Maghi_Bankeठाकुरसिंह थारु, बाँके- पश्चिम तराईका थारू गाउँमा एक महिनाअघि नै माघी रौनक सुरु भएको छ । विभिन्न ठाउँमा माघी महोत्सव तथा मेला आयोजनाको तयारी भइरहेका छन् । नयाँ वर्षका रूपमा मनाइने माघीलाई थारू युवाले संस्कृति संरक्षणका रूपमा मनाउन थालेका हुन् । युवालाई थारू संस्कृतितर्फ आकषिर्त गर्न कोहलपुरको मैतहवा गाउँमा माघी महोत्सव गर्न थालिएको छ । त्यस्तै बाँकेकै भुवरभवानीमा पनि माघी महोत्वको तयारी भइरहेको छ । बर्दियाको बाँसगढीमा पनि माघीलाई लक्षित गरी ११ दिने लामो महोत्सवको आयोजना गरिएको छ ।

‘थारू युवा पनि आधुनिक संस्कृतितर्फ लागेपछि संस्कृति ओझेलमा पर्न थालेको छ । त्यसैले माघीलाई सांस्कृतिक अभियानका रूपमा महोत्सव गर्न थालेका छौँ,’ मैतहवामा हुन थालेको माघी महोत्सवका संयोजक राधेश्याम थारूले भने, ‘माघीमा थारू कला संस्कृति, संगीत र थारू सामग्रीको संग्रहालय राख्दै छौँ ।’

माघीमा ढिकरी, माछाको सिद्रा, मासु र खुर्सानीको अचारको स्वादमा रमाउँछन् । नयाँ वर्षका रूपमा मनाइने भए पनि यो पर्व लोकतान्त्रिक पर्वका रूपमा पनि स्थापित छ । माघीमा सबै उमेरका परिवारका सदस्य र गाउँका सर्वसाधारणलाई माघीले दिने थारू अगुवा बताउँछन् ।

‘घरमुलिले वर्षभरकिो आर्थिक आयव्ययको मौखिक प्रतिवेदन पेस गर्दा परिवारका सबैजनाले टिप्पणी गर्न पाउने अधिकार राख्छन् । बडघर छनोट गर्न गाउँभरका सर्वसाधारणले आफ्ना मत वा तर्क राख्न पाउँछन् । माघी पर्वले दिएको सांस्कृतिक वा परम्परागत अधिकार भए पनि वैज्ञानिक छ,’ थारू अगुवा उदेश चौधरी भन्छन् ।

ठूलो परिवारका थारू एक ठाउँमा बसी सगोलमा बस्ने वा छुट्टएिर बस्ने अधिकार पनि माघीले नै दिन्छ । आपत्ति जनाउने परिवारका सदस्यलाई उसको कुरा राख्न पाउने समय पनि प्रदान गरिन्छ । पुसको अन्तिम दिन जीता (मासु) का लागि सुँगर, खसी, कुखुरा मारिन्छ । त्यसै राति बच्चादेखि वृद्धले नजिकै रहेको नदीनाला, पोखरीमा स्नान गरी चामल छुट्याई बिहानदेखि गरिब, असहायलाई दान गरिन्छ । बिहान हुनसाथ आशीर्वाद लिनेदिने गरी माघीको रौनकता सांस्कृतिक कार्यक्रममा परिणत हुने थारू अगुवा फूलाराम चौधरीले बताए ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *