Chankhi-chaudaey

ठाकुरसिंह थारु- २०५९ कात्तिक ९ गतेको बिहान बाँकेको महादेवपुरी-५, ढकेरीकी चंखी चौधरीलाई नखाएको विष लाग्यो । छेमेकी कमल गिरीको घरपालुवा पशु मर्‍यो । चंखीलाई बोक्सीको आरोप लगाए र कुटपिट गरे । गाउँले पनि उल्टै गिरीतिरै लागे । पञ्च बसेर पनि उनलाई नै दोषी देखायो । गाउँ निकाला गर्न खोज्यो ।

तर चौधरी ‘गलिनन्’ । डटिरहिन् । अदालतको शरणमा पुगिन् । गाउँबाट लखेट्न खोजियो भन्दै न्याय खोजिन् । अदालतले मुद्दाको सुनुवाइ गर्‍यो, भन्यो- चौधरीलाई हेला नगर्नू, गाउँबाट नलखेट्नू । अदालतले गाउँलेलाई सजाय नगरेकामा चाहिँ उनको चित्त दुःखाइ थियो । ‘मलाई त्यति धेरै दुःख दिने मान्छेलाई जेल सजाय हुनुपर्‍थ्र्यो । भएन,’ उनले भनिन् ।

अदालतको सुनुवाइले उनलाई गाउँमै संघर्ष गर्ने बल मिल्यो । गरिब भएकाले हेपिएको महसुस गरेर कुखुरा र बाख्रा पाल्न थालिन् । कमाइ राम्रै हुन थाल्यो । नयाँ घर बनाइन् । अनि त, हिजो विरुद्धमा लागेका गाउँलेको पनि हेर्ने दृष्टिकोण नै बदलियो । अनि त दिन यस्तो आयो कि, उनलाई बोक्सीको आरोप लगाएर गाउँ निकाल्न खोज्ने गिरी नै घरजग्गा बेचेर बसाइँ हिंडे । ‘मलाई विश्वास थियो, ममाथि लगाइएको आरोप गलत साबित हुनेछ । तर, धेरै वर्ष कुर्नुपर्‍यो । अनेक समस्यासँग एक्लै लड्नुपर्‍यो,’ उनले सुनाइन्, ‘ममाथि आरोप लगाउने व्यक्ति गाउँ छोडेर भाग्नुपर्‍यो । अब त कसैले हेप्न सक्दैन ।’

बोक्सी आरोप लगाएको घटना सम्झँदा अहिले पनि चौधरीलाई दुःखी बनाउँछ । ‘मलाई घरमै आएर कुटपिट गरियो । तर, म हारिनँ,’ उनले विगत सम्झिइन्, ‘त्यस्तो अवस्थामा पनि गाउँलेले सहयोग गर्नुको साटो उल्टै हेला गरेपछि लामो समयसम्म गलत संस्कारविरुद्व लड्नुपर्‍यो ।’

दाङ माइती भएकी चौधरी सानोमा कमलरी बसेकी थिइन् । त्यतिबेलै पिठ्युँमा घाउ आयो । उपचार गर्न नपाएकाले उक्त घाउ अहिले पनि बिगि्रएको स्वरूपमा छ । ‘सानो छँदा अरूको घरमा काम गरेँ । आर्थिक अवस्था कमजोर भएकाले बाआमाले शरीरमा आएको सानो घाउको उपचार गर्न सक्नुभएन । जीउ बिगि्रयो,’ चंखी भन्छिन्, ‘जीवनभर संघर्षमै बित्यो ।’ तर पनि अहिले उनी सन्तुष्ट छिन् । ‘बोक्सी आरोपमा कुटपिट गरेपछि जता गए पनि नराम्रो दृष्टिकोणले हेर्थे । घरबाहिर हिँड्न सक्ने अवस्था थिएन,’ उनको भनाइ छ, ‘तर पनि हिम्मत हारिनँ । अहिले जितें ।’ यस जितको जस उनी श्रीमान् मोतीराम चौधरीलाई दिन्छिन् । ‘दुश्मनहरूले धेरै सताए । समुदायमा स्थापित हुन १० वर्षभन्दा बढी समय लाग्यो,’ मोतीरामले भने, ‘अहिले हेप्न छोडेका छन् ।’ उनीहरूको एक छोरा पोखरामा अध्ययनरत छन् । छोरी हालै नेपाल प्रहरीमा भर्ना भएकी छन् ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *