Kamalari-1

नविन चौधरी, दाङ- बिहान उठेर घरको काम सकेपछि घर निर्माणको काममा दौडन्छिन् घोराही-१ स्यानी अम्बापुरका अस्थायी मुक्त कमैया शिविरकी सावि चौधरी। उनलाई घर निर्माणको काममा लागेदेखि भ्याइ नभ्याइ छ। विगतका दिनमा कमलरी बसेर काम गरेकी उनी अहिले घर निर्माणको काममा लागेर जीवनयापन गरिरहेकी छन्।

पुरुषहरुसँगै उनी घर निर्माणको लागि धेरै ठाउँमा जाने गर्छिन्। उनको लागि सो काम दिनचर्या नै बनेको छ। घरमा आर्थिक संकट नहोस् भनेर मिस्त्रीको काम सुरु गरेको उनले बताइन्। चाहे ढलान घर होस् वा कच्ची इट्टाको घर। उनी सजिलै बनाउन सक्छिन्।

Kamalari-2

घरको जग खन्नेदेखि लिएर गाह्रो मिलाउने, ढोका राख्ने, झ्याल राख्नेलगायतको काम सिकेको उनले बतायन्। काम गरेबापत उनी दैनिक ४ सय रुपैयाँ कमाउँछिन्। ‘सीप सिकेदेखि यही कामबाट जीविकोपार्जन गरिरहेकी छु। बालबच्चालाई पढाउनेदेखि लिएर सम्पूर्ण घर खर्च यसैबाट चल्छ,’ उनले भनिन्।

उनीजस्तै थुप्रै मुक्त कमैया महिलाहरु आफ्नो जीविकोपार्जनका लागि यस्ता काम गरिरहेका छन्। सोही ठाउँका छुकनिया चौधरी पनि मिस्त्री काम सिकेर आफ्नो जीविकोपार्जन गरिरहेको बताइन्। ‘सानैमा पढन पाइएन। साहु महाजन कहाँ काम गर्न जाँदा एकसरो लुगा र मासिक हजार-पन्ध्र सय पाइन्थ्यो। अहिले काम गर्न थालेपछि खाना, लगाउन र आफ्नै घरमा बस्न पाएकी छु,’ उनले भनिन्। पुरुषजस्तै महिलाले पनि जुनसुकै काम गर्न सक्छन् भनेर यो काममा लागेको उनले बताइन्।

Kamalari-3
अहिले उनीहरु जस्तै त्यहाँका थुप्रै महिलाहरु पुरुषसँगै मिस्त्री काम गरेर आफ्नो जीविकोपार्जनलाई सहज बनाइरेका छन्। बेलामा पढन नपाए पनि आफूसँग भएको सीपलाई आयआर्जनको पाटोलाई बलियो बनाउनेमा उनीहरु एकमत छन्।

‘विगतका दिनमा हामी कमलरी बसेर जीवन बितायौं। अहिले घर बनाउने सिप सिकेर गुजारा चलाइरहेका छौं,’ चन्द्रकला चौधरीले भनिन्। उनी पनि सो कामबाट दैनिक ४ सय रुपैयाँ कमाइरहेकी छन्। उनी भन्छिन्- ‘हामी नपढेर के भयो त, आफूसँग भएको सीपलाई सही ठाउँमा प्रयोग गर्न सक्यौं भने मजाले जीवन चलाउन सक्छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *