Tharu Protest at gokarna resort-4

तीन दलको गोप्य वैठकमा विदेशी प्रतिनिधिहरु पनि संलग्न भएको आशंका एकथरि नेताहरुले व्यक्त गरेका छन्। उनीहरुले विदेशी सहित वार्ता गरेको हुनाले नै सिंहदरबारमा हुने गरेको वैठक एकान्तमा रहेको गोकर्ण रिसोर्टमा सारिएको आरोप लगाएका छन्। यस्तो आरोप राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले लगाएका हुन्।

तीन दलको गोप्य वैठक भएको गोकर्ण रिसोर्ट अगाडि थारु कल्याणकारिणी सभाले गरेको विरोध प्रदर्शनमा उनले सो आरोप लगाएका हुन्।

रिसोर्ट अगाडि प्रदर्शन गर्दै थारु तथा आदिवासी जनजाति नेताहरुले संविधानसभाको अवज्ञा नगर्न र तराईमा बहुप्रदेश बनाउन माग गरेका छन्।

बैठक सकेर तीन दलका नेताहरु बाहिर निस्कँदा उनीहरुले विरोधमा चर्काे नारा पनि लगाएका थिए।

Tharu Protest at gokarna resort-3

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै लेखीले भने, ‘बैठक बस्न सिंहदरबारमा ठाउँ थिएन ? संविधानसभा भवनमा धेरैवटा हल छ, त्यहाँ बस्न मिलेन ? रिसोर्टमै बैठक गर्नुको कारण के हो ?’

लेखीले विदेशी प्रतिनिधिहरुको पनि सहभागिता भएकाले रिसोर्टमा गोप्य बैठक गरिएको हुनसक्ने बताए। उनले भने, ‘विगत संविधानसभा कालमा शीर्ष नेताहरुको वैठकमा विदेशीका प्रतिनिधि पनि बस्ने गरेको पछि खुलासा भएको थियो। यो गोकर्ण बैठकमा पनि विदेशी प्रतिनिधिहरु रहेको हामीलाई शंका लागेको छ। नत्र किन रिसोर्टमा आएर वैठक गर्नुपरयो ?’

Tharu Protest at gokarna resort-2

उनले तीन दललाई आपसी विवादका नाममा विदेशी शक्तिको इशारामा ननाच्न चेतावनी पनि दिए।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले भने, ‘हामीलाई पहिचान सहितको संघीयता चाहिएको हो र त्यस्तो संविधान होटल रिसोर्टमा होइन संविधानसभामै बन्नुपर्छ।’

होटल रिसोर्टमा बसेर बनाइएको संविधान अमान्य हुने भन्दै कुमालले भने, ‘संघीय लोकतान्त्रिक संविधान बनाउन के सहयोग गर्नुपर्छ हामी आदिवासी जनजातिले सहयोग गरिरहेका छौं र आगामी दिनमा पनि गर्छाैं तर ब्राम्हणवादी संविधान बनाउने षडयन्त्रको तानाबाना नबुनियोस्।’

कुमालले षडयन्त्रका भरमा संविधान बनाउने प्रयास गरिए दुर्भाग्य हुने बताए। उनले भने, ‘आदिवासी जनजाति मैत्री संविधान नबनाउने, जालझेल गरेर संविधान बनाउने प्रयासका विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ सडकमा उत्रँदैछ, आन्दोलनको आँधीबेहरी सामना गर्न शासकहरु तयार भए हुन्छ।’

Tharu Protest at gokarna resort-1

प्रदर्शनमा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले बन्द कोठामा होइन खुला रुपमा लोकतान्त्रिक संविधान बनाउन माग गरे। उनले भने, ‘हामीले लोकतान्त्रिक संविधान चाहेका हौं। त्यसैले जनताले मत दिएर संविधानसभा निर्माण गरिएको छ। संविधानसभाबाट संविधान ल्याउनु जनताको माग हो। संविधानसभालाई अवज्ञा गर्ने काम नगरियोस्।’

उनले संविधानसभा सार्वभौम भएकाले त्यहाँबाट बन्ने संविधान मात्र मान्य हुने बताए। आफूहरु दलीय वार्ताको विरोधी नभएको तर अवांछित ढंगले गरिने बैठकको भने विरोध गर्ने उनले बताए।

विरोध प्रदर्शनमा आदिवासी जनजाति नेताहरुले होटल रिसोर्टमा वैठक गरे आगामी दिनमा झन चर्काे विरोध प्रदर्शन गर्ने बताएका छन्।

न्युजभित्ताबाट साभार/ तस्बिरहरु : रामलाल चौधरी/नागेन्द्र कुमालको फेसबुकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *