चितवन- बाघको छालासहित समातिएका एक अभियुक्तलार्ई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षको कैद फैसला सुनाएको छ । विसं २०६९ साउन १२ मा समातिएका मकवानपुर काँकडा–४ स्थायी घर भई मकवानपुरकै मनहरी–२ नयाँ बस्तीका सीताराम थिङलाई निकुञ्जले सो सजाय तोकेको हो ।
निकुञ्जले गएको असार ३ गते थिङलाई कैद सजाय गरेको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको मनहरीमा बाघको साढे सात किलो हड्डी बिक्री हुँदैछ भन्ने सूचना पाएको आधारमा पुगेको निकुञ्जको गस्ती टोलीले थिङलाई समाएको थियो ।
थिङको साथबाट बाघको छाला बरामद गरेको थियो । बाघ, गैंडाजस्ता दुर्लभ वन्यजन्तु मारेमा वा त्यस्ता जनावरहरुको अङ्ग बिक्री गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुनसक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ बाघको मुख्य बासस्थल हो । अघिल्लो वर्ष घोषणा भएको गणनाको नतिजाअनुसार यस निकुञ्ज र आसपासको क्षेत्रमा कम्तिमा पनि १२० वटा बाघ रहेका छन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *