South Asian Poetry festival for peace 01

‘शान्तिका लागि दक्षिण एसियाली कविता महोत्सव’को दोस्रो संस्करणमा दक्षिण एसियाली क्षेत्रका एक दर्जनभन्दा बढी कविहरुले शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको डबलीमा आफ्ना शक्तिशाली अभिव्यक्ति पेस गरे। महोत्सवलाई ऊर्जा भर्न गायक धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परियारद्वारा गाइएका दुई प्रख्यात लोकगीतलाई नयाँ शैलीमा पस्किए। उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ र ‘रेशम फिरिरी’ गाउँदा डबली र मन्दिरका सिँढीमा भरिभराउ दर्शकहरुले उनलाई पनि साथ दिएका थिए। गायिका सीमा राईले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन्।

Shanti Chaudhary

कार्यक्रममा महोत्सवका अध्यक्ष तथा संयोजक चिराग बाङ्देलले मातृभाषा दिवसको अवसर पारेर दक्षिण एसियाली क्षेत्रका प्रभावशाली कविहरुका सिर्जना पस्किएको बताए। उनले यसअघि सन् २०१३ को डिसेम्बरमा आयोजन गरिएको महोत्सवलाई पुनः नेपालकै ऐतिहासिक डबलीमा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गरे। कम्तिमा दक्षिण एसियाली कविहरु एकत्रित भएर कविताको उत्सव मनाउन पाउँदा हर्ष लागेको उनले बताए।

कार्यक्रममा साहित्यकार अभि सुवेदी र भारतीय दूतावासका सांस्कृतिक सचिव अभय केद्वारा कार्यक्रमको सफलताको कामना गरेका थिए। कविसमेत रहेका अभयद्वारा लिखित सार्क गीत प्रस्तुत गरिएको थियो भने उनले वसन्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, जनकपुर र बर्दियाका बारेमा लेखिएका कविता वाचन गरेका थिए। उनको हालै प्रकाशित कविता संग्रह ‘सेडक्सन अफ देल्ही’बाट एउटा कविता पनि सुनाएका थिए। उनले आफ्ना अधिकांश कविता नेपाली भाषामा प्रस्तुत गर्दा दर्शकदीर्घाबाट वाहवाही पाएका थिए।

Krishnaraj Sarwhari

कार्यक्रममा उषा शेरचन, विप्लव प्रतीक, शान्ति चौधरी, श्यामशेखर झा, कृष्णराज सर्वहारी, गणेश गुरुङ, सुरजवीर वज्राचार्य, केशव सिग्देल, तिम्बुहाङ लिम्बु, चन्द्रवीर तुम्बापो, साँजाकुमारी दनुवार, मुरारीप्रसाद सिग्देलसँगै भारतका मनोहर सेट्ठी, राजा पुनियानी, मंगलामित लेप्चा र पाकिस्तानका इक्रम बादशाहले पनि आफ्ना प्रभावशाली कविता पस्किएका थिए।

भारतीय कवि राजा पुनियानीले नेपाली भाषामा लेखेको कविता सुनाउँदा उनको वाचनकलाको प्रशंसा भएको थियो। कार्यक्रमलाई रोचक बनाउन थारु गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रम आइतबार पाटन दरबार क्षेत्रको डबलीमा पुनः प्रस्तुत गरिने आयोजकले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *