at chitwan tharu lady

चितवनको गौरव र गरिमामय प्रस्तुती ‘चितवन महोत्सव–२०७१’ आजदेखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री शुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरुहुनु अघि विहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिने मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए ।

महोत्सवमा पुन दुई नयाँ कार्यक्रम थपिएको छ । विहीबारको निर्णय अनुसार महोत्सवमा सानो चिडियाखाना (मिनी जू) र डुंगा दौड प्रतियोगिता थप गरिएको हो ।

यसपटक प्रदर्शकको चापका कारण स्टलसंख्या थपेर ४ सय ९० पुर्याईएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजको दावी छ । महोत्सवमा नयाँ कार्यक्रम ‘हेल्दी बेबी’ प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने भएकाले यसपटक रौनक बढ्ने महोत्सव प्रबद्र्धन समितिका संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।

उद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवलाई उच्च स्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव परिसर निर्माण समितिका संयोजक राजु श्रेष्ठले बताए ।

यसपटक महोत्सवमा सूचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १०, होटलमा २० र अटोमा १९ स्टल राखिएको छ । ६ विशेषसहित अन्यमा बैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैंरसरकारी संस्थाहरु, महिला समूह चितवनमा आधारित उद्योगहरुका स्टल रहेको छ । चितवनको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजित महोत्सवमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमीसहित विशेष प्रदर्शन गर्न लागिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए ।

यसवर्ष पर्यटन र उत्पादित सामाग्रीको गुणस्तर व्यबस्थापन, पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार हुने तथा आर्थिक विकासमा जिल्लाका १३ जना सभासदहरुसँग अन्तरक्रिया समेत हुने गोष्ठी संयोजक डा तीलचन्द्र भट्टराईले बताए ।

२९ गते ‘हेल्दी बेबी’ प्रतियोगिता ,माघ ३ र ४ गते तिसा ज्वेल्स एण्ड डायमण्स्को विशेष प्रदर्शन गरिने आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले बताए ।

महोत्सव अवधीमा पुस २९ देखि माघ २ गतेसम्म फुड फेष्टिबलसहित खेलकुद कार्यक्रम, र्याफ्टिंग, मोटरवोट , आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन , दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम , कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना हुने छन् । महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने छ । पहिलो र दोस्रो दिन महोत्सवस्थल माथिको आकासमा पाराव्याटिक्स सो गरिने छ ।

२० करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा सर्बसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । महोत्सवको आम्दानी नदी संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *