rajendra mahatoसद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेश र थरुहट प्रदेशलाई कसैले हरण गर्न नसक्ने बताएका छन्। उनले नारायणदेखि पूर्व मधेस र त्यस पश्चिमको भागलाई थरुहट प्रदेश बनाउनुपर्ने बताए। इकान्तिपुरसँगको कुराकानीमा उनले मधेसको भूभाग झापा, मोरङ, सुनसरी र थरुहट भूभाग कैलाली कञ्चनपुरलाई मधेसबाट छुट्याएर पहाडसँग मिलाएर राज्य पुनर्संरचना गर्न खोज्नु नै गम्भीर समस्या भएको बताए। उनले यो सम्झौता विपरीत भएको बताए।

झापा, मोरङ र सुनसरी मधेसी र कैलाली, कञ्चनपुर थारूहरूको क्षेत्र भएको बताउँदै उनले तयसलाई टुक्र्याउन नहुने प्रस्ट पारे।

उनले मधेस प्रदेश र थरुहट प्रदेशमा सन्तुलित जनसंख्या हुनु राम्रो रहेको बताए। उनले भने, ‘त्यसले समाजलाई बलियो बनाउँछ। पाँच जिल्लालाई पहाडियासँग मिलाउने हो भने मधेसका अरू जिल्लामा पनि छन् पहाडिया। अरू १५ जिल्लाका पहाडियालाई कहाँ लाने? त्यसमा चाहिं ओलीजीको किन ध्यान नपुगेको ? त्यही भएर २० जिल्लालाई तोड्नु हुँदैन।’

‘हामीले चुरेसम्मको भूभाग मधेस र थरुहट प्रदेशमा राख्ने भनेको हो । त्यहाँसम्म त मधेसी, थारू सँगै मुसलमान, बाहुन, क्षत्री, जनजाति सबै समेटिन्छन्,’ उनले भने।

तराईमा मधेस र थरुहट दुई प्रदेश हाम्रो माग रहेको बताउँदै उनले समाज विखण्डनको कुरा गर्ने नै बाधक भएको बताए।

‘कांग्रेस, एमालेको फर्मुलाअनुसार प्रदेश बन्ने हो भने मुलुकमा ठूलो विद्रोह हुन्छ, त्यसको कल्पना गर्न सकिन्न । मधेस प्रदेश र थरुहट प्रदेश भएन भने जनताबाट विद्रोह हुन्छ,’ उनले भने।

उनका अनुसार कांग्रेस र एमालेमा भोट हालेका पनि मधेस थरुहट माग गरेका छन्। महतोका अनुसार कांग्रेस एमालेले मधेस थरुहटको विरोध गर्न थालेपछि जनताले धोका दिएको महसुस गरेका छन्।

‘मधेस र थरुहट प्रदेश प्राप्तिका लागि जनता अहिले जागेका छन्। हामीलाई हौसला दिइरहेका छन्, त्यही भएर त आन्दोलनमा जाने भनेका हौं। जनता संघर्षका लागि तयार छन्। कांग्रेस एमालेले अहंकार नगरे हुन्छ। अहंकारको फल नमीठो हुन सक्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *