facebook

एजेन्सी– तपाईं फेसबुकमा मन परेको फोटो सेयर गर्न कति रुचि राख्नुहुन्छ? मन परेको कुरा बाँड्न सबैलाई रहर लाग्छ नै। नेपाल र भारतमा सबैभन्दा धेरै सेयरिङ भने धार्मिक तस्बिरहरूमा हुने गरेको देखिन्छ। देउताको फोटो राखेर सेयर गरे फलिफाप हुन्छ भन्ने खाले अन्धविश्वासी सन्देश भएका फोटो सेयरिङ धेरै हुने गरेको छ। नेतालाई गाली गरेर बनाइएका फोटोहरू अझ बढी साटासाट हुने गर्छ, हामीकहाँ। तर, पोस्ट गरिएका सबै फोटो मानिसले रुचाउँछन् भन्ने चाहिँ हुँदैन।
त्यसैले फेसबुकमा पोस्ट हुने फोटो भाइरलका रूपमा फैलन्छ कि फैलँदैन भन्ने पत्ता लगाउन वैज्ञानिकहरूले कम्प्युटर अल्गोरिदम निर्माण गरेका छन्। फेसबुकमा पोस्ट गरिएको फोटो कति लाइक हुन्छ र सेयर हुन्छ भन्ने अनुमान यसले गर्ने दाबी गरिएको छ। स्ट्यानफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरूले फेसबुकमा अपलोड भएका लाखौँ फोटोहरूको ट्रेन्ड एनालाइसिसपछि यस्तो खाले प्रविधिको विकास गरेका हुन्। उनीहरूले केसकेडका आधारमा यसको निर्माण गरेका हुन्। फोटो वा भिडियोलाई बहुतर्फी सेयरिङ गरिने प्रचलनलाई केसकेड भनिन्छ।

फेसबुकका डेभलोपरले हालै जानकारी गराएको तथ्यांकअनुसार हरेक २० फोटोमध्ये एउटामात्र सामाजिक सञ्जालमा कम्तीमा एकपटक सेयर हुने गर्छ। र, हरेक ४ हजार फोटो पोस्ट हुँदा एउटामात्र फोटो पाँच सयवटासम्म सेयर हुने गर्छ।

सामाजिक सञ्जालमा सेयर हुने विषयमाथि वर्ल्ड वाइड वेब कन्फरेन्स हुँदा यो तथ्य बाहिर आएको हो। कोरियाको सियोलमा आयोजना भएको कन्फरेन्समा फोटो सेयरिङका यस्तै अन्य तथ्य पनि बाहिर ल्याइएको थियो।

स्ट्यानफोर्ड युनिभर्सिटीका प्राध्यापक र विद्यार्थीहरूको टोली तथा फेसबुकका वैज्ञानिकहरूले यस्तो तथ्य बाहिर ल्याएका हुन्। उनीहरूले १ लाख ५० हजार फेसबुक फोटो छानेका थिए। छानिएका फोटोहरू कम्तीमा पनि पाँच पटक सेयर गरिएको थियो। पोस्ट भएका सबै फोटो अध्ययनका लागि समावेश गर्न सम्भव थिएन। यसरी लिइएका फोटोको गोपनीयतालाई कायम राख्दै उनीहरूले अध्ययन अगाडि बढाएका थिए। उनीहरूले फोटो सेयरको संख्यासँगै कति समयअन्तरमा यस्ता पोस्ट सेयर हुने गरेको हो, त्यसलाई अनुसन्धानको भेरिएबलका रूपमा समावेश गरेका थिए।

यिनै आधारमा फेसबुक सेयरको ट्रेन्ड एनालाइसिस गरेका उनीहरूले तपाईं–हामीले सेयर गर्ने फोटो कुन गतिमा सामाजिक सञ्जालमा फैलनसक्ने ल्याकत राख्छ? पहिचान गर्नसक्ने प्रविधि विकास गरेका हुन्। उनीहरूले प्रक्षेपण गर्ने अनुमान ८८ प्रतिशत मिलेको अध्ययनले देखाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *