Rajkumar Lekhi

माघ ८ मा संविधान बनेन भने के हुन्छ ? राजकुमार लेखीले माग गरेका छन्, ‘माघ ८ मा संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ । नयाँ चुनाव गर्नुपर्छ ।’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष लेखीले झिल्कोसँगको वार्तामा भने, ‘हाम्रो पार्टीले संविधानसभा चुनाव बहिष्कार गरेन, हामी चुनावमा सहभागी पनि भएनौं । हामीले संविधान निर्माणका लागि यी दललाई सहयोग गर्दै आएका छौं । तर, तोकिएको समयभित्र संविधान बनाउँदैनन् भने संविधानसभा विघटन गर्नुपर्छ । यसका लागि हामी आन्दोलन गर्छाैं ।’

उनले भने, ‘माघ ८ गते संविधान बनाउँछन् भने हामी फूलको माला लगाइदिन तयार छौं, त्यो दिनसम्म संविधान बनाउँदैनन् र जालझेल गरेर मिति सार्छन् भने यिनलाई ढुंगाले हान्नुपर्छ । संविधानसभामा यिनलाई छिर्न दिनुहुँदैन ।’

संविधानसभाको म्याद चार वर्षको हो, एक वर्षमै कसरी विघटन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘संविधानसभाको म्याद चार वर्ष हुन्छ भनेर जालीफटाहाहरुले संविधानमा लेखेका हुन् । मुख्य दल भनिएकाहरुको शीर्ष कहलिएका नेताहरुको गिरोहले कालो कोठाभित्र बसेर चार वर्षको म्याद संविधानमा लेखेका हुन् । तर, जनताले भोट दिएर पठाएका सभासदले एक वर्षमा संविधान बनाउने भनेर संविधानसभामा निर्णय गरेका छन् । कालो कोठामा केही व्यक्तिले गरेको निर्णय मान्ने कि संविधानसभाले गरेको निर्णय मान्ने ? हामीले संविधानसभाको निर्णय मान्ने हो ।’

दलहरुले एक वर्षमा संविधान बनाउँछौं भनेर मत मागेको बताउँदै लेखीले भने, ‘एक वर्षमा संविधान बनाउँछु भनेर भोट माग्ने, एक वर्षमा संविधान नबनाएर अन्तरिम संविधानमा चार वर्ष लेखेको छ भन्नुजस्तो घोर अनैतिक र बेइमानीपूर्ण काम अरु केही हुन सक्दैन ।’ उनले अगाडि भने, ‘अन्तरिम संविधानमा लेखिएको वाक्य भन्दा जनताको म्याण्डेट ठूलो कुरा हो । अन्तरिम संविधान संशोधन गरेर यी जालीफटाहा गिरोहले संविधानसभाको आयु दस वर्ष बनाउन पनि सक्छन्, अनि हामीले मान्ने त ?’

संविधान बनाएनन् भने माघ ८ भन्दा उता ९ गतेको तलब सभासदले खाए भने जनकारवाही गर्नुपर्ने लेखीले बताए । उनले भने, ‘माघ ८ उता संविधानसभा र सभासदको तलबको बैंक खाता बन्द गर्नुपर्छ । उनीहरुलाई तलब भत्ता भुक्तानी गर्न हुँदैन । संविधानसभाको नाममा त्यसपछि हुने एक रुपैयाँ खर्च पनि अवैध हो ।’

संविधानसभा विघटन गरेर के गर्ने भन्ने प्रश्नमा उनले भने, ‘लोकतन्त्र मान्नेले के गर्ने भनेर प्रश्न उठाउनै हुँदैन । लोकतन्त्र मान्नेले चुनावमा जाने हो । नयाँ जनादेश लिएर आउने हो ।’

बारम्बार संविधानसभा चुनाव गर्न मिल्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘संविधानसभाको चुनाव बारम्बार गर्न हुँदैन, तर, चुनाव कसले गराएको हो ? यिनै नेताहरुको गिरोहले बारम्बार चुनाव गराएका होइनन् र ? यिनले नै संविधान बनाउँछौं भन्दै जनतालाई झुक्याएका होइनन् र ?’

झिल्को डटकमबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *