Malina-Joshi

पूर्व मिस नेपाल मलिना जोशी अब थरूनीको रुपमा देखिने भएकी छिन्। फिल्म ‘झुम्की’को मुख्य भूमिकामा मलिनाले थरूनी बनेर आउने भएकी हुन्। २०११ को मिस नेपाल प्रतियोगितामा शीर्ष ताज पहिरेकी जोशीले नेपाली फिल्म ‘ऋतु’ मा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन भने फिल्म ‘कलिउड’को एक आइटम गीतमा समेत देखिएकी थिइन्।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री जोशीले आफूले नबुझेको समाजमा पुगेर नयाँ पात्रको भूमिका निर्वाह गर्नु चुनौती रहेको बताइन्। दाङको थारू समुदायमा गएर खिचिने यो फिल्ममा थरूनीको भूमिकालाई न्याय दिन केही समय थारू भाषा र उनीहरूको रहनसहन बुझेर मात्र फिल्ममा अभिनय गर्ने बताइन।

‘झुम्की’ अपिल बिष्टले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म हो। बिष्टले एस भन्दा अघि फिल्म ‘दास ढुंगा’ निर्माण गरेका थिए।

‘झुम्की’ले दाङ जिल्लाकी थारु युवतीसँग प्रेम गर्ने प्रहरीले भोगेका उतार चढाव पूर्ण घटनाहरुको वरिपरि घुमेको कथा र जनआन्दोलन र द्वन्द्वकालीन अवस्थाको कथालाई चित्रण गर्नेछ। फिल्ममा इनोसेन्ट थरूनी पात्रको रूपमा रिश्मा गुरूङले पनि अभिनय गर्दैछिन। फिल्ममा दयाहाङ राई, मनोज आरसी, प्रमोद अग्रहरी, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ।

रामबाबु गुरूङको लेखन रहेको ‘झुम्की’लाई विजय बिराट बिष्टले निर्माण गर्दैछन्। फिल्मको तीन चरण गरेर छायाँकन गरिने भएको छ। पहिलो चरणको छायाँकन पुस महिनामा, दोस्रो चरणको छायाँकन फागुन महिनामा र अन्तिम चरणको छायाँकन भदौ महिनामा हुने निर्माण पक्षले जानकारी दिएको छ। कालिप्रसाद बाँस्कोटाको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका छायाँकार शैलेन्द्रध्वज कार्की हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *