akshya kumarबलिउडमा ‘खेलाडी’ का नामले चर्चित छन्, अक्षय कुमार। ‘एक्सन हिरो’को रूपमा करिअरको सुरुवात गरे पनि उनको ‘रोमान्टिक हिरो’ को छवि र ‘कमेडी’लाई पनि दर्शकले त्यति नै मन पराएका छन्। मध्यमवर्गीय परिवारमा जन्मेका थिए उनी। छोरो एक दिन बलिउडको ‘सुपरस्टार’ बन्छ भन्ने सरकारी जागिरे बुवाले सपनामा पनि सोचेका थिएनन्। उनको वास्तविक नाम राजीव हरिओम भाटिया थियो। अमृतसरमा जन्मेका उनी बाल्यकालमै मुम्बई सरेका थिए। सानैदेखि डान्स र कलामा रुचि राख्ने उनी तेक्वान्दोमा पनि दक्खल राख्थे। तेक्वान्दोमा ब्ल्याक बेल्ट हासिल गरेपछि मार्सल आर्टको तालिम लिन उनी थाइल्यान्डतिर लागे। थाइल्यान्डमा उनले पहिला वेटर र पछि कुकको काम गरेर आफ्नो गर्जो टारेका थिए। ‘त्यो काम गर्दा मैले धेरै अपमान सहनुपरेको थियो,’ एक अन्तरवार्तामा अक्षयले भनेका थिए, ‘तर, हरेक मानिसले यसरी नै अनुभव बटुल्छ। ती दिनले मलाई जीवन जिउने पाठ सिकाएका छन्।’
मार्सल आर्टको तालिम सकिएपछि उनी मुम्बई फर्किए र मार्सल आर्ट सिकाउन थाले। यसैबीच उनको एउटा विद्यार्थी, जो फोटोग्राफर पनि थियो, ले अक्षयलाई मोडलिङ गरायो। दुई घण्टाको फोटोसुटबाट उनले पाँच हजार भारु कमाए। जब कि त्यतिबेला उनको मासिक आम्दानी चार हजारमात्र थियो। मोडलिङमा बढी पैसा देखेर अक्षयको ध्यान त्यतातिर तानियो। यही उनको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ साबित भयो।
वेटर, कुक, मार्सल आर्ट गुरुदेखि बलिउडसम्मको यात्रा अक्षयका लागि सजिलो भने पक्कै पनि थिएन। फिल्ममा काम पाउनका लागि उनले निकै संघर्ष गर्नुपर्योआ।
सन् १९९० मा राजेश खन्नाले ‘जय शिव शंकर’ फिल्म बनाउने घोषणा गरेको थिए। कामका लागि निर्माता–निर्देशकको दैलो चहार्दै गरेका अक्षय पनि राजेश खन्नाकोमा पुगेका थिए। खन्नालाई भेट्न जाँदा उनी आफ्नो केबिनमा थिए र काम माग्न आएका अरू केटाहरूसँग व्यस्त थिए। अक्षयले तीनचार घण्टासम्म पालो कुरे  तर उनको नम्बर आएन। अक्षय त्यहाँबाट निराश फर्किए। यसरी भेट्न नपाई रित्तो हात राजेश खन्नाको अफिसबाट फर्केका अक्षय भविष्यमा उनकै ज्वाइँ बने। निर्माता निर्देशक प्रमोद चक्रवर्तीले उनलाई पत्याए र फिल्म ‘दिदार’ मा हिरोको रोल दिए। तर, उनको पहिलो रिलिज फिल्म भने ‘सौगन्ध’ थियो। उनका सुरुका  फिल्म एकपछि अर्को असफल भएका थिए। एक्सन थि्रलर फिल्म ‘खिलाडी’ ले उनलाई वास्तविक पहिचान दिलायो। फिल्म सुपरहिटमात्र भएन यसपछि अक्षय ‘खिलाडी’ टाइटलका ब्रान्ड एम्बेसडरजस्तै भए। खेलाडी शंृखलाका सबै फिल्ममा भरपूर एक्सन थियो, जसमा धेरैजसो स्टन्ट अक्षय आफैँले गरेका थिए। ‘खिलाडियोँ का खिलाडी’, ‘सबसे बडा खिलाडी’, ‘इन्टरनेसनल खिलाडी’ जस्ता फिल्मले बलिउडमा अक्षय कुमारलाई एक्सन हिरोका रूपमा स्थापित गरिदियो। सन् १९९४ मा आएको ‘मोहरा’ फिल्मलाई अक्षयको करिअरका सबैभन्दा राम्रा फिल्ममध्ये एक मानिन्छ।
एक्सनका साथै उनले रोमान्टिक फिल्ममा पनि काम गरेका छन्। फिल्ममा एक्सन र रोमान्स दुवैलाई सही ढंगले प्रस्तुत गर्न उनी खप्पिस छन्। उनको यही क्षमताले उनलाई बलिउडका टप हिरोको श्रेणीमा पुर्यासयो। सन् १९९७ मा यश चोपडाको ‘दिल तो पागल है’ रोमान्टिक फिल्मका सहअभिनेताको रूपमा उनी पहिलो पटक ‘फिल्म फेयर अवार्ड’मा नोमिनेसनमा परे। ‘संघर्ष’ र ‘जानवर’ फिल्ममा उनको कामको धेरैले प्रशंसा गरे।
एक्सन फिल्ममा करिअर ओरालोतिर लागेपछि उनले कमेडीमा आफ्नो सिक्का जमाउन खोजे। एक्सन फिल्ममा हानमार र स्टन्ट गर्दै गरेका देखिने अक्षयले ‘हेराफेरी’ मा राजुको भूमिकामा दर्शकलाई पेट मिचीमिची हँसाए। त्यसै वर्ष उनको अर्को फिल्म ‘धड्कन’ पनि हिट भयो। ‘मुझसे शादी करोगी’ मा उनी सलमानसँग कमेडी गर्दै देखापरे। यसपछि अक्षयका गिन्ती यस्ता कलाकारका रूपमा हुन थाल्यो, जसले सबै किसिमका भूमिका गर्न सक्छ। यही उनको ठूलो सफलता थियो। यसका लागि उनले १७ वर्षसम्म मेहनत गरे। करिअरको सुरुवातमा धेरैले उनलाई ‘आया राम, गया राम’ जस्तो हिरो ठान्थे। तर, उनले असफलताको स्वाद चाख्दै सफलतासम्मको यात्रा गरे र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाए। मुम्बईको षडमुखानन्द हलमा समूहमा एक नृत्य प्रस्तुतिबापत सय रुपैयाँ पारिश्रमिक कमाएका अक्षयका फिल्मले अहिले करौडौँ कमाउने गरेका छन्।
रिल लाइफमा रोमान्टिक हिरोको भूमिका गर्ने अक्षय रियल लाइफमा पनि प्रेमी मिजाजका कारण सदैव चर्चामा रहिरहे। रविना टन्डन, रेखा, आयशा जुल्का, पूजा बत्रा, शिल्पा सेट्टी, प्रियंका चोपडाजस्ता हिरोइनसँग उनको नाम जोडियो। तर, उनले रिल लाइफकी पार्टनरलाई आफ्नो रियल लाइफको पार्टनर बनाए। उनले बलिउडको प्रख्यात जोडी राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्वीङ्कलसँग बिहे गरे। करिअरको सुरुवातमै उनी ट्वीङ्कलको प्रेममा परिसकेका थिए। ‘इन्टरनेसनल खिलाडी’ को सेटमा उनीहरू एकअर्काप्रति आकर्षित भए। त्यतिबेला सुरु भएको उनीहरूबीचको आकर्षण फिल्म ‘जुल्मी’ मा प्रेममा परिणत भयो। लामो समयको अफेयरपछि उनीहरूले सन् २००१ मा चुपचाप बिहे गरे। समारोहमा परिवारका सदस्यमात्र उपस्थित थिए। अक्षय र ट्वीङ्कललाई बलिउडमा आदर्श दम्पती मानिन्छ।
सन् २००१ मा ‘अजनबी’ मा नेगेटिभ रोलका लागि उनले फिल्म फेयर अवार्ड जिते। ‘बेस्ट भिलेन’ मा उनले अवार्ड जितेका हुन्। यस्तै, सन् २००६ मा उनले फिल्म ‘गर्म मसाला’ का लागि ‘बेस्ट कमेडियन’ तर्फ फिल्म फेयर अवार्ड जितेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *