Bijay kumar GAchdar and Laxman Tharu

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण थारुले पार्टीको राजनीतिक समितिमा पार्टी नाम फेर्ने प्रस्ताव लगेका हुन् ।
पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कुरा गरेपछि नेता थारुले पार्टीलाई राष्ट्रिय पार्टी बनाउने हो मधेशीको ‘ट्याग’ हटाउनु पर्ने बैठकमा राखेको पार्टीका एक नेताले रातोपाटीलाई बताए । दुईसाताअघि पार्टीको वार्षीक उत्सव कार्यक्रममा लक्ष्मण थारुले सार्वजनिक रुपमै पार्टीको नाम फेर्ने धारणा राखेका थिए । सोही कुरालाई लिएर बुधवार साँझ बसेको राजनीतिक समितिको बैठकमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले आपत्ति जनाएपछि नेता थारुले नाम फेर्ने प्रास्ताव औपचारिक रुपमै पार्टीमा लगेका हुन् ।

मधेशको विरुद्धमा आन्दोलन गर्दै आइरहेका थारुले पार्टीमा छिर्ने वित्तिकै पार्टीको नाममा ‘मधेश’ शब्द राख्न नहुने कुरा राख्दै आएका थिए तर यो पार्टी मधेश आन्दोलनको सेन्टीमेन्टबाट बनेको भन्दै थारुको कुरालाई नजर अन्दाज गर्दै आएका थिए । मधेशी सेन्टीमेन्टको पार्टीमा भएपनि त्यहाँ थारु समुदायको बर्चस्व रहेको कारणले लक्ष्मण थारुले पार्टीकै नामै फेर्नेसम्मको प्रस्ताव ल्याउन आँट गरेको पार्टी स्रोतको दावी छ । यसअघि सोही पार्टीमा रहेका तिलक रावल (हाल पार्टीबाट अलग) ले पनि पार्टीको नाम फेर्ने प्रस्ताव ल्याएका थिए । तर रावल पहाडी समुदाय र त्यसमा पनि जनाधार नभएका नेता भएका हुनाले सो प्रस्तावमाथि कुनै सुनुवाई भएन ।

तर पार्टीमा थारुको बाहुल्यता रहेकोले लक्ष्मण थारुले ल्याएको प्रस्तावमाथि छलफल हुने संभावना बढेको पार्टीले जनाएको छ । पार्टीका उपाध्यक्ष आशा चतुर्वेदीले भने नाम फर्ने सम्भव नभएको बताए । उनले भने्–कसैले आफूलाई जन्माएको आमालाई विर्सन सक्छ त, सक्दैन नि त्यस्तै हो मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी । पार्टी मधेशको गर्भबाट जन्मेका हुनाले कुनै पनि हालतमा यसको नाम फेर्न नमिल्ने उनको भनाई छ ।

पार्टीको बैठक भएपछि धेरैले धेरै किसिमका कुराहरु ल्याउँछन् तर सबै कुरा लागु नै हुनुपर्छ, सबैमा छलफल नै हुनुपर्छ भने छैन, कतिपय कुरा अकाटय हुने गरेका हुनाले पार्टीको नाम परिवर्तन गर्ने काम कुनै पनि हालतमा नहुने दावी गरे ।

रातोपाटीबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *