Sitaram Chaudhary

श्रीमानको सफलता पछाडि जति हात श्रीमतीको हुन्छ, राजनीतिक सफलतामा त्यति नै हात युवाहरुको हुन्छ। थरुहट आन्दोलन होस् वा कमलरी आन्दोलन। यी सबै आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका छन् बर्दियाका सीताराम चौधरी। बर्दियाली थारु विकास मञ्चका अध्यक्षसमेत रहेका उनी हालः थरुहट तराई पार्टी नेपालबाट समानुपाति सभासद् बनेका गोपाल दहितका स्वकीय सचिव हुन्। हालैमात्र ब्यवस्थापिका संसदमा ‘संविधान सभा सदस्य विधेयक २०७०’संसोधन हुन सकेन। जुन विधेयकमा थारुलाई मधेसी बनाइएको छ। सोही विधेयक र थारुलाई मधेसी किन बनाइँदैछ भन्ने विषयमा चौधरीसँग थारु कम्युनिटीले गरेको कुराकानी पढ्नुस्:

नेपाल सरकारले थारूको पहिचानलाई किन मेटाउन खोज्दैछ?
सर्वहरा उत्पीडित वर्गहरूको एजेण्डा बोकेर माओवादी पार्टी पहिलोपटक संविधान सभामा सबभन्दा ठूलो दलको रुपमा आफूलाई उभ्यायो। त्यसबेलाका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ फागुन १५ गते अध्यादेशमार्फत् थारूलगायतका ९२ जातजातिलाई मधेसीमा सुचिकृत गर्यो । त्यहीबेला देखि थारूलगायतका जातिहरुको पहिचानलाई नेपाल सरकारले सुनियोजितरूपमा मेट्न खोज्दैछ। माओवादीले गरेको गल्तीलाई अहिले कांग्रेस र एमालेले समेत निरन्तरता दिँदैछ। सबैभन्दा दुःख र चिन्ताको विषय नयाँ बन्ने संविधानमा थारूहरुको पहिचानलाई कानुनीरुपमै सधैंका लागि मेटाउन खोजिँदैछ। थारू सभासदहरू आफ्नो सभासदको पद जान्छ कि भनेर चुप लागेर बसेका छन्।

संविधान २ ले के गर्न खोज्दैछ?
हजारौं वर्ष पुरानो पहिचानलाई पूर्णरुपमा मेटाउँदै तराईका भूमिपूत्र थारूलाई कानुनीरूपमा मधेसी बनाउँदैछन्। जुन विधेयक २०७० चैत ११ गतेको ब्यवस्थापिका संसदले पारित गरिसक्यो।

४२ जना थारू सभासदचाहिँ के हरेर बसे होलान्?
यो विषयमा थारू सभासद गम्भिर नै थिए। यो विधेयक पारित हुनुअगावै हाम्रा सभासदहरुले ठूलो कसरत गरेको अवस्था थियो। तीनै दलका शीर्ष नेताहरुसँग छलफल गरी उहाँहरुकै सकारात्मक प्रतिक्रिया आशा र विश्वसले ठूलो दलको हैसियतले नेपाली कांग्रेसको तर्फबाट तेजुलाल चौधरीलाई संसोधन प्रस्तावक र अन्य दलका सभासदहरु समर्थकमा बस्ने सहमति भयो। तर पछि कृष्णप्रसाद सिटौलाको निर्देशनमा उहाँहरुले आफ्नो हात झिक्नुभयो। त्यसपछि संविधान सभाको दोस्रो ठूलो दलको हैसियतले एमालेका वैजनाथ चौधरीले आफैँ संसोधनको प्रस्तावक बन्ने जिम्मेवारी लिनुभयो। अन्तिम घडीमा आफ्नो प्रस्ताव फिर्ता लिइ सम्पूर्ण थारूको पहिचानमाथि गद्दारी गर्दै थारू समुदायलाई मधेसीमा सूचिकृत गराउनमा गद्दार भूमिका खेल्नुभयो।

थारु समुदामा यसको दीर्घकाली असर कस्तो पर्छ?
मानिसको सबभन्दा ठूलो सम्पत्ति भनेकै पहिचान हो। यसलाई कुनै पनि मोलमा किन्न सकिँदैन। पहिचान नै समाप्त भयो भने बाँकी अरु के रहला? आज ब्राहमणवादी सोच र चिन्तन भएका व्यक्तिहरुले कानुनीरुपमा हामीमाथि प्रहार गर्दै थारू पहिचानलाई मेट्न खोज्दै छन्। पहिचान मेट्यो भने थारू समुदाय हजारौं वर्षपछि धकेलिनेछ। पछि मधेसीको नामबाट आफूलाई चिनाउनुपर्ने वाध्यता आइपर्छ। भविष्यमा फेरि थारू पहिचान प्राप्त गर्न हाम्रा छोराछोरीहरूले निकै रगत बगाउनुपर्ने हुन्छ।

पहिचान जोगाउन के गर्नु पर्ला?
मैले पहिले नै भनिसके मानिसको पहिचानभन्दा ठूलो केही होइन। यसरी नै राज्यले हरेक जातिको पहिचानलाई मेट्न खोज्यो भने देशमा द्वन्द्व सुरु हुन्छ।
‘हरेक थारूको रगत तातिनु पर्छ।
आज हरेक थारू जाग्नु-उठ्नु पर्छ।
भुमिपूत्र थारूको पहिचान मेट्न खोज्नेलाई,
अब थारूले नै मास्नुपर्छ।’
थारूको पहिचान मेटाउन खोजेर आन्दोलनको झिल्को सुरुवात गरिसकेको छ। सम्पूर्ण थारूलगायत आदिवासी जनजाति दलित उत्पिडित वर्ग एकजुट भइ निर्णायक आन्दोलन नगरी नेपाल सरकारले सुन्नेवाला छैन।

यो विषयमा बोल्ने कुनै थारु सभासद् भेट्नुभयो तपाईँले?
थरूहट तराई पार्टी नेपालका गोपाल दहित र गंगा चोधरी, संघीय लोकतान्त्रिक थरुहट मञ्चका रुकमीणी चौधरी, माओवादीका मान बहादुर थारू, सन्तराम थारू, कांग्रेसबाट तेजुलाल चौधरी, एमालेबाट वैजनाथ थारू, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीलगायतहरुको समर्थन थियो। तर केही थारू सभासदहरुको व्यक्तिगत स्वार्थले सम्पूर्ण थारू समुदायले आफ्नो पहिचान गुमाउनुपरेको छ।

थारु सभासद् नै मधेसी कोटाबाट आएका छन् नि?
राम्रो प्रश्नै गर्नुभयो। हाम्रा सभासदले के बिर्सनु हुँदैन भने ‘पहिले माटी त्यसपछि जाति। तर केही पार्टीका थारु नेताहरुले यसलाई ठीक उल्टो तरिकाले ब्याख्या गरिरहेका छन्। पहिचानको लागि तेत्रो लडाइँ भइराछ। ब्यक्तिगत स्वार्थको लागि जुन मधेसी बनाउन खोज्दैछन् तिनीहरुलाई जनताले छाड्नेवाला छैन।

यसमा थारु युवको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ?
म आफैं पनि थारुको हरेक आन्दोलनमा सक्रिय हुँदै आएको छु। त्यसैले देशका कर्णधार युवाहरु थारुको पहिचान, आत्मसम्मान र अधिकारको लागि पछाडि हट्न हुँदैन। हरेक आन्दोलनको सफलताको पछाडि युवाहरुको हात हुन्छ अवश्य हुन्छ। रगत बगाउनेदेखि ज्यान गुमाउनेसम्म युवा नै हुन्। तर जुन हिसाबले उनीहरुले योगदान गरेका हुन्छन् त्यसको मूल्यांकन पनि हुन जरुरी छ।

थारु अगुवा र युवाहरुबीच किन यस्तो असमझदारी?
युवालाई ‘युज र थ्रो’को रुपमा लिइनु हुँदैन। बन्द, हड्ताल र आन्दोलन गर्नुपर्दा युवालाई अघि सार्छन्। जुन कुरा विगतका आन्दोलन हेर्दा थाहा हुन्छ। तर सत्यलाई हाम्रा थारु अगुवाहुरूले सच्याउने प्रयास गरेको देखिँदैन।

तपाइँ एउटा संस्थको अध्यक्ष पनि हुनुहुन्छ। यो मुद्दालाई कसरी लिनुभएको छ?
बर्दियाली थारु विकास मञ्च नेपालको अध्यक्ष भएर काम गरिरहेको छु। यो संस्थाले थरुहट आन्दोलन, कमलरी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको छ। र, भविष्यमा पनि गरिरहनेछ। थारुका धेरै संस्था छन् जो गुमनाम छन्। तर हामी त्यसै बस्नेवाला छैन। हामीमाथि अन्याय गरिन्छ भने न्यायको लागि अवश्य पनि हामी अगाडि सर्छौं। त्यसैले यो हाम्रो भएर लाग्न आह्वायन गर्न चाहन्छु। सरकारलाई थारुहरुको शक्ति देखाउनैपर्ने भएको छ। अहिल्यै हामी नजागे हाम्रो पहिचान मेटिएर जानेछ। हामी आफ्नो पहिचना बचाउन सडकमा आउनैपर्छ। सरकारलाई दबाब दिनैपर्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *