक आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।

स्पेनको राष्ट्रिय सरकारले संवैधानिक अदालतमा पुनरावेदन दिई यस कदमलाई अवरुद्ध पार्ने दृढता व्यक्त गरेको छ । प्रधानमन्त्री राजोयले जनमतसंग्रह गैरकानुनी हुने भन्दै आफूले स्पेनको एकताको प्रतिरक्षा गर्ने बताए । स्कटल्यान्डमा भएको जनमतसंग्रहबाट क्याटालोनियाका स्वतन्त्रताका समर्थकहरू उत्साहित छन् ।

क्याटालोनियाले सन् २००६ मा आफूलाई अलग राज्य बनाउने कानुन पारित गरेको थियो । तर स्पेनको संवैधानिक अदालतले उक्त आदेश खारेज गरेको थियो ।

सालमन्डद्वारा राजीनामा

एडेनवर्ग (बीबीसी)- मतदाताले स्वतन्त्रता अस्वीकार गरेपछि एलेक्स सालमन्डले स्कटल्यान्डको फस्ट मिनिस्टर पदबाट राजीनामा दिने भएका छन् । स्वाधीनता विरोधीले भारी मतसहित जितेपछि उनले स्कटिस नेसनल पार्टी

(एसएनपी) बाट समेत राजीनामा दिने भएका छन् । ‘नेताका रूपमा मेरो समय सकिएको छ, स्कटल्यान्डका लागि अभियान जारी रहने छ, सपना कहिल्यै मर्ने छैन,’ उनले भने, ‘मैले स्वतन्त्र मुलुकका लागि सञ्चालन गरेको अभियानको महत्त्व राजनीतिभन्दा माथि छ ।’

सालमन्डले एडेनवर्गस्थित सरकारी निवासमा सञ्चारकर्मीहरूलाई भने, ‘यति धेरै मतदाताले स्वतन्त्रतालाई समर्थन गरेकामा म उक्त अभियानमा गर्व गर्छु ।’ ५९ वर्षे उनले एसएनपीलाई २० वर्ष नेतृत्व दिए । उनले

आफ्नो स्थान लिन सक्ने पार्टीभित्र थुप्रै योग्य र दक्ष उम्मेदवार रहेको औंल्याए । नोभेम्बरमा हुने सम्मेलनमा दलको नेता र मन्त्रीपद त्याग्ने उनले घोषणा गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *