Dang prmg

सन्तोष दहित, दाङ- थारु विद्यार्थी समाजका सल्लाहकार एवं युवा नेता विकास चौधरीले देशको नेतृतव गरिरहेको राजनीतिक शीर्ष नेताहरुले नेतृत्व सञ्चालनबारे थारु समुदायसँग पाठ सिक्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज दाङले आज घोराहीमा आयोजना गरेको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्। उनले थारु समुदाय सधैं लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्ने समुदाय भएको बताए। ‘थारुहरु सदियौंदेखि लोकतन्त्रिक अभ्यासबाट नेतृतव चयन गर्ने र नेतृत्व पाएपछि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले सबैले थारु समुदायलाई विश्वास गर्छ,’ उनले भने। उनले आफ्नो व्यक्तिगत स्वार्थ र कुर्सीको लागि थारु समुदाय कहिल्यै नलडेको र सधैं समाजिक विकासको लागि काम गर्दै आएको बताए। 

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले माघी र संविधानको कुरालाई कोट्याउँदै भने, ‘थारु समुदायको महान पर्व माघी भनेको थारु समुदायको वितेको वर्षको कामको लेखाजोखा, समीक्षा र आउने वर्षका लागि संविधान बनाउने पर्वको रुपमा मनाइन्छ। हरेक वर्ष थारु समुदायले वर्ष दिनको लागि योजना, नीति नियम माघको १ गते बनाउने गर्छन्। अर्थात एक दिनमा एक वर्षको संविधान लेख्ने र वितेको वर्षको समीक्षासमेत गर्छन्। तर हाम्रो देशका नेताहरुले वर्ष बितिसक्दा संविधानको मस्यौदासमेत ल्याउन सक्दैनन्।

थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरीको अध्यक्षता तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकार सन्तोष दहितको विशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा थारु बुद्धिजीबी रामप्रसाद चौधरी, दीपक चौधरी, नेविसंघका तीलक रावत, अखिल क्रान्तीकारीका प्रकाश शाही, सुशीला चौधरी, प्रध्यापक संघका अध्यक्ष प्रेम शाह, कर्मचारी मिलनकेन्द्रका सदस्य भरतमणी पाण्डेय, पत्रकार निमुसंगम घर्ती, पाण्डव शर्मा, प्रशान्त वलीलगायतले माघीको शुभकामना व्यक्त गरेका थिए। समाजकी उपाध्यक्ष अमृता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजका जिल्ला सदस्य सीता दहित, राजेश चौधरीलगायतले मघौटा गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण समाजका सचिव ज्ञानेन्द्रविक्र चौधरी गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *