siruwa-jhapa

अर्जुन राजवंशी, उर्लाबारी- नयाँ वर्षको आरम्भसँगै राजवंशी समुदायको महान चाँड सिरुवा पर्व आजदेखि सुरु भएको छ। मुलुकको पूर्वी तराईका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व विशेषरुपमा मनाउने गर्छन्। सिरुवा पर्वअन्तर्गत आज ‘पानी’ सिरुवा मनाइँदैछ। वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ।
वर्षभरि शितलता प्राप्त होस् भन्दै पानी सिरुवा खेल्ने चलन छ। त्यस्तै वैशाख २ गते ‘काद’ सिरुवा मनाइनेछ। आदिवासी समुदायका राजवंशी जातिले आफूलाई भूमि पुत्रका रुपमा चित्रण गर्दै भोलि ‘काद’ सिरुवा मनाउने गर्छन्।

माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा–छ्याप गरी ‘काद’ सिरुवा मनाउने गर्छन्। सिरुवा पर्वको अवसरमा सरकारले भोलि राजवंशीहरुको बसोबास रहेको झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदासमेत दिएको छ।

त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन वैशाख ३ गते ‘रंग’ सिरुवा मनाइने गरिन्छ। वर्षभरि आफुले इच्छाएका विभिन्न इच्छाचाहानाहरु पूरा होस् भन्ने कामनाका साथ एकआपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ। सिरुवा पर्वमा राजवंशी समूदायले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा लाग्ने सिरुवा मेला घुम्नुका साथै सामूहिकरुपमा सिरुवा कार्यक्रमहरु आयोजना गरी आपसमा शुभकामना आदान प्रदान गर्ने चलन पनि छ।

पुरानो वर्षलाई विदाई गर्ने क्रममा हिजो साँझ राजवंशी जातिले गत वर्ष फलेका विभिन्न ७ वटा तरकारीलाई मिसाएर ‘सातसागी’ बनाएर खाएका छन्। त्यस्तै भोलि ‘काद’ सिरुवाको दिन घरको कुल देवताको पूजापाठ गरी वर्षभरि घर परिवार तथा परिवारका सदस्यमा कुनै दुःख कष्ट नपरोस् भन्दै वर्षभरिका लागि ‘चातर बाध्ने’ (विशेष पूजा) गरिन्छ। यो पर्व राजवंशीसहित ताजपुरिया, थारु, माझी, गन्गाईलगायतका जातिले पनि मनाउने गर्छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *