बैशाख १२ मा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्प पीडितका लागि राहत संकलन गर्न तराई–मधेसमा ‘मुठी दान’ अभियान सुरु भएको छ।तराई–मधेसमा बसोवास गर्ने प्रत्येक घर–घरवाट राहत संकलन गरी भुकम्प प्रभावित पहाडी जिल्लामा पठाउने उद्देश्यसहित ‘मुठी दान’ अभियान सुरु भएको हो।

सदरमुकाममा मात्रै केन्द्रित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलको सो अभियान गाउँ गाउँमा सुरु भएको हो।तराई–मधेस २० जिल्ला मध्ये केही जिल्लामा अभियान नै सुरु भइसकेको सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिएका छन्। ‘मधेसका जनतावाट पहाडमा परेकोे दुःखलाई साथ दिनका लागि यो अभियानका रुपमा नै चलाईएको छ,’ सप्तरीमा रहेका महासचिव सुमनले नागरिकन्युजसँग भने, ‘सदरमुकाम र बजार क्षेत्रमा मात्र केन्द्रित यो अभियान अब प्रत्येक जनताको घर–घरमा पुग्नेछ, त्यसका लागि अभियान सुरु भइसकेको छ।’ उनका अनुुसार सप्तरीमा मोर्चामा आवद्ध पार्टीलाई बिभाजन नै गरेर गाउँ गाउँवाट मुठी दान संकलन गर्ने जिम्मेवारी दिइएको छ।

जसअनुसार सप्तरी–१ मा फोरम नेपाल, २ नम्बरमा राष्ट्रिय मधेस समाजवादी पार्टीलाई, ३–४ मा सदभावनालाई, ५ नम्बर क्षेत्रमा फोरम लोकतान्त्रिकलगायतका पार्टीलाई बिभाजन गरेर सप्तरी भित्र यो अभियान आइतबारवाट सुरु भएको छ। तराई–मधेसमा मुठी दान अभियान चलाउने निर्णय गत बैशाख १४ गते मोर्चाले गरेको थियो।अभियान लिएर गाउँ–गाउँ्क पुगे पछि जनताले उत्साहजनक उपस्थिति देखाएको तराई मधेस लोकतान्त्रिक पार्टीका सह अध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन्। ‘तराई– मधेसका टोल टोलमा नै यो अभियान उत्साहजनक रुपमा सुरु भएको देखिन्छ,’ त्रिपाठीले सँग भने, ‘राहत संकलन टोली गाउँ गाउँमा राहत संकलन गर्दै जान्छन, किसानहरुले उत्साहजनक तरिकाले आफुले सकेको जे जति छ, त्यो सो राहत संकलन टोलीलाई दिई रहेका छन्।’

सुरुमा राहत टोलीले आफु आएको टोलबासीलाई गराउँछन र त्यसपछि किसानले घर–घरवाट नै आफनो गच्छे अनुसारका मधेसका जनताले स्वतः र्स्फुत रुपमा पहाडका भुकम्प पीडितका लागि राहत सहयोग गरेको दृश्यले संकलन टोलीलाई थप उत्साह दिइरहेको त्रिपाठीले बताए। यसरी रुपन्देही, नवलपरासी र कपिलबस्तु लगायतका जिल्लामा संकलित भएका राहात सामाग्री गोरखा, काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा पठाई सकेका छन्।

उनका अनुसार मधेसी मोर्चासहित तराई–मधेस केन्द्रित राजनीतिक दलले अलग अलग पनि ‘मुठी दान अभियान’ चलाइरहेका छन्।तराई–मधेसका केही भागवाट राहत ल्याएर काठमाडौं उपत्यकाका भुकम्प पीडितलाई बितरण गरिसकेका राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी थप सामाग्री लिन पुनः मधेस झरेका छन्। ‘एक पटक राहत बाडेँर अहिले मधेसतिर झरेको छु, यहाँ उत्साहजनक रुपमा गाउँ– गाउँमा नै राहत संकलन भइरहेको छ,’ महोत्तरीवाट भण्डारीले भने, ‘एक किलो खाद्यान्न देखि बोराका बोरा राहत दिने पनि भेटिए, त्यो संकलन भए लगत्तै पहाड उक्लन्छु।’ उनका अनुसार तराई–मधेसका गाउँ–गाउँमा सबैभन्दा बढी खाद्यन्नका सामाग्रीहरु बढी मात्रामा संकलन भई रहेका छन्।

रौतहटमा युवा नेता योगेन्द्र यादवलगायत नेताहरु भने पहाडका भूकम्प पीडितका लागि निरन्तर राहत संकलनमा सक्रिय भएर लागिरहेका छन्। ‘राहत संकलन गर्ने र काठमाडौंलगायत भुकम्प प्रभावित जिल्लामा पठाउने काम गरिरहेको छु, केही सामाग्री पुगी पनि सकेका छन्’ यादवले भने। उनका अनुसार रौतहट एकीकृत नेकपा माओवादीसहित बिपक्षी दलले संकलन गर्ने स्थान बिभाजन नै गरेर राहत संकलन गरिरहेको छ।

पहिलो चरणमा चन्द्रनिगाहपुर, गरुडा, गौर, पिपराबजारमा राहत संकलन गरेर बिपक्षी दलहरु गाउँ गाउँ पस्न सुरु गरेका छन्। बिभिन्न जिल्लामा संकलन भएको राहत सामाग्रीलाई ब्यक्तिगत, संस्थागत, पार्टीगतसहित जिल्लास्थित दैवी प्रकोप राहत समिति र उद्योग बाणिज्य संघसँग समन्वय गरेर

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार गाउँ–गाउँमा संकलन भएका राहतका सामाग्रीलाई जिल्लामा केन्द्रिकत गर्ने कार्य भईरहेका छन्। ‘पार्टीका नेता तथा कार्यकर्ताले गाउँ–गाउँमा पुगेर संकलन गरेका राहतका सामाग्रीलाई जिल्लामा केन्द्रिकृत गर्ने कार्य हुन्छ,’ योजनाबारे यादवले भने, ‘यसरी संकलन भएको सामाग्रीलाई भूकम्प प्रभावित जिल्लामा पठाइनेछ।’ उनका अनुसार फोरम नेपालले पार्टीगत रुपमा पनि राहत संकलन कार्यलाई भने जारी राखेको छ।

त्यसो त तराई–मधेस केन्द्रित दलका नेताहरुले ब्यक्तिगत रुपमा पनि भुकम्प प्रभावित पहाडी जिल्लामा खाद्यान्नसहित गैर खाद्यान्न सामाग्री बोकेर उक्लेका छन्। रामसपाका उपाध्यक्ष तथा पुर्व प्रहरी महानिरीक्षक प्रदिपशमशेर राणाले रौतहटवाट ल्याएको सामाग्री भक्तपुरमा बितरण गरेका छन् भने महात्मा गान्धी फाउन्डेसनमार्फत फोरम नेपालका नेता अर्जुन थापाले गोरखाका सिमपानी, घ्याल्चोक गाबिसमा राहत बितरण गर्न भ्याएका छन्।

प्रकाश तिमल्सिना/नागरिक दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *