चितवन- चितवनका थारुहरुले भाषा संरक्षणमा चासो देखाएका छन् । भाषा आफुहरुको पहिचान भएको भन्दै संरक्षणमा लाग्न समेत सबै थारु समुदायलाई आह्वान समेत गरेका छन् । मातृभाषा केन्द्र नेपाल र थारु कल्याणरिणी सभा चितवनले सोमबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा भाषा संरक्षणमा चासो देखाएका हुन् ।

आफुहरुको पहिचान संकटमा परेको भन्दै त्यसलाई संरक्षण गर्न सबै थारु समुदाय नै लाग्नुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष भजुमानराम महतोले पछिल्लो पुस्ताका लागि भाषा संरक्षण गर्न निकै चुनौतीपूर्ण भएको बताउनुभयो । अन्तरजातिय विवाहले समेत थारुभाषालाई प्रत्यक्ष प्रभाव पार्दै आएको उहांको भनाई छ ।

कार्यक्रममा थारु भाषा पाठ्यक्रम निर्माण समितिका अध्यक्ष रामचन्द्र महतोले भाषा संरक्षण गर्न सके यसले रोजगारी समेत प्रदान गर्ने हुंदा संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । थारु भाषालाई बोलिचालीको क्रममा प्रयोग गर्ने देखि चलचित्र निर्माण, बृतचित्र, पाठयपुस्तक निर्माण गरी संरक्षण गर्न सकिने हुंदा त्यसतर्फ समेत बढ्नुपर्नेमा उहांले जाड दिनुभयो । थारु भाषालाई प्राथामिक तह सम्म अध्यापन गराउने वातावरण बनाउन सके नयाँ पुस्ताले सहजै थारु भाषालाई आत्मसाथ गर्न सक्ने उहांको भनाई थियो ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मातृभाषा केन्द्र नेपालका कार्यक्रम निर्देशक शुशील सुव्वा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवनका थारु अगुवाहरुको सभागिता थियो ।

यसैबीच चितवनका थारु संचारकर्मीहरुको भेलाले कारी महतोको संयोजकत्वमा ७ सदस्यीय तर्दथ समिति गठन गरेको छ । सदस्यहरुमा मनिराम थनेत, हरेराम चौधरी, विजय चौधरी, सुमित्रा महतो, पुरनकुमारी महतो, सन्तकुमार चौधरी, चन्द्रकुमारी चौधरी रहेका छन् । तदर्थ समितिले एकसाता भित्र चितवनका विभिन्न संचारमाध्यममा रहेका थारु संचारकर्मीहरुको बृहत भेला बोलाउने निर्णय समेत गरेको छ ।

नारायणी अनलाइनबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *