Bhodu Tharuबर्दिया- सानोश्री–६ मधुवन बजारका ३७ वर्षीय मुक्त कमैया भोदु थारु गुजारा चलाउन केही वर्ष अघिसम्म अरूको उद्योगमा ज्याला मजदुरी गर्थे। बिहान सबेरै मुक्त कमलरी श्रीमती सीता थारुसँगै अर्काको काम नगरेसम्म उनको अँगेनामा आगो बल्दैनथ्यो। जीवन गुजाराका लागि सिकेको सिपबाट आफ्नै उद्योग खोलेपछि उनको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आयो। जन्मेदेखि बुबासँगै कमैया बसेको दम्पती अहिले नामी उद्योगपतिका रूपमा चिनिन्छ। उनीहरुको उद्योगमा २० जनाले रोजगारी पाएका छन्।
आजभोलि थारुको दैनिकी फेरिएको छ। समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनको अनुभव छ। २०७० सालको संविधानसभा निर्वाचनमा थरुहट तराई पार्टी नेपालमा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थारुले पराजय बेहोरे पनि व्यावसायिक क्षेत्रमा भने सफलता पाएको बताए।
सानोश्रीका शिक्षक शिशिर बस्नेतको परिवारसँग चार हजार निर्ब्याजी सापटी लिई पाउरोटी उद्योग सुरु गरेका थारुले राम्रो बजार पाएपछि दालमोठ उद्योग पनि खोले। व्यवसाय गरी कमाएको रकमबाट सानोश्रीमै करिब पाँच लाख मूल्यको जग्गा किनेर उनले उत्पादन बढाए।
निरन्तर परिश्रम, लगनशीलता र इमान्दारीले मानिसलाई सफल बनाउँछ भन्ने प्रमाणित गर्न सफल भोदुले आफूले जस्तो दुःख छोराछोरीले गर्नु नपरोस् भनेर व्यवसाय गरेको बताए। न धेरै लगानी न झन्झट नै। मेहनत र लगनशीलता भए यसरी व्यापार गर्न सकिने उनको बुझाइ छ।
ढोढरी–५ वसन्ताका विष्णु पोखरेलको घरमा बुबासँगै कमैया बसेका उनको दालमोठ र पाउरोटी उद्योगमा २० जनाले रोजगारी पाएका छन्। सबै खर्च कटाएर मासिक ७५ हजार बचत हुने गरेको उनले सुनाए।
उद्योगमा काम गर्ने मजदुरलाई काम हेरी मासिक चार हजारदेखि आठ हजार पाँच सय रुपैयाँसम्म तलब दिने गरेका छन्। उनको सफलतामा श्रीमती सीताको पनि साथ, समर्थन र प्रेरणा रहेको छ।
उत्पादनको तुलनामा माग धेरै भएको उनी बताउँछन्। ‘दालमोठ र पाउरोटीको बजार राम्रो छ,’ उनले भने, ‘ग्राहकको मागबमोजिम उत्पादन गर्न भ्याइनभ्याइ छ।’
थारुको उद्योगमा हाल पाउरोटी, डोनट, ब्रेड, जीरा फाइन, बिस्कुट, इमल र दालमोठ उत्पादन हुन्छ। उत्पादित सामग्री राजापुर, ठाकुरद्वारा, गुलरिया, भुरीगाउँ, मैनापोखर, कालिकासम्म पुग्छ।
सानोश्रीस्थित कुुसुम्बा बजारमा बरफ उद्योगमा काम गरेका भोदुले त्यहाँ काम गर्दा खासै कमाइ नभएपछि खैरापुरको पाउरोटी उद्योगमा काम गरेको बताए। त्यहाँ पनि मेहनतबमोजिम आम्दानी नभएपछि विदेश जान तम्सिएका थिए। तर गाउँकै एक शिक्षकले विदेशभन्दा स्वदेशमै स्वाभिमानपूर्वक धेरै पैसा कमाउन सकिने भन्दै आश्वस्त पारेपछि उनको बाटो मोडिएको हो।

रासस/तस्बिर : कारोबार दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *