Bijay Gachhdar

घटक दललाई खबरै नगरी मधेसी मोर्चाका तर्फबाट विजय गच्छदारले शीर्ष राजनीतिक बैठकहरूमा एक्लै भाग लिएकामा मोर्चामा आबद्ध अन्य नेताहरूले आलोचना गरेका छन्। बिहीबार सिंहदरबारमा भएको मोर्चाको बैठकको सुरुवातमै तमलोपा अध्यक्ष महन्थ ठाकुरले गच्छदारको पछिल्लो क्रियाकलापप्रति आपत्ति जनाए। गत मंगलबार बेलुकी बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादी शीर्षनेतासँगको बैठकमा मोर्चाका तर्फबाट भन्दै गच्छदार एक्लैले भाग लिएका थिए।

‘मोर्चाको आचारसंहिता ख्याल गर्न नेताहरूले गच्छदारलाई सुझाव दिए,’ बैठकमा सहभागी मधेसी जनअधिकार फोरम नेपालका उपाध्यक्ष एवं सभासद लालबाबु राउतले भने, ‘मोर्चाका तर्फबाट एक्लाएक्लै भेट गर्दार् गलत सन्देश जान्छ भन्ने सबैको बुझाइ हो।’ गत शनिबार गच्छदारले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै एक्लै गोप्य बैठक गरेकोप्रति नेताहरूले आपत्ति जनाएको सद्‍भावना पार्टीका महासचिव मनीषकुमार सुमनले बताए।

अबदेखि शीर्ष पार्टीसँग हुने कुनै पनि बैठकमा रोलक्रमअनुसार सबै दलका अध्यक्षले भाग लिने सहमतिसमेत भएको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले बताए। ‘गच्छदार, ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादवले पालैपालो शीर्ष तहको बैठकमा भाग लिनेछन्,’ उनले भने, ‘त्यसमा विचलन आउनु हुँदैन भन्ने हाम्रो भनाइ हो।’

मोर्चाको बैठक पनि घटक दलका संसदीय कार्यालयमा पालैपालो गरिने सहमति छ। रोलक्रम अनुसार मोर्चाको अर्को बैठक फोरम नेपालको संसदीय दलमा हुनेछ भने उपेन्द्रले संयोजन गर्नेछन्। बिहीबारको बैठकमा मोर्चाबाहिर रहेको राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनील झा नेतृत्वको संघीय सद्‍भावनालाई पनि समेट्नेबारे छलफल भएको थियो। तर, फोरम नेपालबाट सहभागी उपाध्यक्ष राउत र प्रमुख सचेतक डा.शिवजीप्रसाद यादवले अहिल्यै निर्णय गर्न नहुने मत राखेका थिए।

– कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *