Lekhi + biplob

माघ ८ कै दिन पारेर नेपाली राजनीतिका दुई चर्चित हस्तीले संविधानसभा विघठनको माग राखेका छन् । नेकपा माओवादीका नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय नागरिक पार्टी (नेपाल) का राजकुमार लेखीले संविधानसभा विघठनको माग राखेका हुन् । दुवै फरक राजनीतिक धारका हुन् तैपनि एकै खाले माग राखेका छन्

लेखीले आज संविधानसभा भवन नजिकै आदिवासी जनजाति महासंघले गरेको सभामा आज राति १२ बजेपछि संविधानसभा विघठन हुनुपर्छ भन्दा तालिको गड्गडाहट आएको थियो ।

महासंघका सल्लाहकार समेत रहेका लेखीले आज राति १२ बजे उपरान्त सभासद्लाई तलब भत्ता नदिन माग गरे । उनले भने, ‘आज राति उताको तलबभत्ता लिन पाईंदैन, पछि हामी लिने र दिने दुवैलाई कारबाही गर्छाैं ।’ उनले यसो भन्दा पनि करतल तालि बजेको थियो ।

विप्लवले चाहिँ आज विज्ञप्ति दिएर संविधानसभा विघठनको माग गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘नयाँ संविधान माओवादी र संसदवादी दलहरु बीचमा भएका राजनीतिक सहमतिमा लेखिनुपर्दछ । हालको कथित संविधानसभा सहमति विपरीत गठन गरिएको सभा हो । तसर्थ यो संविधानसभा भङ्ग गरिनुपर्दछ ।’

उनले अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठनको पनि माग गरेका छन् ।

विप्लवले एमाओवादीलाई चुनौती दिँदै विज्ञप्तिमा लेखेका छन्, ‘एमाओवादी र अन्य राजनैतिक दलहरु यदि जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुन भने तत्काल संविधानसभा त्यागेर जनतामा फर्किउन् भन्ने हाम्रो आग्रह छ ।

विप्लव र लेखी फरक राजनीतिक धारका हुन् तैपनि दुवैले एकैखाले माग अगाडि सारेका छन् । लेखीले भने संविधानसभाको नयाँ चुनावको माग गरेका छन् भने विप्लवले राष्ट्रिय राजनीतिक सभाको माग गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *