Modi

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उहाँको सुरक्षा व्यवस्था अतिविशिष्टस्तर हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा लिएको गृह मन्त्रालयले आइतबारदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको हो । मोदीको भ्रमणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणलाई ध्यानमा राखी काठमाडौँ उपत्यका भित्रने मुख्य नाका, सडक, चोक, पुललगायत स्थानमा सुरक्षा व्यवस्था गरी जाँचलाई बढाइएको छ ।
मन्त्रालयले एकीकृत सुरक्षा योजनाअनुसार भ्रमणका बेला तीन घेरामा सुरक्षा उपलब्ध गराउने छ । त्यसको पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी बल रहने बताइएको छ । त्यसमा राष्ट्रिय अनुसन्धान विभागसमेत समेटिएको छ । यस्तै मोदीको बासस्थान र  भ्रमण गर्ने मार्गको सुरक्षा विश्लेषण गरेर योजना बनाइएको छ । प्रहरीका अनुसार कार्यक्रमस्थल र बसोबास वरपर हुलदङ्गा हुन नदिन नेपाल प्रहरीको विशेष टोली खटिने छन् ।
एकीकृत सुरक्षा टोलीले आज मोदी त्रिभुवन विमानस्थलमा उत्रिएदेखि काठमाडौंँमा आयोजना हुने मोदीका कार्यक्रमको अन्तिम अभ्यास गरेको छ । सो अभ्यासमा मोदी काठमाडाँैंमा आए जस्तै गरी सम्पूर्ण तयारी प्रदर्शन गरिएको थियो ।
मन्त्रालयका अनुसार सर्वसाधारणलाई मर्का नपर्ने गरी सडक र सवारीबारे ट्राफिक एफएम ९५.६ मेगाहर्जबाट हरेक पल जानकारी दिइने छ, जसका लागि आजै मोबाइलबाट सर्वसाधारणमा एसएमएस पठाइएको छ ।
मोदीको सवारी हुने बाटो, पुल, होटल र भेटघाट हुने स्थल वरपर सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको छ । मोदी अन्तर्राष्ट्रि«य विमानस्थल आइपुग्दा प्रधानमन्त्री सुशील कोइरालाले अतिविशिष्ट कक्षमा स्वागत गर्ने र उहाँलाई १९ तोपको सलामी दिइने बताइएको छ ।
विमानस्थलमा आइतबार मोदी आइपुग्नु अगावै पास भएका सवारी साधनबाहेक अन्य कुनै सवारी साधन छिर्न पाउने छैनन् । मोदी सवारी चल्ने मार्गमासडक पूरा खाली गरिने छ । सडक सवारीका बेला नेपाली सेनाले हवाई गस्ती समेत गर्ने जनाइएको छ ।
राजधानी चिटिक्कै
भारतीय प्रधानमन्त्री नेपाल बसाइका क्रममा उहाँले प्रयोग गर्ने बाटो सरसफाइ गरिएको छ । बाटामा खाल्डाखुल्टी पुरिएको छ । सडकका डिभाइडर हटाइएको छ ।
विमानस्थल, महाराजगन्ज, सिहंदरबार र बानेश्वरका सडकमा सरसफाइ गरिएको छ । पुतलीसडकदेखि, माइतीघर, बानेश्वर, तीनकुने, सिनामङ्गल, विमानस्थल सडकका दायाँबायाँ नेपाल र भारतका झन्डा राखिएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षार्थ उहाँको मोटरलाई पछयाउँदै नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ती गर्नेछ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *