Pro_ktm_ Cricket  Khaladi welcome (2)काठमाडौं- ट्वन्टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गर्दै स्वेदश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव युवाराज लामा, नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी, कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यगायतले खेलाडीहरूलाई फूलमाला लगाई सम्मान दर्शाएका थिए।
टोलीलाई स्वागत गर्न करिब ३ घण्टासम्म कुरेर बसेका क्रिकेट समर्थकहरूले प्रशिक्षक फुबुदु दासानायके, कप्तान पारस  खड्कालगायतका खेलाडीको प्रशंसा गर्दै बाजागाजाका साथ फूल बर्साएर भव्य स्वागत गरेका थिए। हजारौं क्रिकेट समर्थकले भरिभराउ अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूले ‘बल ब्याट चाहिन्छ क्रिकेट खेल्ने ठाउँ चाहिन्छ’, ‘क्रिकेट प्रेमी के भन्छ स्टेडियम चाहिन्छ’, ‘दासानायके हाम्रा नायक’, ‘सोमपाल कामी क्या दामी’ भन्दै नाराबाजी गरेका थिए।
स्वागतका लागि विमानस्थल पुगेका सदस्य सचिव युवराज लामाले नेपालले विश्पकपको पहिलो यात्रामै ऐतिहासिक जित हासिल गरेको हुँदा उनीहरूलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए। उक्त टोली अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै नक्सालस्थित होटल क्राउन प्लाजा पुगे।
उक्त प्रतियोगितामा छनोट चरणमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा अफगानिस्तानलाई नौ रनले हराएको थियो। आयोजक बङ्गलादेशसँग भने आठ विकेटले पराजित भएको थियो।
नेपाल रनरेटको आधारमा प्रतियोगिताबाट बाहिरिन बाध्य बनेको थियो। दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको बङ्गलादेश भने रनरेटको आधारमा समूह ‘ए’ बाट सुपर टेनभित्र प्रवेश गर्न सफल भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *