baijnath-chaudharyकांग्रेस र एमालेका आदिवासी जनजाति सभासदहरुले आफूहरुको हस्ताक्षर दुरुपोग गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघले माघ ४ र ५ गते नयाँ संविधानमा आदिवासी जनजातिका मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भनेर गरेको छलफलमा सहभागी भएको उपस्थिति पुस्तिकाको हस्ताक्षर चोरी गरिएको आरोप उनीहरुले लगाएका छन् । कांग्रेस एमालेका सभासदले आफ्नो हस्ताक्षरलाई गलत प्रयोजनमा दुरुपयोग गरी पार्टीसँग विद्रोह गर्न खोजेको भ्रम पार्न खोजिएको भन्दै महासंघ नेतृत्वमाथि समेत आशंका व्यक्त गरेका छन् ।

‘उपस्थिति पुस्तिकामा गरिएको हस्ताक्षरलाई गलत उद्देश्यबाट दुरुपयोग गरी संविधानसभाबाट संविधान जारी गर्न नदिने गम्भीर षडयन्त्रमूलक उद्देश्यबाट हाम्रो हस्ताक्षर दुरुपयोग गरी प्रधानमन्त्रीलगायत प्रमुख दलका नेतालाई बुझाएर भ्रम फैलाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ आदिवासी जनजाति सभासदहरुले सोमबार साँझ जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

जनजाति सभासदहरुले गलत उद्देश्य र मनसायको खेलवाडको गोटी बन्ने कार्य नगर्न नेपाल आदिवासी जनजाति महासंघलाई ध्यानाकर्षण गराएका छन् । ‘हामी त्यस तुच्छ एवम् निकृष्ट कार्यको निन्दा र भत्र्सना गर्दछौं साथै यस्तो निकृष्ट कार्य नगर्न सचेत गराउन चाहान्छौं’ उनीहरुले भनेका छन् ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेले संयुक्त विज्ञप्तिमार्फत अन्य प्रयोजनमा लिइएको उपस्थितिलाई गलत प्रयोजनमा दुरुपयोग गर्न खोजिएको बताएका छन् ।

तर, दुरुपयोग कसले गर्‍यो भनेर महासंघले केही बोलेको छैन । अध्यक्षक कुमाल कांग्रेस सभासद हुन् भने महासचिव भोटे एमाले सभासद हुन् ।

स्रोतका अनुसार महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका सभासदहरुको उपस्थिति पुस्तिकाको हस्ताक्षर लगेर एमाओवादी अध्यक्ष प्रचण्डलाई बुझाइएपछि विवाद भएको भएको हो ।

प्रचण्ड नेतृत्वको मोर्चाले कांग्रेस एमालेका आदिवासी जनजाति सभासदहरु एकल जातीय राज्यको पक्षमा रहेको भन्दै सम्बद्ध पार्टीका नेताहरुलाई हस्ताक्षरनै देखाएर बार्गेनिङ गरेपछि यो कुरा बाहिर आएको थियो ।

त्यसलगत्तै संविधानसभा भवन बाहिर निस्केर एमाले सभासद शेरधन राई र यज्ञराज सुनुवारले सभासदहरुको हस्ताक्षर दुरुपयोग गरी षडयन्त्रपूर्वक विभिन्न ठाउँमा पेश गरिएको बताए । ‘यस्तो हर्कत महासंघभित्रका जो कोहीले गरेका भए पनि हामी छाड्दैनौं’ सुनवारले भने ‘हामी सहमति नभए प्रक्रियाबाट दुई तिहाइ बहुमतले संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा दृढ छौं’ ।

सभासद शेरधन राईले एकल जातीय पहिचानसहितको संघीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै हस्ताक्षरको दुरुपयोग गर्नेलाई कारवाही गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराए ।

यसरी ध्यानाकर्षण गराउनेहरुमा विन्दादेवी आले, अमृतलाल राजवंशी, पार्वत गुरुङ, जयन्तीदेवी राई, महिन लिम्बु, बहादुर सिंह लामा, तुलबहादुर गुरुङ,गोकुल घर्ती, भवानी खापुङ,हर्कबोल राई, पेम्वा लामा, जयप्रकाश थारु, ताराकान्त चौधरी, शकुन्तला राजवंशी, जमिन्द्रमान घले, लक्ष्मी राई, टिकाराम चेम्जोङ, तारादेवी राई, अइन्द्र सुन्दर नेम्वाङ, वैजनाथ चौधरीलगायतका सभासद् रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *