वीरगन्ज- बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । कमलपित्त रोगको शङ्कामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै ४० जना रोगीलाई कमलपित्त लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामाशङ्कर ठाकुर डरलाग्दो किसिमले वृद्धि हुँदै गएको यस्तो रोग लागेको शङ्का हुने बित्तिकै हरेकले चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिनुपर्ने सुझाव दिनुहुन्छ।
‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीमात्र होइन, यससँगै झाडापखाला, पेट दुख्ने र ज्वरोको उपचारका लागि अस्पताल आउने बिरामीको चापमा समेत वृद्धि भएको छ डा. ठाकुरले बताउनुभएको छ ।
बारा, पर्सा, रौतहट र सर्लाहीका साथै नजिकका भारतीय जिल्लाबाट समेत उपचारका लागि यस अस्पतालमा बिरामी आउने गरेका छन् । यस उपक्षेत्रीय अस्पतालमा २०० शय्या र अस्पताल व्यवस्थापन समितिबाट १०० शय्या गरी कुल ३०० शय्या सञ्चालनमा ल्याइएको छ ।
मौसम परिवर्तनसँगै गर्मीयाममा देखा पर्ने यस्तो रोग विशेषगरी प्रदूषित पानी सेवन गर्नाले हुने गर्छ । अस्पतालका चिकित्सक डा. मनोजकुमार गुप्ता भन्नुहुन्छ – यस्ता रोगबाट बच्ने सबैभन्दा उपयुक्त र भरपर्दो उपाय नै दूषित खानेकुरा नखानु हो ।
दैनिक करिब दशदेखि १५ जना बिरामी भाइरल ज्वरो तथा त्यतिकै सङ्ख्या कमलपित्तको उपचारका लागि आफू कहा“ आउने गरेको बताउ“दै डा. अरुणकुमार झाले राससलाई भन्नुभयो – समय मै आवश्यक पहल र सतर्कता अपनाउन सकिएन भने यसले भयावह रूप लिन सक्छ ।
यस्ता रोगबाट विशेषगरी ग्रामीण समुदायका बासिन्दा बढी प्रभावित हुने गरेका छन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *