r lekhi

आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चन्दा उठाउने अखडा भएको आरोप लगाएका छन् । तुलाधर नेतृत्वको मोर्चा आवद्ध जातीय युवा फोर्सले आफूसहित कांग्रेस एमालेका केही जनजाति नेताहरुलाई कालो सूचीमा राख्नुले उनीहरुको आन्दोलन असफल भइसकेको ठहर हुने लेखीले बताए । तुलाधर मोर्चाका जनजाति नेताहरुप्रति आक्रामक ढंगले प्रस्तुत भएका लेखीले भने-‘उनीहरुको आन्दोलनमा जनजाति समुदाय आउँदैन, यो मोर्चा चन्दा असुल्नका लागिमात्रै बनेको हो । लेखीसँगको कुराकानी

३० दल र तुलाधर मोर्चाको तीन दिने आम हड्ताललाई समर्थन छ कि छैन ? पहिचानकै लागि गरेको आन्दोलनलाई समर्थन हुँदैन त ?

– प्रचण्ड बाबुराम गच्छदार, महतो उनीहरु शासक हुन् यो देशका । शासकले बन्द आह्वान गर्दा जनता आउँदैनन् । सुशील कोइराला र केपी ओलीभन्दा प्रचण्डहरु फरक छैनन् । सरकारलाई दबाव दिन संसद र संसदीय समितिमा गरे भइगो नि । माओवादी मधेसवादीले जनतालाई नयाँ संविधानको पहिलो मस्यौदा लैजान किन चाहेनन् ? प्रारम्भिक मस्यौदा सार्वजनिक गरेर जनताको सल्लाह लिए भयो नि । यो त सत्ताको बार्गेनिङमात्र हो । यो बन्दको औचित्य छैन, संविधानसभाबाटै आफ्ना कुरा लागु गराए भइगो नि । नत्र जनतामा जाने अप्सन बाँकी नै छ ।

पहिचान पक्षधर आदिवासी जनजातिले तपाईहरुलाई सामाजिक बहिस्कार गरेका छन्, यसको असर कत्तिको परेको छ ?

– खै, कुन समाजमा बहिस्कार गरेका हुन् कुन्नि ? मलाई थाहा भएन । म यही समाजमा छु । आदिवासी जनजाति र थारु समुदायसँगै छु । दिनमा एक दुईवटा औपचारिक समारोमा भाग लिइरहेको छु । कालोमोसो दल्छन् कि भनेर यताउति गाला पनि फर्काउँछु, तर कोही निस्किएका छैनन् ।

एउटा कार्यक्रममा कथित युवा फोर्सका दुई चारजना भाइलाई देखेको थिएँ, मेरो भाषण सुनेर हाँस्दै हिँडे । मैले भनेको छु, कालोमोसो लिएर आऊ, थारु समुदाय भिड्न तयार छन् ।

तर, सामाजिक बहिस्कार र कालोमोसो दल्ने वर्षमान पुन: अनन्तकै निर्देशनले त कुनै पनि बेला तपाईहरुमाथि घटना हुन सक्ने देखियो नि ?

– वर्षमान पुन अनन्त र पद्मरत्न तुलाधर मोर्चाका नेताहरुलाई मेरो खुला चुनौती छ-हिम्मत छ भने तिम्रा लाठीधारी लठैतहरुलाई पठाऊ हामी आदिवासी जनजाति थारु समुदाय तिमीहरुसँग भिड्न तयार छौं । हाम्रो थारु कल्याणकारीणीका अध्यक्ष धनीराम चौधरीले भनिसक्नुभएको छ,यदि कुनै थारु नेता कार्यकर्तामाथि अतिवादीहरुले छोए भने पनि राम्रो हुनेछैन । जति गर्दा पनि उनीहरुको र ३० दलको आन्दोलन अघि बढ्न नसकेपछि उनीहरु उत्तेजक कुरा गर्न बाध्य भएका हुन् । यसले उनीहरुलाई नै नांगो बनाएको छ ।

यो घोषणामा तपाईको समेत नाम कालोसूचीमा राख्नुको कारण चाहिँ के परेछ ?

– आदिवासी जनजाति महासंघ र सिंगो आदिवासी जनजाति आन्दोलन २० वर्षसम्म एउटा गिरोहको हातमा रहेको थियो । एउटै चिन्तन बोकेका, एउटै प्रवृति बोकेका र एउटै अभिष्ट बोकेका व्यक्तिको कब्जामा थियो सिंगो आदिवासी आन्दोलन थियो । त्यो आन्दोलन कहिले साम्प्रदायिक जस्तो देखिने, काहिले बाहुन क्षेत्रीविरुद्ध देखिनेखालको थियो । त्यो आन्दोलनलाई म अध्यक्ष भएपछि मैले साम्प्रदायिक बन्न दिइँन । यसलाई मूलधारमा लैजाने अभियान चलाएँ ।

यो कुनै बाहुन क्षेत्री वा कुनै जाति समुदाय विरुद्धको आन्दोलन होइन भनेर मैले अभियान चलाएको उनीहरुलाई पचेको थिएन । मैले डलर कुम्ल्याउने प्रवृतिको बिरोध गरेँ । मेरो फरक बिचारकै कारण उहाँहरुलाई तनाब भयो । अहिले पनि पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलन माओवादीको अवैध सन्तान हो, यसमा जनजाति सहभागी हुँदैनन् भनेँ । उनीहरुको आन्दोलनमा जनता गएनन् । त्यसैले विक्षिप्त भएर यस्ता उट्पट्याङ घोषणा गरेका हुन् ।

आदिवासी जनजाति महासंघलाई तपाईले आन्दोलनमा जान दिनुभएन रे नि त, त्यसैले कालो सुचीमा राखिएको भन्ने कुरा आयो नि ?

– आदिवासी जनजाति महासंघ आन्दोलनमै छ । तर, एकल जातीय राज्यको पक्षमा महासंघ छैन । माओवादीको वा ३० दलीय मोर्चाको आन्दोलनमा महासंघ जान सकेन । महासंघ सबैको साझा भएकाले नसकेको हो । आदिवासी जनजाति महासंघलाई कमाइ खाने भाँडो बनाएकाहरुको खाने मेलो बन्द भएकाले उनीहरुले हाम्रो बिरोध गरेका हुन् । आदिवासी जनजातिभित्र पनि सबैभन्दा शोषित पीडित थारुको बच्चा भएका कारण मेरो विरोध उनीहरुले गरे ।

नागेन्द्र कुमाल र पेम्बा भोटे पनि अल्पसंख्यक समुदायका भएका कारण उनीहरुलाई पचेन । आदिवासीभित्रै सीमान्तकृत समुदायलाई शोषण गरेर बसेका निश्चित जातिले महासंघलाई आफ्नो बिर्ता ठानेका थिए । केही टाठाबाठाले जनजातिका नाममा लुट मच्चाउँदै आएका छन् । यो गिरोहको पर्दाफास हामीले गर्न थालेपछि उनीहरु तर्सिएका हुन् । खाइपाइ आएका सबै सुविधा खोसिएपछि तिल्मिलाएर अनेक हर्कत गर्दैछन् ।

खाइपाई आएका सुविधा भन्नाले के खोसियो ?

– महासंघको नाममा डलर कमाउनेहरुको अहिले त्यहाँ केही चल्दैन । महासंघले विदेशीसँग हात थापेर काम गर्दैन भनेर मैले भनेँ । जनजाति महासंघ, जनजाति प्रतिष्ठान जस्ता संस्थामा उहाँहरुको हालीमुहाली भत्कियो । त्यसैले अहिले विभिन्न नाममा चन्दा उठाउने धन्दा उनीहरुले चलाइरहेका छन् । महासंघको नाममा चन्दा उठाउन नपाइने भएपछि तुलाधरको नाममा मोर्चा बनाएर विदेशी शक्ति र विदेशमा रहेका आदिवासी जनजातिहरुबाट चन्दा असूल्ने मेला गरिरहेका छन् ।

वास्तवमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन भनेको महासंघमा बसेर २० वर्षसम्म लुट मच्चाएकाहरुले चन्दा उठाउन गरेको आन्दोलन हो । यो आदिवासी जनजातिको आन्दोलन नै होइन । जनजातिको आन्दोलन भए त आदिवासी समुदाय सहभागी भइहाल्थे नि । उनीहरुले चन्दा असुल्न बनाएको मोर्चा हो । चन्दा उठाउँछन् खान्छन्, त्यसको बिरोध गर्नेलाई कालोसूचीमा राख्छन् त्यति हो । उनीहरुले विदेशमा चन्दा उठाउन ठूलो गिरोह नै परिचालन गरेका छन् । पहिचानको अमूर्त कुरा गरेर हुन्छ ? पहिचानका नाममा चन्दा उठाउने मेलो भइरहेको छ । हामी उनीहरुको भण्डाफोर गर्छौं ।

अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *