लेखक, साहित्यकार तथा पत्रकार लक्की चौधरीको पछिल्लो कृति नेन्धर (कविता संग्रह) हालै बजारमा आएको छ। यसअघि चार कृतिका स्रष्टा लेखक तथा साहित्यकार चौधरीको यो पाँचौ कृति हो। यसअघि उनले दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय, एउटा लेख संग्रह प्रकाशनमा आइसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा कलम चलाउन विशेष रुची राख्ने लेखक, साहित्यकार तथा पत्रकार चौधरी थारु भाषा, साहित्य तथा संस्कृतिमा दख्खल राख्छन्। राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका चौधरीले ‘जर्नालिज्म डेभपलेपमेन्ट्स’मा हाल स्नातकोत्तर गरिरहेका छन्। थारु मातृभाषासँगै नेपाली भाषा साहित्यको पनि चौधरीले उत्तिकै ज्ञान राख्छन्।
कैलालीको धनगढीबाट २०५९ सालदेखि थारु भाषामा प्रथम दैनिक पत्रिका हमार पहुरा प्रकाशनारम्भ गरी थारुभाषा साहित्यको श्रीबृद्धिमा उनले अतुलनीय योगदानको शुरुवात् गरे। त्यसको आलावा साप्ताहिक, पाक्षिक तथा वार्षिक पत्रपत्रिकाको सम्पादनमा पनि उनी व्यस्त रहँदै आएका छन्। समुदायको संस्कृतिको जग भाषाबाटै शुरुहुने मान्यता राख्ने साहित्यकार चौधरीले मातृभाषा साहित्यमा विशेष रुची राख्छन्। कैलालीको उर्मा –४, रामपुरमा जन्मिएका साहित्यकार चौधरी अहिले काठमाडौंमै कार्यस्थल बनाई गोरखापत्र दैनिकमा कार्यरत छन्।
२०७१ जेठमा प्रकाशित नेन्धर कृतिमा उनले विभिन्न समयमा लेखिएको समसामयिक कविताहरु समेटेका छन्। जम्मा ५१ वटा मातृभाषामा लेखिएका कविताहरु पाठकको मन तान्नेखालका छन्। शिक्षा, साहित्य, संस्कृति, राष्ट्रियता, माया पिरती, समाज रुपान्तरणमा टेवा पुर्याधउनमा उर्जादिने खालका कविताहरु यस कृतिभित्र समेटिएका छन्। थारु समुदायले विवाह गर्दा दुई पटक गर्नुपर्ने सांस्कृतिक पक्षलाई यस कृतिमा कविता मार्फत् कवि चौधरीले विशेषरुपले उल्लेख गरेका छन्। नेन्धर (विवाह) प्राय थारु समुदायले फागुनमा गर्ने भएपनि नेन्धर मंसिरमा मात्रै गर्ने गर्छन्। nendhar cover
फागुनमा दुलही ल्याए पनि माइतमा फर्काउने र नौ महिनासम्म दुलहा दुलहीको बीचको प्रेम गाढा बनाएर मात्रै मंसिरमा नेन्धर गरी दुलहीलाई घरमा भित्र्याउने थारुको संस्कृतिलाई चौधरीले यस कृतिमा उजागर गरेका छन्। कृतिमा अगहनिया नेन्धर, सवनियाँ, आइल फगुना, राष्ट्रियता ना लुटो, पहिल प्रेम, मुक्तिक पीडा, ए दशिया, भाषक् जग, मोर दाई, भानुक् सम्झना, लोकतन्त्र, संविधान, सरकार, समता समाज, संस्कृति, डेवारी, गुरुवा, किसन्वा, मघौटा लहान, चुनाउ, प्रतिवद्धता, का हो गणतन्त्र?, सम्बन्ध, प्रतिवद्धता, पूर्खा, नेन्धर, बेहरक् मेला, लावा वरष, चोखा माया, सुदूरपश्चिम लगायतका ५१ वटा समसामयिक कविताहरु समेटिएका छन्। कविताहरु जनजीवनसँग ओतप्रोत रहेकाले कृतिलाई वजनदार बनाएको महशुस हुन्छ।
लेखक, साहित्यकार तथा पत्रकार लक्की चौधरीको यस पछिल्लो प्रकाशित कृतिले थारु समुदायको भाषा, संस्कृति, कला र थारु जीवनलाई चरितार्थ गरेको छ। कृतिमा वरिष्ठ साहित्यकार डा. गंगा उप्रेती तथा गजलकार ज्ञानुवाकर पौडेलको भूमिका रहेको छ। भूमिकाकारद्वयले साहित्यकार चौधरीलाई भविष्यका जुझारु तथा प्रगतिशील कृतिकार तथा स्रष्टाको दर्जा दिएका छन्। थारु भाषामा प्रायः कलम चलाउने लेखक तथा साहित्यकार चौधरीको सृजनशीलता, भाषा र संस्कृतिप्रतिको प्रेमले अन्य लेखक तथा स्रष्टाहरुलाई पनि आफ्नो भाषा संस्कृतिमा कलम चलाउन उत्साहित गर्ने विश्वास भूमिकाकारहरुको छ। कृतिकार चौधरी मातृभाषाका साथसाथै नेपाली भाषा साहित्यमा पनि अब्बल युवा कृतिकारका रुपमा चिनिएका छन्। गोरखापत्र दैनिक अन्तर्गतको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ का संयोजक समेत रहेका कृतिकार चौधरीको विष्य उज्ज्वल छ भूमिकाकारहरुको विश्वास छ। गोरखापत्रमा हाल ३० भाषा पृष्ठहरु नियमित प्रकाशनमा छन् भने थप १५ भाषा प्रकाशनको तयारीमा छन्।
प्रस्तुती : गीता चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *