pyarelal rana tharu

काठमाडौं- निर्धारित समयभित्र नयाँ संविधान बनाई त्यसमा आदिवासी थारुसहित सबै वर्ग, समुदायको अधिकार सुनिश्चित् गर्नसकेमात्र देशले निकास पाउने थारु अगुवाहरुले बताएका छन्। थारु पत्रकार संघ, नेपालको तेस्रो वार्षिक साधारणसभामा शनिबार बोल्दै थारु अगुवाहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधान सबैको अपनत्वबोध गर्ने संविधान सावित हुनसके सोपछिको समयलाई आर्थिक समृद्धि तथा विकासका निम्ति सदुपयोग गर्न सहज हुने उनीहरुको तर्क छ।

अहिलेसम्म केन्द्रीकृत शासन प्रणाली, एक भाषाको बर्चस्व भएकैकारण अन्य भाषा तथा समुदायहरु राज्यको स्रोतसाधनबाट वञ्चित हुनुपरेकाले संघीयता आवश्यक परेको भनाई अगुवाहरुको छ।

नेपाली कांग्रेसका सभासद् तथा कार्यक्रमका प्रमुख अतिथि प्यारेलाल रानाथारुले थारुभित्रको कुरीति, कुसंस्कार हटाई राजनीतिमा सक्रिय हुनसकेमात्र थारुको अधिकार सुनिश्चित् हुने बताए। ‘अशिक्षाका कारण थारुहरु राजनीतिमा सक्रिय हुन सकेनन्, सबै विषयको निर्णय राजनीतिबाटै सम्भव हुन्छ,’ भन्दै उनले युवापीढिलाई राजनीतिमा सरिक हुन आग्रह गरे।

अबको संविधान समावेशीताको एक खुड्किलो सावित हुने दावी गर्दै सभासद रानाथारुले थारुसहित राज्यबाट पछाडि पारिएका सबै वर्ग समुदायको अधिकार सुनिश्चित्ताका लागि संविधानसभामा अभ्यास भइरहेको बताए। राजनीतिकदलका शीर्ष नेताहरु समावेशीता र सबै वर्गको अधिकारमा संवेदनशील भइसकेकाले नयाँ संविधान सहमतिकै दस्तावेज हुने दावी उनले गरे। नेतृत्वविना समुदायको विकास सम्भव नभएको बताउँदै सभासद रानाथारुले पछाडि परेका सबै वर्गको वृत्तिविकास र नेतृत्व क्षमता आवश्यक रहेको तर्क गरे।

RajKumar Lekhi

थारु अगुवा राजकुमार लेखीले थारुहरुको आफ्नै आन्तरिक समस्या र लापरबाहीले अधिकारबाट वञ्चित हुने गरेको आरोप लगाए। पहिचानको मुद्दालाई मात्र उछालेर समग्र समुदायको हित नहुने भन्दै उनले थारु नेताकै कारण थारुहरु मधेसीको आरोप खेप्नुपरेको दाबी गरे। नेपाललाई पुनःसंरचना गर्ने क्रममा राज्यको सबै तह र संयन्त्रको पुनःसंचना आवश्यक रहेको तर्क गर्दै उनले नेपाली मिडियालाई सन्तुलित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे। तराई र पहाडमा बराबर जनसंख्या रहेकाले पहाड र तराईमा बराबर प्रदेशको आवश्यकता उनले औंल्याए।

संघका अध्यक्ष लक्की चौधरीले नेपाली पत्रकारिता अझै व्यवस्थित हुन नसकेको बताउँदै पत्रकारको पेसागत, व्यवसायिक, भौतिक सुरक्षा तथा आर्थिक पक्षको सुनिश्चित्ता हुनुपर्ने बताए।

अघोषितरुपमै सरकारले चौथोअङ्गको दर्जा दिएको बताउँदै अध्यक्ष चौधरीले नयाँ संविधानमा प्रेस स्वतन्त्रताको प्रत्याभूति आवश्यक रहेको तर्क गरे। पत्रकारको बृत्तिविकाससहित विमा, अनुदान, सञ्चयकोषको सुनिश्च्तिा सरकारबाट हुनुपर्ने माग गरे।

Lucky Chaudhary

अध्यक्ष चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु कल्याणकारिणीसभाका सहमहामन्त्री फूलमति चौधरी, थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरी, अधिवक्ता महेश्वरप्रसाद चौधरी, सञ्चारकर्मी गजुरधन राई, राजेश राई, मिलन लिम्बु, थारु अगुवा सुमन चौधरी, चन्द्रप्रकाश चौधरी, सियाराम चौधरी, प्रदीप लेखी लगायतले थारु पत्रकार संघ, नेपालको कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा संघका अध्यक्षद्वारा प्रस्तुत संघको भावी कार्ययोजना, महासचिव सीताराम चौधरीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष शैलेन्द्रप्रसाद चौधरीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन भेलाले पारित गरेको छ। थारु पत्रकार संघ, नेपालाके काठमाडौंसहित नौ जिल्लामा जिल्ला शाखा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *