Rukmini-chaudharyकाठमाडौं- माघमा संविधान नबन्ने निश्चित भएपछि सुशील कोइरालाको सरकार गिराउने खेल सुरु भएको छ। कोइराला सरकार ढाल्न कांग्रेसको शेरबहादुर समूहले रुचि देखाउन थालेपछि साना पार्टीहरुले पनि सरकारको साथ छाडेका छन्।

आजदेखि केही साना पार्टीहरु सत्तापक्ष छाडेर विपक्षी मोर्चामा सामेल भएका छन्। अब एमाओवादीसहितको विपक्षी गठबन्धनमा बीस पार्टी पुगेका छन्। सत्तापक्षमा रहेका थरुहट तराई पार्टी, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा पहिले नै विपक्षी गठबन्धनमा पसिसकेका थिए।

आज बनेको एमाओवादी नेतृत्वको बीस दलीय गठबन्धनमा सत्तापक्षमा रहेका सात वटा पार्टी पनि सामेल भएका छन्।

सत्तापक्ष छाडेर विपक्षी गठबन्धनमा गएका पार्टीहरुमा नेपाल परिवार दल, रुक्मिणी चौधरी नेतृत्वको  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थहरुहट), समाजवादी जनता पार्टी, संघीय सदभावना पार्टी, दलित जनजाति पार्टी, मधेस समता पार्टी र नेपाली जनता दल छन्।

यी पार्टीहरु सत्तापक्षीय हुन्। वर्तमान सुशील कोइराला सरकार निर्माण हुँदा यी पार्टीहरुले पक्षमा मत दिएका थिए। सत्तापक्षमा सामले भएर विपक्षी गठबन्धनमा सामेल हुनुलाई दलीय प्रणालीमा अनैतिक मानिन्छ।

विपक्षी गठवन्धनमा सामेल भएका पार्टीहरुले सत्तापक्ष छाडेको घोषणा पनि गरेका छैनन्।

विपक्षी गठबन्धनले दृश्यरुपमा सरकार गिराउने र नयाँ गठबन्धन बनाउने भनेको छैन तर दलीय प्रणालीमा सत्तापक्ष र विपक्षको खास अर्थ हु्न्छ। बीस दलले संविधान निर्माणको विषयमा समान धारणा बनाउन खोजेको भने पनि गठबन्धनको उदेश्य सरकारको विरोध गर्ने र नयाँ सरकार बनाउन सकिन्छ भने प्रयास गर्ने नै देखिन्छ।
सत्तापक्षमा को को?

विपक्षमा रहेका राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टी भने एमाओवादी नेतृत्वको मोर्चामा सहभागी छैनन्। यी दुई पार्टीलाई समेत जोड्दा विपक्षमा २२ पार्टी रहेका छन् भने सत्तापक्षमा नौवटा पार्टी छन्। तर, सत्तापक्षमा रहेका नौ पार्टीको पक्षमा संविधानसभाको दुई तिहाइभन्दा धेरै मत रहेको छ।

न्युजभित्ताबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *