काठमाडौँ- एकीकृत नेकपा(माओवादी)सहितका पाँच राजनीतिक दलले राष्ट्रिय हितविपरित भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौता कुनै पनि हालतमा अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ ।
पाँच पार्टीको कार्यगत एकता समितिको आज नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा बसेको बैठकले सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी एकपक्षीयरुपमा गर्न लागिएको सम्झौता राष्ट्रघात हुने ठहर गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो ।
विद्युत् व्यापार समझौता मुलुकका लागि आवश्यक भएपनि भारतीय पक्षको प्रस्तावलाई स्वीकार गर्ने र नेपालको हितलाई केन्द्रमा नराख्ने प्रवृत्ति गलत र नाजायज भएको भन्दै त्यस्तो कार्य जारी राखिए जनपरिचालन गर्नेसम्मको निर्णय बैठकले गरेको उहाँको भनाइ छ ।
बैठकले ऊर्जा, जलस्रोतलगायत विषयमा बृहत अन्तक्र्रिया गर्ने र सरकारलाई दबाब दिने प्रस्तावसमेत पारित गरेको छ ।
यस्तै सरकारले निकट भविष्यमा नै गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौताका विषयमा पनि सरोकारवाला पक्षसँग विस्तृत छलफल गर्न र राष्ट्रहितलाई ख्याल गर्न आग्रह गरेको छ ।
सबैभन्दा सस्तो आयोजना नेपालले नै निर्माण गर्नसक्ने अवस्थामा भारतलाई दिने कुरा तर्कसङ्गत र न्यायसङ्गत हुन नसक्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।
बैठकमा एकीकृत नेकपा(माओवादी), नेकपा–माओवादी, नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा(एकीकृत)का शीर्ष नेताको सहभागिता थियो । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *