Prakash-Rajभनिन्छ– बलिउडले दुइटा कुरालाई पछ्याउँछ, प्रतिभा र पैसा।  कसैसँग प्रतिभा छ र उसले ठीक बखतमा प्रतिभा प्रदर्शन गर्न सक्यो भने ऊ रातारात स्टार बन्छ। यसरी नै स्टार बनेका हुन्, प्रकाश राज। स्कुल र कलेज पढ्दाताका उनी थिएटरमा काम गर्थे। उनको ध्यान पढाइभन्दा अभिनयमा बढी हुन्थ्यो। अभिनयप्रति उनको लगाव देखेर एक दिन कलेजका प्राध्यापकले ‘तिमी पढाइमा आफ्नो समय बर्बाद गर्दै छौ’ समेत भनेका थिए। उनका कुराबाट प्रभावित भई छ महिनासम्म घरमा केही नभनी उनी थिएटरमा रिहर्सल गर्न थाले। यसपछि उनले कन्नड सिरियल र फिल्ममा सानातिना रोल पाउन थाले।
बलिउडमा ‘भिलेन’ का रूपमा स्थापित भएका प्रकाशले दक्षिण भारतीय फिल्ममा धेरै नाम कमाएका छन्। प्रियदर्शनको निर्देशनमा बनेको तमिल फिल्म ‘कान्जिवरम्’ का लागि उनले राष्ट्रिय पुरस्कारसमेत जितेका छन्। राष्ट्रिय पुरस्कार पाउने क्रममा उनले आमिर खान र शाहरूख खानजस्ता अभिनेतालाई उछिनेका थिए। यसअघि धेरै कमले उनलाई चिन्थे। पुरस्कार पाएर चर्चित भएका उनलाई यहाँदेखि सबैले चिन्न थाले। जनतामाझ प्रकाशको ‘क्रेज’ बढ्न थालेपछि बलिउड निर्माता–निर्देशकका आँखामा परे उनी।
प्रभु देवा निर्देशित फिल्म ‘वान्टेड’ बाट उनले बलिउडमा ‘दमदार इन्ट्री’ गरे। यसअघि ‘शक्ति’ र ‘खाकी’ जस्ता फिल्ममा पनि उनले अभिनय गरेका थिए। तर, ती फिल्मले उनलाई खासै ख्याति दिलाउन सकेनन्। बलिउडमा उनलाई वास्तविक पहिचान दिलायो, फिल्म ‘वान्टेड’ ले। फिल्ममा प्रकाश ‘गनी भाइ’ को भूमिकामा देखापरे। उनको त्यो दमदार ‘भिलेन’ रूपलाई दर्शकले खुब मन पराए। यसपछि उनले रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिंघम’ मा आफ्नो अभिनयको बेजोड प्रदर्शन गरे। ‘सिंघम’ तमिल फिल्मको रिमेक थियो। यसको तमिल भर्सनमा पनि भिलेनको भूमिका प्रकाशले नै गरेका थिए। यस फिल्मका लागि उनले ‘बेस्ट एक्टर इन नेगेटिभ रोल’ को अवार्ड पनि जिते।
एकपछि अर्को सुपरहिट फिल्मका सुपरहिट भिलेन बनिसकेपछि प्रकाशले पछाडि फर्केर हेरेनन्। उनी बलिउडका ‘फेभरेट भिलेन’ बन्न सफल भएका छन्। दक्षिण भारतीय फिल्ममा पनि उनले अनेकानेक भूमिका गरेका छन्। उनको गणना दक्षिणका प्रारम्भिक पाँच सुपरस्टारमा हुन्छ। दक्षिण भारतीय फिल्मका कलाकारमध्ये सबैभन्दा बढी कर तिर्ने अभिनेता उनै हुन्।
प्रकाश राजको वास्तविक नाम ‘प्रकाश राय’ हो। कन्नड टेलिभिजन र सिनेमामा उनलाई लामो समयसम्म प्रकाश रायको नामले नै चिनियो। तर, पछि तमिल फिल्म निर्देशक बालाचन्दरले उनको नाउँ परिवर्तित गरी रायको ठाउँ राज राखिदिएका हुन्। आफ्नो नाम परिवर्तनबारे बोल्दै एक अन्तरवार्तामा उनले भनेका थिए– ”राय’ उपनामले स्थानीय समुदाय वा कुनै एक प्रदेशलाई मात्रै चिनाउने भएकाले बालाचन्दरले मलाई तमिल फिल्ममा प्रकाश राजका नामले चिनाए। सुपरस्टार रजनीकान्त र कमल हसनजस्तै मलाई लन्च गर्ने श्रेय पनि बालाचन्दरलाई नै जान्छ।’ बहुप्रतिभाका धनी प्रकाशमा राष्ट्रिय अभिनेता बन्न सक्ने क्षमता भएको बालाचन्दरले धेरैअघि थाहा पाइसकेका थिए ।
भारतीय सिनेमाका सबैभन्दा महँगा अभिनेता हुन्, रजनीकान्त। तर, प्रकाश त्यहाँका सबैभन्दा महँगा भिलेन हुन्। बलिउडको फेभरेट भिलेन बनेपछि उनले एक फिल्मका लागि एक करोड भारु लिने गरेका छन्। तर, फिल्म ‘भाग मिल्खा भाग’ मा काम गर्दा उनले एक सुको लिएनन्। फ्रीमै काम गरे। यस फिल्ममा उनी एक आर्मी अफिसरको रूपमा देखापरेका थिए। स्त्रि्कप्ट पढेपछि उनले फिल्मका निर्देशक राकेश ओम प्रकाश मेहरालाई भनेका थिए, ‘यो भूमिका पाउन मैले कति पैसा तिर्नुपर्छ?’ वान्टेड, सिंघमजस्ता फिल्ममा नकारात्मक भूमिकामा देखापरेका प्रकाश आफ्नो छवि सुधार्न चाहन्थे। र, यस सकारात्मक भूमिकालाई गर्न उनी एकदमै लालायित थिए।
प्रकाशले नकारात्मक भूमिकालाई पनि उम्दा र अनौठो शैलीमा दर्शकमाझ प्रस्तुत गर्छन्, जसमा हास्य रस मिश्रित हुन्छ। उनको चरित्र चतुर हुन्छ। र, अनुहारका छिनछिनमा फेरिने हाउभाउबाट दर्शकलाई बाँधेर राख्न उनी सफल हुन्छन्। अमरीश पुरी, प्राण, प्रेम चोपडा, शक्ति कपुरजस्ता सशक्त भिलेनपछि बलिउडमा भिलेनको अभाव नै थियो। त्यस अभावलाई प्रकाशले पूरा गरेका छन्। नकारात्मक भूमिकामा बेजोड लाग्छन् उनी।
अहिले सफलताको चुचरोमा पुगेका प्रकाशको बाल्यकाल दुःख र अभावमा बितेको थियो। श्रीमती र बच्चाको जिम्मेवारीबाट प्रकाशका बुवा पन्छिएका थिए। आमा नर्स थिइन्। जँड्याहा बाउ तीनचार महिना घर बस्थे र आमाको तलब लिएर छ महिनासम्म गायब हुन्थे। रक्सीको लतले बाबुलाई कालको गाँस बनाएको कुरा प्रकाशले एक अन्तरवार्तामा बताएका थिए। ‘म र दुई बहिनीलाई आमा एक्लैले हुर्काएकी हुन्। जीवनमा हार नमान्ने र हरेक समस्याका सामना गर्ने साहस मैले आमाबाट प्राप्त गरेँ,’ उनले भनेका थिए।
प्रकाशको वैवाहिक जीवन पनि त्यति सुखमय रहेन। सन् १९९४ मा प्रकाशले तमिल अभिनेत्री ललिता कुमारीसँग बिहे गरेका थिए। उनीहरूका दुई छोरी र एक छोरा थिए। पछि, छोरा पाँच वर्षको उमेरमै बिते। प्रकाश र ललिताको सम्बन्धमा सुरुदेखि नै सुखद थिएन। बच्चाहरूले उनीहरूको सम्बन्धलाई जोडेर राखेका थिए। तर, सँगै बस्न नसकेपछि सन् २००९ मा उनीहरूको सम्बन्ध–विच्छेद भएको थियो। त्यसको एक वर्षपछि सन् २०१० मा उनले आफूभन्दा बाह्र वर्ष कान्छी कोरिग्राफर पोनी बर्मासँग बिहे गरे।
अहिलेसम्म उनले तेलगु, तमिल, कन्नड, मलयालम र हिन्दी गरी पाँच भाषाका फिल्ममा काम गरिसकेका छन्। प्रकाश अभिनेतामात्र होइनन्, निर्देशक र निर्माता पनि हुन्। तेलगु र तमिल भाषामा उनी ‘धोनी’ नामक फिल्म बनाउने सुरमा छन्। क्रिकेटमा आधारित हुने उक्त फिल्म भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीसँग सम्बन्धित छ वा छैन, त्यो भने खुलिसकेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *