bijay-kumar-gachhedar

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ‘आन्दोलनभन्दा सहमतिबाटै संविधान निर्माणका लागि पहलकदमी लिनुपर्ने’ निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिन चलेको अनौपचारिक केन्द्रीय समिति बैठकले देशले आन्दोलनभन्दा सहमति खोजेको भन्दै त्यसका लागि पहलकदमीको नेतृत्व फोरम लोकतान्त्रिकले गर्नुपर्ने निष्कर्ष निकालेको हो।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलनभन्दा सहमतिमा जोड गर्नुपर्ने प्रस्ताव गरेलगत्तै त्यसलाई पार्टीले अनुमोदन गरेको हो। ‘देशले यतिखेर आन्दोलन होइन, सहमति खोजेको छ, सहमतिको पहल हामीले नै गर्नुपर्छ,’ गच्छदारको प्रस्ताव थियो।

आन्दोलनमा जाने विपक्षीको निर्णयप्रति ‘असन्तुष्ट’ गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र ३० दलीय गठबन्धनभित्र पनि सहमति हुन नदिनेहरु रहेको निष्कर्ष निकालेका छन्। ‘सत्तारुढ दलले पनि माघ ११ गते प्रश्नावली समिति निर्माण गर्नु हुँदैनथ्यो, विपक्षीले पनि आन्दोलनमा गइहाल्ने निर्णय गर्नु हुँदैनथ्यो,’ गच्छदारको भनाइ छ, ‘यी दुवै कार्य गलत भए पनि सहमतिको सम्भावना टरिनसकेकाले सहमतिमै जोड गर्नुपर्ने पक्षमा दृढताका साथ उभिनुपर्छ।’ माघ ८ मै सहमतीय संविधान निर्माणका लागि गच्छदारले मध्यमार्गी प्रस्ताव राखेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *