south asian women's volleyball prize distribution 06

पहिलो दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपको अन्तिम दिन मंगलबार करिब १ हजार ५ सय दर्शकले खचाखच त्रिपुरेश्वरस्थित कभर्डहलको माहोल उत्साहजनक थियो। नेपाल र श्रीलंकाका महिला राष्ट्रिय टोली अन्तिम खेलमा भिड्न तम्तयार थिए। आयोजक नेपाल भलिबल संघले मंगलबार दुई खेलअघि सांस्कृतिक कार्यक्रम राखेको थियो। नेपाली गीतमा अनलज्योति स्कुलका विद्यार्थी नाचिरहँदा नेपाली खेलाडीहरू खेल सकिएजस्तै थकित अनुहारसाथ कोर्टमा छरपस्ट भई बसेका थिए। श्रीलंकाली खेलाडी भने जोशका साथ नेपाली गीतको सुरमा ताल मिलाउँदै जिउ मर्काइरहेका थिए, लाग्थ्यो उनीहरू त्यो खेल जित्नेमा पूर्ण विश्वस्त छन्।

श्रीलंकाली टोलीले खेलअघि देखाएको त्यो आत्मविश्वास कोर्टमा प्रमाणित पनि गर्योय। पहिलो दुई सेट गुमाउनाका बाबजुद श्रीलंकाले हरेस खाएन। त्यसपछि दुई सेट लगातार जित्दै उनीहरूले खेल २–२ को बराबरीमा ल्याए। जसका कारण नेपालको प्रतियोगितामा दोस्रो हुने लक्ष्य पूरा गर्न पाँचौं सेटसम्म कुर्नुपर्योय।

भारत दक्षिण एसियामा सदाबहार महारथी हो। त्यसैले आफैले प्रतियोगिता गर्दा पनि नेपालको पहिलो हुने लक्ष्य थिएन। श्रीलंकालाई हराएर दोस्रो हुनु नेपालले तयारीदेखि नै बनाएको एकमात्र उद्देश्य थियो। मंगलबार प्रतिस्पर्धात्मक खेलमा पाँच सेटसम्म संघर्ष गर्दै नेपालले अन्तर्राष्ट्रिय भलिबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्योस। यसअघि महिला टोलीले आठौं र दसौं दक्षिण एसियाली खेलकुद (साग) मा जितेको कांस्य नेपाली भलिबलको ठूलो सफलता थियो।

श्रीलंकामाथि नेपाली महिला टोलीले विजय पाएका यो पहिलोपल्ट हो। आठौं र दसौं सागमा श्रीलंकाले नेपालमाथि सोझो सेटमै विजय पाएको थियो।

नेपालले दुई सेट २५–२३, २५–२२ ले आफ्नो पक्षमा पार्योी। तर एसियाली भलिबल च्याम्पियनसिपमा नियमित सहभागी श्रीलंकाले त्यसपछि दुई सेट जित्दै खेलमा नयाँ मोड दियो। २५–१९, २५–१४ ले सेट श्रीलंकाले कब्जामा लियो। निर्णायक अन्तिम सेटमा नेपाललाई घरेलु कोर्टको साथ महŒवपूर्ण रह्यो। घरेलु समर्थकलाई खुसी दिँदै १५–१० को नतिजा ल्याउँदा नेपाली महिला भलिबलले सुनौलो इतिहास कोरिसकेको थियो।

प्रतियोगिताकै कान्छी खेलाडी प्रतिभा मालीले श्रीलंकाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन दिइन्। उनले पाँच सेटमा स्पाइकबाट १९ स्कोर गर्दै नेपालको विजयआधार निर्माण गरिन्। सरस्वती चौधरीले स्पाइकबाट ८, ब्लकबाट ३ र सर्भिसबाट १ गरी १२ तथा अरुणा शाहीले ७ स्कोर जोडेका थिए।

२–२ सेटको बराबरी भएपछि अन्तिम सेटमा श्रीलंकाको स्पाइक चल्न सकेन। श्रीलंकाले स्पाइकबाट मात्रै ६ अंक गुमायो। त्यसले नेपाललाई खेल जित्न सहज बनायो। पाँचौं सेटमा नेपालले स्पाइकबाट ५ अंक बटुल्यो। ओपन स्पाइकर प्रतिभाले २, अरुणा, रमिला तण्डुकार र सरस्वती चौधरीले १–१ स्कोर गरे।

च्याम्पियनसिपमा महिला टोलीले आफ्नो लक्ष्य पूरा गरेको प्रशिक्षक सुदेशकुमार रिमाल पनि दंग थिए। उनले भने, ‘हामीले मिहिनेतको फल पायौं। हाम्रो लक्ष्य रजत जित्ने थियो, त्यो पूरा भयो। हाम्रो लागि आज जित ऐतिहासिक हो। तर यसलाई जोगाउनु अबको चुनौती हो।’

महिला भलिबलले २७ वर्षअघि थाइल्यान्डसँग मैत्रीपूर्ण खेलेर नेपालले पहिलो अन्तर्राष्ट्रिय अनुभव बटुलेको थियो। तर तीन दशकको इतिहासमा टोलीले पाँच अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको छ। पछिल्लोपल्ट नेपालले भदौमा माल्दिभ्ससँग तीन मैत्रीपूर्ण खेलेको थियो। जुन आठ वर्षमा महिला टोलीको अन्तर्राष्ट्रिय खेल थियो।

कप्तान बिनिता बुढाथोकीले अवसर पाए नेपालले दक्षिण एसियामा थप उपलब्धि हासिल गर्न सक्ने बताइन्। उनले भनिन्, ‘श्रीलंकालाई हराएर हामीले आफ्नो क्षमता देखायौं। थोरै अन्तर्राष्ट्रिय अनुभवले श्रीलंकालाई हराउनु हाम्रा लागि उपलब्धि हो। यो उपलब्धि पाउन टोलीले धेरै मिहिनेत गरेको थियो। यसका लागि सबैलाई धन्यवाद।’

श्रीलंकाका प्रशिक्षक प्रिमा लालले नेपालसँग हारे पनि टोलीले राम्रो अनुभव बटुलेको बताए। उनले भने, ‘हामीले च्याम्पियनसिपमा राष्ट्रिय टोली खेलाएका थिएनौं। सबै यु–२३ च्याम्पिनयनसिप खेलेका खेलाडी हुन्। हामीले सुरुका सेट गुमाएर राम्रो पुनरागमन गर्यौंन। तर जुनियर खेलाडी भएकाले नेपाली कोर्टमा नर्भस भए।’

उनको बुझाइमा पनि नेपालको खेलमा धेरै सुधार भएको छ। उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय अनुभव हाम्रोभन्दा कम छ। तर उनीहरूले घरेलु प्रतियोगितामा धेरै राम्रो प्रगति गरेका रहेछन्। उनीहरूको स्पिड राम्रो थियो।’

भारत च्याम्पियन

भारतले अपराजित रहँदै प्रथम दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

एउटै सेटमा नहारेको भारतले आफ्नो अन्तिम खेलमा मंगलबार बंगलादेशलाई २५–१३, २५–६, २५–९ को सेटले हरायो। भारतीय टोलीकी प्रशिक्षक मीना माहलिङ्गमले सहजै उपाधि जिते पनि अनुभव बटुल्ने अवसर पाएको बताइन्। उनले भनिन्, ‘च्याम्पिनयसिपमा धेरै नयाँ खेलाडीले खेल्ने अवसर पाए। यसले हाम्रो टोलीलाई अन्य प्रतियोगितामा राम्रो खेल्ने सहयोग गर्छ।’

विजेता भारतले २ हजार डलर र उपविजेता नेपालले १ हजार र तेस्रो भएको माल्दिभ्सले ५ सय डलर प्राप्त गरेका थिए। भारतीय महिला टोलीकी कप्तान टिजी रोजु उत्कृष्ट खेलाडी भइन्। उनले २५ हजार रुपैयाँ थापिन्।

दक्षिण एसियाका पाँच टोलीले प्रतिस्पर्धा गरेको च्याम्पिनयसिपमा नेपालले रजत जित्ने क्रममा माल्दिभ्स र बंगलादेशलाई सोझो सेटमा हराएको थियो। तेस्रो खेलमा नेपाल भारतसँग भने सोझो सेटमै पराजित भयो। बंगलादेशले एक खेल पनि जित्न सकेन।

 कमल खत्री/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *