Jhumraच्याब्रुङ, टुङ्ना र सारंगी । यी वाद्ययन्त्रले मुलुकका फरक फरक समुदायको प्रतिनिधित्व गर्छन् । शनिबार दिउँसो पाटन दरबार स्क्वायर डबलीमा यी लगायतका बाजाले सिंगो नेपाललाई प्रस्तुत गरे- तराईदेखि पहाड हुँदै हिमालसम्म । पूर्वीदेखि पश्चिमसम्म । नेपाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले केही महिनाअघि थालेको ‘डबली शृंखला’ को तेस्रो संस्करण पाटन कृष्ण मन्दिर डबलीमा प्रस्तुत गरिएको हो ।

नाटक र संगीतमार्फत पुरानो नेपाली डबली परम्परा ब्युँझाउने प्रयत्न अन्तर्गत सुरु गरिएको यो अभियानलाई शनिबार राम्रै दर्शक साथ मिलेको थियो । यो ‘ओपन सो’को मज्जा लिने दर्शकहरूमा रैथाने मात्रै नभई दरबार क्षेत्र घुम्न पुगेका मुलुकभित्र र बाहिरका पर्यटकसमेत थिए ।

लिम्बू समुदायको लोक नृत्यबाट प्रस्तुति सुरु गरिएको थियो । च्याब्रुङ बजाउँदै लिम्बू कलाकारहरूले बाँदर नृत्यदेखि बेहुली भित्र्याउँदा दिने आशीर्वादसम्म प्रस्तुत गरे । यसपछि मध्य तराईको संस्कृति झल्किने झुम्रा नाँच पस्किएको थियो । नृत्यहरूकै बीच सैनिक ब्यान्डले पस्केको ‘लोक धुनहरू’ मनछुने थिए । प्राज्ञ उन्नति शिला बोहराले सारंगीको परिचय दिएपछि सुरु सारंगी वादनमा एक दर्जनभन्दा बढी व्याण्डका कलाकारहरू थिए । उनीहरूले ‘रेशम फिरिरि…’ बाट सुरु गरेर ‘चट्ट रुमाल क्या मालुम…’, ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा…’ लगायत आधा दर्जन प्रस्तुति दिएका थिए । मारुनी विधाको निकट पर्ने सोरठी नाचले पनि दर्शकको मन तान्यो । मध्यपश्चिम नेपालको गुरुङ समुदायमा प्रचलित यो नृत्य दसैंदेखि तिहारसम्म झन्डै एक महिना नाचिने परम्परा भए पनि अहिले यो लोपोन्मुख छ ।

पहाडी संगीतको प्रतिनिधित्व गर्दै तामाङ समुदायका कलाकारले पस्केको टुङ्नाको धुनमा डम्फुको ताल लोभलाग्दो थियो । यो टोलीले पनि ‘नाचिदेऊ मैच्याङ तिमी डम्फुको तालैमा…’ देखि ‘च्याङबा होई च्याङबा…’ सम्मका आधा दर्जन प्रस्तुति दिएको थियो । काठमाडौं उपत्यकाको नेवार समुदायमा प्रचलित बज्रयोगिनी नृत्यले चाहिँ तान्त्रिक अभ्यासमा आधारित प्राचीन नेपाली शास्त्रीय नृत्यको पनि प्रतिनिधित्व गरेको थियो ।

शनिबार भए पनि प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठदेखि उपकुलपति शम्भुजित बाँस्कोटा, सदस्यसचिव गणेश रसिक, नाट्य विभाग प्रमुख रमेशरञ्जन झासम्म यात्रामा थिए । लोक नाट्य-संगीत परम्पराको र्ऊवर इतिहास बोकेको डबली संस्कृतिलाई प्रवर्द्धन गर्न अभियानलाई प्रतिष्ठानले निरन्तरता दिइरहने उपकुलपति बाँस्कोटाले जनाए ।

कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *