Samjhana_NAma
उरहरी– ६, मोतीपुरकी सम्झना चौधरी एक महिने छोरीसँग।

दाङ- एकमहिना पुग्दै गरेकी नातिनीलाई दुई दिनदेखि आएको ज्वरो थामिएको छैन। अनुहार निन्याउरो बन्दै गएको छ। सुत्केरी बुहारी सम्झनालाई पनि सन्चो छैन। बाढीमा घरसँगै जायजेथा गुम्नुको पीडा छँदैछ। परिवारका अरु सदस्यलाई कहाँ राख्ने टुंगो लागेको छैन। एक साता भयो, उरहरी– ६, मोतीपुरका जागुराम चौधरी गल्लीबाट अलग बन्न सकेका छैनन्। दिनभर राहत ढुकेर बस्छन्, राति छिमेकीका घरको पेटीमा ओत लाग्छन्।
‘के गरुँ केही सोच्नै सकेको छैन,’ उनले भने, ‘बुहारी र नातिनीलाई कसरी बचाउने भन्ने चिन्ता छ।’ बुहारी सम्झना (नमा) कमजोरीले थलिँदै गएकी छन्। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा पाएकी छैनन्। घरसँगै अन्नपात बाढीले बगाइदिएपछि उनका केही दिन भोकै कटे। त्यसमाथि विद्यालयको चिसो भुइँमा बस्नुपर्योे। शरीरको एकसरो कपडाबाहेक केही बचेन।

‘ज्वरो आउँछ, टाउको पनि दुख्छ,’ उनले भनिन्, ‘धेरै कमजोर भएको छु, हिँड्न पनि मुस्किल पर्छ।’ अहिले उनी मोतीपुरमै रहेको माइतीघरमा छिन्।
सकीनसकी भित्र–बाहिर गर्ने सम्झना छोरीको स्वास्थ्य बिग्रँदै गएकोमा चिन्तित छिन्। बढ्दो अस्वस्थताले सम्झनाको भोक निद्रा टरेको छ। ‘खान मन गर्दिन, रातभर रोइराख्छे,’ उनले भनिन्। छोरीलाई शान्त पार्न दुध चुसाउँछिन् तर पटक्कै दुध आउँदैन। धन्न गाउँलेले गाईको दुध दिएका छन्। ‘बच्चीको हत्ते छ, आमाले पोषिलो खान पाए पो दुध आउँछ,’ जागुराम भन्छन्।

जागुरामले शुक्रबार नातिनीलाई गाउँमै रहेको मेडिकलमा उपचारका लागि पुर्याँए। अत्यधिक ज्वरो रहेको भन्दै स्वास्थ्यकर्मीले औषधि दिए। ‘बीसको उन्नाइस भएको छैन,’ उनले भने। कतै राम्रो अस्पतालमा लगेर उपचार गराउने आँट जागुरामसँग छैन।

बाढी प्रभावित क्षेत्रमा सुत्केरी आमा र शिशुको बेहाल छ। दिनप्रतिदिन उनीहरुको अवस्था नाजुक बन्दै गएको छ। मोतीपुरकै अर्की सुत्केरी मालती चौधरीका आमाछोरीको अवस्था पनि उस्तै छ। बाढीले विस्थापित पारेपछि उनको परिवारै विद्यालयमा आश्रय लिएर बस्यो। मालतीको स्याहार सुसार भएन। न त एकदाना अन्न नै मुखमा पर्यो । चाउचाउ र च्युराका भरमा उनले सात दिन कटाइन्। जसका कारण आमाछोरी नै बिरामी परे। दिन प्रतिदिन ज्वरो बढ्दै गएपछि मालतीको परिवारले उनलाई माइत पठाएको छ। ‘ज्वरो थाम्दै नथामिने भयो,’ ससूरा रामजनमले भने, ‘आमाछोरी जोगिएलान् कि भनेर माइत पठाइदिएको छु।’

मोतीपुरकै अर्की सुत्केरी पार्वती बिष्ट अहिलेसम्म ठीकै छिन् तर झन्डै दुई साताको छोराको स्वास्थ्य बिग्रँदै गएको छ। ‘तीन–चार दिन भयो, पखाला लागेको छ,’ उनले भनिन्, ‘औषधि खुवाइरा’छु तैपनि थामिएको छैन।’

फूलवारीकी ज्योति नेपाली बस्तीमा बाढी पस्दा तीन दिनकी सुत्केरी थिइन्। भागाभाग गरेर धन्न शिशु र आफ्नो ज्यान जोगाइन्। विस्थापित भएपछि बखरिया माविमा बसिरहेकी छन्। सात दिनसम्म उनी विद्यालयमै बसिन्। खानाको अभाव र बसाइको समस्याका कारण उनी थलिँदै गइन्। एकातिर प्रसव पीडा, अर्कोतिर ज्वरो। आमाको स्वास्थ्य बिग्रेसँगै उनका शिशुको स्वास्थ्य दिनानुदिन बिग्रँदै गयो।

विद्यालयमा लिएको आश्रय पनि बिहीबारदेखि खोसियो। पठनपाठनका लागि विद्यालय खाली गर्नु परेपछि उनी माइत गएकी छन्। ज्वरोले थलीएकी उनले केही दिनअघि गाउँमा पुगेको स्वास्थ्यकर्मीले दिएको सिटामोल खाइन् तर निको भएन। ‘मलाई सन्चो छैन, बाबु पनि बिरामी छ,’ ज्योतिले नागरिकसँग भनिन्, ‘आफ्नोभन्दा पनि बाबुको चिन्ता लागेको छ।’

ज्वरोले थलिएकी फूलबारीकी एक महिने सुत्केरी सुष्मा नेपालीलाई भने घोराहीस्थित एक संस्थाले उपचारको जिम्मा लिएको स्थानीयले बताए। सुष्मा र उनका शिशुको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई बिहीबार एक संस्थाले तीन महिनाका लागि जिम्मा लिएको स्थानीयको भनाइ छ।

प्रभावित क्षेत्रमा ज्वरो संक्रमण
साताअघि बाढी पसेका जिल्लाका विभिन्न स्थानमा ज्वरोको संक्रमण बढेको छ। अधिकांश घरपरिवारका सदस्य अहिले ज्वरोका बिरामी छन्। बाढी क्षेत्रको दूषित वातावरणले गाउँलेमा रोग संक्रमण देखिएको हो। उरहरी– ६, मोतीपुरका जुगराम चौधरीकी छोरी र आमा बिरामी परेको तीन दिन भइसक्यो। श्रीमती र आफूलाई पनि सन्चो छैन। ‘आमा र छोरीलाई औषधि गर्न पठाएको छु,’ उनले भने, ‘मलाई पनि ज्वरो आइराख्छ तर परिवार बसाल्ने जोहो गर्दै दौडिरहेको छु।’

बाढीले भत्काएका घरमा रहेका अन्नपात कुहिएर बस्तीमा दुर्गन्ध फैलिएको छ। नाक थुनेेर हिँड्नुपर्ने अवस्था छ। त्यसमाथि घामपानी ओत्ने ठाउँ नै छैन। ‘घामपानी छेक्ने कुनै उपाय छैन,’ अर्का स्थानीय जीवन चौधरी भन्छन्, ‘परिवारका सबै बिरामी छन्।’

फूलबारी– ६, बखरियाकी वसन्ती चौधरी शनिशार सकिनसकी भगनावशेष बस्ती सम्याउँदै थिइन्। ओत लाग्ने छाप्रो हाल्नका लागि जमिन सम्याउँदै गरेकी उनलाई ज्वरो आएको पाँच दिन भैसक्यो। ‘छिनमैछिनमै ज्वरो आउँछ,’ उनले भनिन्, ‘सिटामोल खाएपछि एकछिन बिसेक हुन्छ।’

बखरियाका अधिकांश बाढीपीडित ज्वरोका बिरामी छन्। प्रभावित क्षेत्रमा विभिन्न संघ–संस्थाले हेल्थ डेस्क सञ्चालन गरेर स्वास्थ्य जाँच गरिरहेका छन्। यी संस्थाले ज्वरोका बिरामीलाई सिटामोलबाहेक केही दिएका छैनन्। ‘औषधि त दिन्छन्,’ मोतीपुरका जागुराम भन्छन्, ‘यहाँ दिने औषधिले काम गरेको छैन।’ बाढी प्रभावित जिल्लाका सबै गाविसमा ज्वरो, आउँ पखालालगायत रोगको संक्रमण बढिरहेको स्थानीयले बताएका छन्।

देवेन्द्र सुवेदी/नागरिक दैनिक साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *