Dhaniram Chaudhary

सर्लाही- थारु कल्याणकारिणी सभा (थाकस)का अध्यक्ष धनिराम चौधरीले कुनै पनि हालतमा तराईका जिल्ला पहाडमा मिसाउन नदिने बताएका छन्। पूर्वको झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमको कैलाली र कञ्नपुर पहाडी जिल्लामा मिसाउन भइरहेको चलखेलप्रति आपत्ति जनाउँदै अध्यक्ष चौधरीले त्यस्तो गल्ती गरे आन्दोलन गर्ने चेतावनी दिए।

सर्लाहीमा आयोजित थारु जागरण अभियानमा बोल्दै धनिरामले थरुहट प्रदेशका निम्ति, थारु समुदायका अधिकारका निम्ति जस्तेसुकै मूल्य चुकाउन तयार रहेको बताए। ‘थरुहट प्रदेश र थारु समुदायको अधिकारका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौं,’ उनले भने, ‘अधिकारका निम्ति थारु समुदाय अब पछि हट्नेवाला छैन।’

थाकसमा कर्मचारीहरु, शिक्षकहरु, कानुनव्यवसायीहरु, युवा-विद्यार्थी तथा महिलाहरु आउनुहुन्न भन्ने गलत मानिसिकता भर्खरै सम्पन्न थासको संयुक्त भातृ भेलाले प्रमाणित गरेको उनले दाबी गरे। अधिकारका निम्ति थारुहरु जागिसकेकाले अब राज्यले ठगेर नठगिने उनले बताए।

त्यस्तै थासका पूर्वमहामन्त्री तथा हालका केन्द्रीय सदस्य राजकुमार लेखीले धेरैपटकको राजनीतिक परिवर्तनपछि हाम्रो देश सबै जाति समुदायको हुन नसकेको आरोप लगाए। उनले राज्यले हालसम्मको उपलब्धीसमेत संस्थागत गर्न नसकेको बताए।

‘गलत राजनीतिक निर्णयका कारण ऐतिहासिक पहिलो संविधानसभाको विघटन भयो,’ उनले भने, ‘त्यस्तै गलत निर्णय गर्न चार दलकाक शीर्ष नेताहरु लागिपरेका छन्। यसले दोस्रो संविधानसभा पनि विघटनको संघारमा पुगेको छ।’

साढे दुई सय वर्षदेखि चल्दै आएको एकल जातीय राज्यका कारण थारुहरुलाई चौथो दर्जाका रुपमा राखिएको उनको आरोप थियो। ब्राह्मण एकता परिषद्का चार नेताहरु (सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजय गच्छदार)का कारण संस्थागत उपलब्धिहरु गुम्ने खतरा बढेको उनले बताए।

उनले यी चार नेताहरु अन्तर्राष्ट्रिय शक्तिको कठपुतली बनेको आरोपसमेत लगाए।

कार्यक्रममा सर्लाहीका एक दम्पत्तिले १० धुर जग्गा दान गरेका छन्। कमलदेव चौधरी र रामकुमारी चौधरीले थाकसको भवन निर्माणका लागि १० धुर जग्गा दान गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *