suraha-6

ग्रामीण समाजमा ‘साँझका पाहुना देवता समान’ मानिन्छ। नवलपरासीको कावासोती नगरपालिका–१६ मा रहेको ‘अमलटारी मध्यवर्ती होमस्टे’मा सधैं न्यानो सत्कार पाइन्छ।  पाहुना आउने खबर पाउनेबित्तिकै थारू (चौधरी) महिला परम्परागत भेषमा स्वागत गर्न तम्तयार हुन्छन। नाकमा नथिया, पाउमा पाउजु, घाँटीमा हँसुली र पाखुरामा गुडुल्ला अनि कम्मर मुन्तिर लेहेंगा लगाउँछन्। थारू समुदायको पहिरन सेट ‘टणीया’का नामले परिचित छ।


नेपाल प्रेस युनियनको पहिलो बैठक अमलटारीमा हुने खबरले होमस्टे सञ्चालक उत्साही बनेका थिए। होमस्टेका व्यवस्थापक धनीराम गरौले भने, ‘देशभरका पत्रकारलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं।’

suraha-1बिहान उठ्नेबित्तिकै चिया, त्यसपछि थारू खाजा चिंचर, सोझुवा रोटी र लन्चमा घुँगी, नारायणीको माछा, हाँस वा स्थानीय कुखुरा खुवाउँछन्।
अमलटारीमा ०७० जेठ ५ गते होमस्टे सुरु भएको। होमस्टे सञ्चालनको १७ महिना नपुग्दै १२ हजार ५ सय पर्यटक त्यहाँ पुगिसके। तिनमा ३ सय ५० विदेशी हुन् भने बाँकी स्वदेशी। व्यवस्थापक धनीरामले भने, ‘थोरै मात्र प्रचारप्रसार हुने हो भने हामीले पर्यटक थेग्न नसक्ने अनुमान गरेका छौं।’

suraha-5 पाहुना समूहले ३ हजार रूपैयाँ तिरेमा थारू सांस्कृतिक कार्यक्रम हेर्न पाउँछन्। ३ सयमा गोरुगाडा सफारी गराइन्छ भने ५० रुपैयाँमा जंगल वाकको आनन्द।
प्रकृतिको अनुपम संगम भएको अमलटारीमा बोटिङदेखि फिसिङ र हात्तीसवारसम्म सुविधा छ। गाउँमा थारू संग्रहालय पनि छ। बोटिङको ३ सय, हात्ती सफारीको १५ सय, फिसिङको सय र संग्रहालय घुमेको १५ रुपैयाँको टिकट काट्नुपर्छ।

suraha-2होमस्टेले स्थानीय संस्कार, संस्कृति, परिकार र पहिरन पनि पर्यटकको रुचिको विषय हुन सक्छ भन्ने सन्देश भने दिएको छ। संस्कार र संस्कृति पस्केर मनग्य आम्दानी गर्न सकिने होमस्टे सञ्चालक मीनाकुमारी महतोले बुझिसकिन्। ‘हामीले आगन्तुकबाट बोली, व्यवहार र संस्कृति सिक्ने मौका पाएका छौं,’ उनले भनिन्।
उनीजस्तै हिराकुमारी पनि दंग छिन्। ‘जन्मेदेखि लगाउँदै, खाँदै र बनाउँदै आएको कुरा आज आम्दानीको माध्यम बनेको छ,’ उनी मख्ख छिन्, ‘होमस्टे त काइदाको व्यवसाय रहेछ।’

suraha-3मीना र हिराका दौंतरीका छोराछोरी सरकारी स्कुलमा पनि धेरै थोरैमात्र पढ्न जान्छन्। मीनाका छोराछोरी भने मासिक ५ हजार शुल्क तिर्नेगरी बोर्डिङ स्कुलमा पढिरहेका छन्। ‘दिनकै भ्याइ नभ्याई हुन्छ,’ मीनाले भनिन्, ‘महिनाको कम्तीमा २५ हजार रुपैयाँ कमाइ हुन्छ।’

अमलटारीका २१ घरमा ४२ कोठा पाहुनालाई छुट्याइएको छ। जहाँ ८२ जना अटाउँछन्। कोठाको ५ सयमात्रै शुल्क छ भने सादा खानाको सय रुपैयाँ।
पूर्ण गाउँले परिवेश र घरायसी वातावरण यहाँको विशेषता। होमस्टे सञ्चालक भन्छन्, ‘एकपटक पाल्नुहोस्, जीवनभर नबिर्सने सम्झना दिएर पठाउँछौं।’

suraha-4कसरी पुग्नेः काठमाडौंको कलंकीबाट चितवनका लागि माइक्रो बस चढ्ने। ४ घन्टामा नारायणघाटको पुल्चोकमा ओर्लने। त्यहाँबाट कावासोतीदेखि २ किलोमिटर पश्चिमको डण्डासम्म बसमा जाने। त्यहाँबाट स्थानीय साधनद्वारा अमलटारी होमस्टे प्रस्थान गर्न सकिन्छ।

शिवराज योगी/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *