चितवन- पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले २५ प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका छन्। उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको  बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था गरेको जनाएका छन्। पाँच दिनसम्म खान र बस्नमा २५ प्रतिशतसम्म छुट दिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए। छुट क्रिसमसदेखि सुरु भई अङ्ग्रेजी नयाँ वर्ष जनवरी १ सम्म रहने उनले जानकारी दिए।
यही पुस ११ गतेदेखि सौराहामा हात्ती दौड प्रतियोगितालगायत विभिन्न कार्यक्रमसमेत हुन लागेकाले पर्यटकलाई ध्यानमा राखेर छुटको व्यवस्था गरिएको व्यवसायी गिरीधारी चौधरीले बताए। उनका अनुसार विगत वर्षमा यो समयमा सौराहामा पर्यटक आगमन शून्य भएकाले कर्मचारीलाई घर बिदामा पठाउनुपर्ने अवस्था भएपनि अहिले त्यो अवस्था भने छैन। तर पर्यटक कम आउने भएकाले नयाँ योजनाका साथ छुटको व्यवस्था गरिएको हो।
करिब १०० वटा ठूला होटल र दुई दर्जन बढी रेस्टुरेंन्ट रहेको सौराहामा दैनिक दुई हजार ५०० पर्यटक बस्न सक्ने क्षमता छ। यहाँ आएका पर्यटक हात्ती सफारी, जङ्गली जनावरको अवलोकन, थारु संस्कृति अवलोकन तथा राप्ती नदीको मनोरम वातावरणमा रमाउन मन पराउँछन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *