Young couple in bed, woman asleep, man using mobile phone, night

सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै छ कि? यस्तो चिन्ता धेरैले व्यक्त गरिसकेका छन्। मान्छेहरू कामधाम  एकातिर राखेर फेसबुक, ट्वीटरमा झुन्डिएका हुन्छन्। पार्टी भइरहेको हुन्छ, मानिस फेसबुकमा स्ट्याटस चेक गरिरहेका हुन्छन्। मान्छे डुबिरहँदा बचाउन छाडेर फोटा खिचेर फेसबुकमा अपलोड गर्न लागेको कार्टुन फेसबुकमा यसै लोकप्रिय बनेको होइन। एक जमानामा फोटो धुलाएर एल्बममा राख्नका लागि हुन्थ्यो। अहिले प्रोफाइल पिक्चर बनाउन र धेरै लाइक कमाउन हुन्छ। क्लासमा पढाउँदा पढाउँदै क्या झुर पढाएको यो सरले भन्दै फेसबुक वा ट्वीटरमा लेख्ने विद्यार्थीको कमी छैन। राति अबेरसम्म फेसबुकमा, बिहान उठ्ने बित्तिकै फेसबुकमा हुँदाहुँदा शौचालय जाँदा पनि स्मार्टफोन बोकेर फेसबुक र ट्वीटरमा झुन्डिने जमात नेपालकै शहरहरूमा धेरै देखिएको छ।
फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै गएकोमा चिन्ता व्यक्त  गर्नेका लागि बेलायतमा भर्खरै  गरिएको एउटा अनुसन्धानको नतिजाले डरलाग्दो संकेत गरेको छ। अनुसन्धानअनुसार अब सामाजिक सञ्जाल जोडीको बेडरुममा समेत पसिसकेको छ र यसले सेक्सलाई समेत असर पारिरहेको छ।
कन्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको यो सर्वेक्षणअनुृसार केही बेलायती जोडीले सेक्स गर्दैगर्दासमेत फेसबुक चेक गर्छन्।
ड्युरेक्सले दुई हजार जना बेलायतीलाई प्रविधिले उनीहरूको यौन जीवनमा केही नकारात्मक असर पारिरहेको छ कि छैन? भनी सोधेको थियो। झन्डै ३० प्रतिशत जोडीले सेक्सको क्रममा आफ्नो ध्यान मोबाइल उपकरणले विकर्षित गर्ने बताए। झन्डै ६० प्रतिशतले बेडमा जोडीसँग खेलेर समय बिताउनुभन्दा प्रविधिसँग खेलेर समय बिताउने गरेको बताए। पाँच प्रतिशतभन्दा बढीले चाहिँ आफ्नो जोडीसँग सेक्स गर्दैगर्दा पनि फेसबुक प्रयोग गरेको स्वीकारे।
सर्वेक्षणले सेक्स जस्तो नितान्त निजी क्रियाकलाप गरिहँदा पनि जोडीलेे फेसबुक चेक गर्नुलाई चिन्ताजनक प्रवृत्ति भएको उल्लेख गरेको छ। यस्तो किन भइरहेको छ? भन्ने बारे भने सर्वेक्षणले केही उल्लेख गरेका छैन। त्यसो त स्याम्पल साइजदेखि लिएर अरू धेरै कुरामा यो सर्वेक्षणले वैज्ञानिक विधि नअपनाएको कुरा पनि आएको छ। तर, त्यतिले मात्र यो सर्वेक्षणले इंगित गरेको डरलाग्दो पक्षलाई नजरअन्दाज गर्न सकिँदैन।
अमेरिकामा पनि सन् २०१३ मा गरिएको एक सर्वेक्षणले औसत अमेेरिकीहरू हरेक दिन तीन घण्टा सामाजिक सञ्जालमा बिताउने देखाएको थियो। ड्युरेक्सले त्यही भएर यसै साता मार्च २९ अर्थात् शनिवार अर्थ आवर मनाउने क्रममा आफ्ना कम्प्युटर र मोबाइल डिभाइसलाई अफ गरी आफ्नो जोडीसित नितान्त निजी समय बिताउन आह्वान गरेको छ।
परिवार टुक्राउने पनि फेसबुक
गएको साता काभ्रेको एउटा परिवार फेसबुकका कारण टुक्रिएको खबर आएको छ।
छ वर्षअघि जीवन र सम्झनाको लभ म्यारिज भएको थियो। जीवन साउदी अरबमा काम गर्न जानुपर्ने भयो। साउदी जानुअघि उनले श्रीमतीका लागि स्वयम्भूमा भाडामा कोठा लिइदिए।
श्रीमान् विदेश गएपछि सम्झनाले पनि छोरीलाई स्याहार्दै एक वर्ष बिताइन्। छोरी हुर्कँदै गइन्। यही क्रममा सम्झनाले फेसबुक चलाउन थालिन्। फेसबुकमा उनले युवराजलाई साथी बनाइन्। दुवैले आफूलाई अविवाहित भनेका रहेछन्। फेसबुकको भेट डेटिङसम्म तन्कियो। त्यसपछि अनैतिक सम्बन्ध बढ्न थाल्यो।
युवराजसँग रोमान्सको क्रममा सम्झनाले जीवनले साउदी अरबबाट पठाएको सबै पैसा उडाउन थालिन्। ब्वाइफ्रेन्डसँग सहज हुनका लागि उनले आफ्नी छोरीलाई पनि घरमा पठाइदिइन्।
सम्झना र युवराजले जीवनले साउदी अरबबाट पठाएको १६ लाख रुपैयाँमात्रै पच नगरी नातेदारहरूबाट जग्गा किन्ने भन्दै एक लाख ३० हजार नगद र करिब चार तोला सुनसमेत ऋण लिएको आरोप छ।
जीवन साउदीबाट घर फर्कँदा तरकारी किनेर आउँछु है भनेर निस्केकी सम्झना स्कुटर चढेर युवराजको घरमा पो पुगिन्।
अघिल्लो शुक्रवार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा जीवनले छोरीको अभिभावकत्वसहित श्रीमतीसँग सम्बन्ध–विच्छेद चाहेको बताए। जीवनले आफूले पठाएको सबै पैसा, किनिदिएको स्कूटर र नातेदारबाट लिएको ऋण तिर्नुपर्ने माग गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *