Del416125काठमाडौं- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको अधिकार नयाँ संविधानमा लिपिबद्ध नहुने हो कि भन्ने आशङ्का बढेर गएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभाको दोस्रो निर्वाचनपछि मुलुकमा पूरानै राजनीतिक दलहरू हावी भएका कारण जनताले अधिकार प्राप्त गर्न सक्दैनन् कि भन्ने आशङ्का बढेको बताए।
जनतालाई अधिकार सम्पन्न गराउन अन्तिम समयसम्म आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले कुनै पनि बहानामा परिवर्तनको एजेण्डालाई धरासायी बनाउन खोजिए त्यो आफूहरूलाई सह्य हुँदैन भने।एउटा निर्वाचनमा पराजित हुँदैमा संसार बदल्ने महाअभियानमा पूर्णविराम नलाग्ने तर्क गर्दै उनले पार्टी कार्यकर्तालाई प्रतिबद्ध भएर जनताको बीचमा जान र पार्टी निर्माणमा लाग्न आग्रह गरे। कार्यक्रममा एमाओवादीका नेताहरू डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतले सहिदहरूको सपना पूरा गर्न पार्टी प्रतिबद्ध भएर लाग्ने बताएका थिए।

एमाओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहको रुपमा मनाउँदै आएको छ। एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार २०५२ साल फागुन १४ गते गोरखाका १४ वर्षीय बालक दीलबहादुर रम्तेलको तत्कालीन राज्य पक्षबाट गरिएको हत्या र तत्कालीन झापा विद्रोहका योद्धाहरूलाई फागुन २१ गते इलामको सुखानीमा गरिएको हत्याका सन्दर्भलाई जोडेर हरेक वर्ष सहिद सप्ताहको रुपमा मनाउने गरेको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *